३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

'क्याप्टेन' ले गलत दिशामा जहाज उडाएकोले पार्टी र मुलुक दुर्घटनातर्फ मोडिए : नेता भट्टराई

अर्जुन राजवंशी

बिर्तामोड — नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको राजनीतिक जीवन खतरामा परेको बताएका छन् । 

'क्याप्टेन' ले गलत दिशामा जहाज उडाएकोले पार्टी र मुलुक दुर्घटनातर्फ मोडिए : नेता भट्टराई

दाहाल–नेपाल पक्षीय नेकपा झापा जिल्ला कमिटीले शनिबार बिर्तामोडमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीको राजनीतिक जीवन रक्षाका लागि पनि आफूहरु सडक संघर्षमा उत्रिनु परेको बताएका हुन् । उनले ओलीले आफ्नो राजनीतिक जीवन, पार्टी र मुलुकलाई ठूलो दुर्घटनामा पारेको टिप्पणी गरे । ‘हाम्रो संघर्ष ओलीको अन्त्यको लागि होइन । उहाँ (ओली) को राजनीतिक जीवन रक्षाको लागि हो’ उनले भने, ‘कम्युनिष्ट पार्टीको कार्यकर्ता तथा पार्टी र मुलुक निर्माणका लागि लामो समय सँगै हिँडेकाले पनि उहाँको जीवन रक्षा गर्नुपर्ने हाम्रो जिम्मेवारी हो ।’

नेता भट्टराईले क्याप्टेन (केपी ओली) ले गलत दिशामा जहाज उडाएकोले पार्टी र मुलुक दुर्घटना तर्फ मोडिएको बताए । ‘तर, हामीसँग अर्का क्याप्टेन (प्रचण्ड) पनि छन् । त्यसैले जहाज दुर्घटनामा पर्दैनन्’ उनले भने, ‘अब जहाजलाई गन्तव्यमा पुर्‍याउन केही समय लाग्ला । तर, हामी सुरक्षित अवरण हुन्छौं ।’ उनले ओली अब पार्टी र मुलुकको सबै जिम्मेवारीबाट अयोग्य प्रमाणित भएको आरोप लगाए ।

उनले दल सम्बन्धि ऐनअनुसार नै नेकपा पार्टी, हसिया–हतौडा अंकित झण्डा र चुनाव चिन्ह सूर्य आफूहरुको हुने दाबी गरेका हुन् । नेता भट्टराईले कानुनी राज्यमा केपी ओलीले गरेका कुनै ‘सेटिङ’ काम नलाग्ने बताए । नेता भट्टराईले भने,‘तपाईंहरु ढुक्क रहनुस् । प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोग, अदालत सबैतिर सेटिङ गरेका छन् भन्ने कुरा ‘हावा’ हो । कानुनी राज्यमा सबै काम कानुनअनुसार हुन्छ । कुनै सेटिङ–फेटिङले काम गर्दैन ।’

प्रकाशित : पुस १८, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?