कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

घुम्‍न र आहारा खोज्‍न राजमार्गमा निस्कन्छन् वन्यजन्तु

आहाराको खोजी र विचरणका क्रममा सडक वारपार गर्दा दुर्घटनामा परेर वन्यजन्तु मर्ने क्रम बढेकाले पछिल्ला दिनमा वन्यजन्तुमैत्री सडक निर्माणमा जोड दिनुपर्ने आवाज उठेको छ ।

काठमाडौँ — पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगन्ज–पथलैया सडक खण्डमा शनिबार बिहान कारको ठक्करबाट एउटा वयस्क पोथी बाघ मरेको छ ।

घुम्‍न र आहारा खोज्‍न राजमार्गमा निस्कन्छन् वन्यजन्तु

सर्लाहीका अजयकुमार मिश्रको बा१६च ८११ नम्बरको कारले सडकमा ठक्कर दिएपछि ७–८ वर्षको उक्त बाघ घटनास्थलमै मरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहका अनुसार पोस्टमार्टम रिपोर्टअनुसार बाघको टाउकोमा गम्भीर चोट लागेको छ भने करङका हड्डी भाँच्चिएको पाइएको छ । ‘तीन वर्षमा विभिन्न कारणले पर्सा निकुञ्जले तीनवटा बाघ गुमाएको छ,’ साहले कान्तिपुरसँग भने, ‘यो ठूलो क्षति हो ।’ शनिबार मरेको बाघ दुई वर्षअघि पर्सा निकुञ्जभित्र गणनाका क्रममा स्वचालित क्यामेरामा कैद भएकोमध्येको भने होइन । उनले भने, ‘चितवनतिरबाट आएको हो कि भनेर तस्बिर केलाउँदै छौं ।’

बर्दिया राष्ट्रिय निकुञ्जभित्र पूर्व–पश्चिम राजमार्गको अम्बासा–चिसापानी सडक खण्डमा पनि सवारीसाधनको ठक्करबाट बाघलगायतका वन्यजन्तु मरेका छन् । निकुञ्जका सूचना अधिकारी असीम थापाका अनुसार २०७३ पुस ६ मा बसको ठक्करबाट एउटा बाघ मरेको थियो भने २०७५ पुस २७ मा हाइलक्स जिपले बाघलाई ठक्कर दिएर घाइते बनाएको थियो । उक्त बाघ २०७७ वैशाख १४ मा उपचारका क्रममा मरेको थियो । गत आव २०७६/७७ मा सडक दुर्घटनाकै कारण बर्दिया निकुञ्जअन्तर्गत पर्ने राजमार्गमा ३५ वटा वन्यजन्तु मरेका थिए । शुक्रबार अम्बासा–चिसापानी खण्डमा मोटरसाइकलबाटै तानेर बाघले एक महिलालाई मारेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७५/७६ मा निकुञ्ज र आरक्ष क्षेत्रमा ४ सय ९५ वटा वन्यजन्तुको मारिएको देखिन्छ । जसमध्ये १ सय १९ वटा (२४ प्रतिशत) वन्यजन्तु गाडीको ठक्करबाट मारिएका हुन् ।

विभागको वार्षिक प्रतिवेदनअनुसार २०७४/७५ मा ३ सय ९१ वन्यजन्तु मरेकामा १ सय २४ वटा (३१ प्रतिशत) सडक दुर्घटनाका कारण मरेका थिए । २०७३/७४ मा ३ सय २६ वन्यजन्तु मरेकामा १ सय ३३ वटा (४१ प्रतिशत) को कारण गाडीको ठक्कर नै थियो ।

पूर्व–पश्चिम राजमार्गको २ सय ७१ किलोमिटर सडक पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्छ । त्यस्तै, हुलाकी राजमार्गअन्तर्गत बाँकेको काम्दी, बर्दियाको खाता, कैलालीको वसन्ता र लालझाडी–मोहना करिडोर निकुञ्जभित्रै पर्छन् । यी सबै सडक खण्डमा गाडीको ठक्करबाट संरक्षित र अन्य वन्यजन्तु मर्ने गरेका छन् ।

वन्यजन्तुमैत्री सडक निर्माणमा जोड

आहाराको खोजी र विचरणका क्रममा सडक वारपार गर्दा दुर्घटनामा परेर वन्यजन्तु मर्ने क्रम बढेकाले पछिल्ला दिनमा वन्यजन्तुमैत्री सडक निर्माणमा जोड दिनुपर्ने आवाज उठेको छ । वन्यजन्तुको बढी ओहोरदोहोर हुने राजमार्गमा वन्यजन्तुका लागि अन्डरपास र ओभरब्रिजको व्यवस्थापनका लागि निकुञ्ज विभागले पहलकदमी गरिरहेको जनाएको छ । ३३ किमि लामो नारायणघाट–मुग्लिङ सडक खण्डमा चारवटा अन्डरपास बनाइएको छ । विभिन्न वन्यजन्तुले उक्त अन्डरपास प्रयोग गरेको अध्ययनले देखाएको छ ।

नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने पूर्वको भागमा पनि चारवटा अन्डरपास र एउटा ओभरपास राख्ने गरी तयारी भइरहेको छ । उक्त सडक खण्डको दाउन्ने पूर्वमा ३० ठाउँमा वन्यजन्तुको आवतजावत रेकर्ड भएको देखिन्छ । पूर्व–पश्चिम राजमार्गकै बाराको पथलैयादेखि धनुषाको ढल्केबरसम्मको सडकमा पनि अन्डरपास बनाउनेबारे छलफल जारी छ । निजगढ–काठमाडौं जोड्ने द्रुतमार्गमा पनि वन्यजन्तुका लागि अन्डरपास बनाइँदै छ ।

हुलाकी राजमार्गको बर्दिया खण्डमा पनि वन्यजन्तुलाई आउजाउका लागि ओभरब्रिज बनाइँदै छ । बर्दियाको खाता जैविकमार्ग भएर दुर्लभ एकसिंगे गैंडा र पाटेबाघलगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने भएकाले वैकल्पिक मार्ग निर्माण कार्य अघि बढाइएको हो ।

यो पनि पढ्नुहोस्ः

गुडिरहेको मोटरसाइकलमै झम्टेर बाघले मार्‍यो

कारको ठक्करबाट बारामा बाघ मर्‍यो

प्रकाशित : पुस १९, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?