कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संकटको मुख्य कारक दाहालको अभियोगपत्र : मुख्यमन्त्री पोखरेल

दुर्गालाल केसी

दाङ — नेकपा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिलेको संकटको मुख्य कारक पुष्पकमल दाहालको अभियोगपत्र रहेको बताएका छन् । नेकपा अध्यक्ष दाहालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेस गरेको अभियोगपत्रले नै प्रतिनिधिसभा विघटन र पार्टी विभाजनमा पुर्‍याएको उनले बताए ।

संकटको मुख्य कारक दाहालको अभियोगपत्र : मुख्यमन्त्री पोखरेल

ओली निकट नेकपाको शुक्रबार तुलसीपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै पोखरेलले उक्त अभियोगपत्र फिर्ता लिन पटकपटक अनुरोध गर्दा पनि दाहालले नमानेका कारण अहिलेको स्थिति भोग्नुपरेको बताए । ‘मैले तत्कालै भनेको थिएँ, यो प्रस्ताव पार्टी हितमा छैन । अर्का अध्यक्ष ओलीलाई अर्को प्रस्ताव बनाउन समय दिनु पनि पार्टी एकता विपरीत छ भनें,’ उनले भने,‘पछि दुवैजनाले प्रस्ताव फिर्ता लिनुहोस् भनेर मैले नै अनुरोध गरें । प्रतिनिधिसभा विघटन भएको दिन बिहानसमेत दाहाललाई भेटेर पार्टीलाई संकटबाट बचाउन अनुरोध गरेँ तर मान्नुभएन ।’

अहिलेसम्मका कम्युनिष्ट इतिहासमा आरोपपत्र नै पार्टी विभाजनका मुख्य कारण भएको स्मरण गर्दै पोख्रेलले अहिले पनि त्यस्तो अवस्था आएको बताए । ‘कसैलाई पार्टी अध्यक्ष हुन मन छ भने महाधिवेशन गरौं भनेर ओलीले प्रस्ताव गर्नुभयो तर त्यसका लागि दाहाल र माधव नेपाल तयार हुनुभएन,’ उनले भने,‘लोकतान्त्रिक प्रक्रियामा जान नचाहने तर पद् चाहिने मनस्थितिले समस्या ल्याएको हो ।’

अबको विकल्प निर्वाचन भएको र जनताको मतका आधारमा मात्रै नयाँ निकास निस्कने उनले बताए । अब निर्वाचन कुनै पनि हालतमा हुने धारणा उनले राखे । ‘अब निर्वाचन जसरी पनि हुन्छ । निर्वाचनको तयारी गर्ने बेला सडकमा रमिता देखाएर हुन्छ,’ उनले भने, ‘हुन त उहााहरु पनि निर्वाचनमा जाने तयारी स्वरुप आन्दोलनका कार्यक्रम गरिरहुनभएको छ । पहिले काठमाडौंका सडकमा आउनुभयो अहिले निर्वाचन क्षेत्र अनुसार कार्यक्रम भइरहेका छन् ।’

पार्टी विभाजन भए पनि जनता विभाजित नभएको धारणा व्यक्त गर्दै पोख्रेलले जनताले सही गलतको फैसला गर्नसक्ने बताए । ‘नेताहरु विभाजन भए भन्दैमा जनता विभाजित हुन सक्दैनन्,’ उनले भने, ‘निर्वाचनमा गएर ताजा जनादेश लिनु नै उत्तम विकल्प हुन्छ । जनताले जसलाई मत दिन्छन् उसैले सरकार चलाउन पाउँछ ।’

प्रकाशित : पुस १७, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?