संसद् विघटन अग्रगामी कदम : गृहमन्त्री थापा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् विघटन अग्रगामी कदम : गृहमन्त्री थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद् विघटन गरेको बताएका छन् । 

ओली समूहका नेता रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपाले ललितपुर महानगरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले संसद् विघटन गरेको बताएका हुन् । सरकारले संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सकरारले अग्रगामी कदम चालेको बताए ।

उनले भने, ‘ठूलो कदम सरकारले लियो मध्यावधि निर्वाचनमा जाने । संसदलाई विघटन गर्ने, यो संवैधानिक हो कि असंवैधानिक हो, यो प्रतिगमनकारी कदम हो कि अग्रगामी कदम हो भन्ने ठूलो बहस छ । हाम्रो नजरमा यो कदम अग्रगामी कदम हो । यो ठूलो राजनीतिक कदम हो । देशलाई फेरि स्थायित्व ल्याउनको निम्ति र फेरि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नको निम्ति यो अपरिहार्य थियो ।’

संसद विघटन भएसँगै पार्टी भित्रको एउटा पक्ष संसद पुनर्स्थापनाको माग गर्दै पार्टीबाट अलग भएको समेत बताए । तर पहिलाको संसदले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने कुरामा पार्टीलाई एकढिक्का गरेर जवाफ दिनु पर्ने पनि नेता थापाले बताए । उनले देशमा स्थिरता नचाहने पक्षले संसद् पुनर्स्थापनाको माग गर्दै आन्दोलन गरिरहेको पनि बताए ।

प्रकाशित : पुस १७, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

सीआइबीको नक्कली परिचय पत्र, छापसहित ४ जना पक्राउ

सन्तोष सिंह

धनुषा — नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को नक्कली परिचय पत्र र छाप बनाउने ४ जना प्लास्टिकको पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सिटी प्यालेस गेस्ट हाउसबाट सीआइबीको छाप र कागजात बनाउने गिरोहलाई पक्राउ गरेको हो ।

गिरोहबाट विभिन्न बैंक तथा कार्यालयको स्टाम्प, चेक, बैंकका भौचर, सीआइबीको लेटर प्याड र नेपा रेल्वेको लेटर प्याडहरु बरामद भएको प्रहरीले जनाएको छ ।

होटलमा बसेर अपराधी समूहले सरकारी कागजात, दस्तखत र छाप किर्ते गरी नक्कली कागजात तयारी गरिरहेको अवस्थामा प्रहरीले भारत बिहार घर भइ विराटनगर उपमहानगरपालिका–१ बस्दै आएका २७ वर्षीय समिर साह, महोतरी भंगहा नगरपालिका–९ का २१ वर्षीय आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय चन्दन साह र जनकपुरधाम–२ का ५० वर्षीय रामचन्द्र साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । चारै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित : पुस १७, २०७७ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×