हाम्रो अदालतले असली 'चार्ली च्याप्लिन' पत्ता लगाउँछ : ओली 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारीकता अदालतबाट आफैंलाई प्राप्त हुने बताएका छन् । संसद् विघटन र पार्टीको आधिकारिकताबारे अदालतबाट आफ्नै पक्षमा फैसला आउने ठोकुवा गरेका हुन् । 

हाम्रो अदालतले असली 'चार्ली च्याप्लिन' पत्ता लगाउँछ : ओली 

काठमाडौं जिल्लाका आफूनिकट कार्यकर्ताहरूको कार्यकर्ता भेलामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आधिकारिक व्यक्ति को हो र आधिकारिक पार्टी तथा निर्णय को हो भन्ने छुट्याउन सर्वोच्च अदालत सक्षम रहेको बताए ।

चर्चित कलाकार चार्ली च्याप्लिनको कथा सुनाउँदै ओलीले पार्टीको आधिकारिकताको विषयमा अदालतले आफ्नो पक्षमा फैसला दिने बताए । 'चार्ली च्याप्लिनजस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना अन्तिममा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन पनि सहभागी भएको रहेछ । तर अन्तिम चारमा ऊ पुगेको रहेनछ,' उनले थपे, 'हाम्रो अदालतले को हो असली चार्ली च्याप्लिन भन्ने पत्ता लगाउँछ । कुम हल्लाइ, कपालमा लगाएको जेल र जुँगाबाटै पत्ता लगाउँछ ।'

सर्वोच्च अदालत सक्षम रहेको भन्दै ओलीले आफ्नो पक्षमा फैसला आउनेमा कार्यकर्ताहरूलाई विश्वस्त पार्न खोजेका हुन् ।

सूर्य चुनाव चिह्न आफूसँगै रहेको भन्दै ओलीले त्यसमा कुनै शंका नराख्न कार्यकर्ताहरूलाई विश्वस्त पारे । निर्वाचन आयोगमा पार्टीको आधिकारिता र चुनाव चिह्नबारे प्रक्रिया अगाडि बढेको बेलामा प्रधानमन्त्री ओलीले आधिकारीकता आफूसँग रहेको बताए । उनले पार्टीको कार्यकारी अध्यक्ष दाहाललाई दिएको तर त्यसबाट पार्टी नै उनको नभएको धारणा राखेका थिए ।

ओलीले दाहाल पक्षलाई अझै पनि पार्टीका बैठकमा आउन आग्रह गरेका छन् । उनले नेकपा (दाहाल-नेपाल)पक्षका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीमा फर्किन आग्रह गरेका छन् । आफूले झैं देशको चिन्ता गर्न दाहाल र नेपाल पक्षलाई ओलीले आग्रह गरेका छन् । उनले निर्वाचनमा मुलुक गइसकेको भन्दै अन्यथातिर नलाग्न भनेका छन् ।

प्रकाशित : पुस १८, २०७७ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?