नेकपा र सरकारले नेपालको राष्ट्रियता कमजोर पारे : सांसद देव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा र सरकारले नेपालको राष्ट्रियता कमजोर पारे : सांसद देव

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाका कांग्रेस सदस्य नेता जितेन्द्रनारायण देवले नेकपा र सरकारले विदेशीलाई चलखेल गर्न दिएर नेपालको राष्ट्रियता कमजोर पारेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदले भने, '‘तपाईंहरु बारम्बार राष्ट्रियता र देशभक्तिको कुरा गर्नुहुन्छ । दक्षिण र उत्तरको जुन चहलपहल र चलखेल भइरहेको छ, 'फास्ट ट्रयाक' बाट काठमाडौं आउने/जाने जुन परिदृश्य देखिएको छ । यसले राष्ट्रियतालाई कति बलियो गर्छ ? स्वनिर्णयलाई कति बलियो गर्छ ? मैले तपाईंहरुको जवाफ मागे,’ उनले भने ।

समावेशी लोकतन्त्रबाट मात्रै राष्ट्रियता बलियो हुने भए पनि नेकपा र सरकारले यसबारे कहिल्यै नसोचेको देवको भनाइ थियो । 'देशको राष्ट्रियता र राष्ट्रिय अखण्डता इन्क्लुसिभ डेमोक्रेसीबाट बलियो हुन्छ । तराई, पहाड र हिमालको एकताबाट बलियो हुन्छ । त्यहाँ तपाईंहरु चुक्नुहुन्छ, चुक्नु भयो ।'

कम्युनिस्ट पार्टीका नेताहरुले बारम्बार देश भक्ति र राष्ट्रियता कुरा गर्ने र कहिलेकाहीं आक्रमक ढंगले कांग्रेसलाई गाली गरेपनि अहिले विदेशी चलखेलबारे चुप बसेकाप्रति सांसद देवले आपत्ति जनाए ।

उनले आफ्नो पार्टीले सर्वोच्च अदालतले गर्ने फैसला मानेर जाने पनि स्पष्ट पारे । सांसद देवले सरकार यति होल्डिङ्ससहित भ्रष्टाचारका विभिन्न पासोमा परेको पनि बताए ।

सांसद देवले देश असाध्यै जटिल अवस्थामा प्रवेश गरेको र यहाँबाट उद्धार हुन्छ कि हुँदैन भन्ने गम्भीर चिन्ता उत्पन्न भएको बताए । ‘देशको राजनीति कुइरोको कागजस्तो भएको छ । कालो तुँवालोभित्र उडेको काग जस्तो छ । उडेको छ तर, दिग्भ्रमित छ,’ उनले भने ।

सांसद देवले पार्टीभित्र समस्या भए त्यो पार्टीको आन्तरिक समस्या हुने, देश र संसद्को समस्या नभएको बताए । ‘पार्टीभित्र समस्यामा पर्ने संसद् विघटन गर्ने ? देशलाई खाल्डोमा जाक्ने ? दुनियाँमा कसैले पनि सोच्न सक्दैनन्, यस्तो काम गर्दै गर्दैनन् । तर, प्रधानमन्त्रीले अधिकार नभएको काम गर्नुभयो’ देवले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने गम्भीर चिन्ता जन्मिएको सांसद देवले बताए ।

प्रकाशित : पुस १७, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्

एक सपनाको अवसान 

बिदा मिस्टर किम कि–दुक, तिम्रा सिनेमामा म तिमीलाई भेटिरहनेछु बारम्बार । रहेछ भने अर्को जुनीमा फेरि भेटौंला अनि सुरु गरौँला कथाको अर्को एक शृंखला– काल/पुनर्जन्म : एक स्वप्न शृंखला ! 
मीनबहादुर भाम

काठमाडौँ — लाट्भियास्थित रिगा सहरको एउटा अस्पतालमा कोभिड–१९ का कारण ११ डिसेम्बरमा किम कि–दुकको निधन भयो । उनी दक्षिण कोरियाका एक विलक्षण फिल्ममेकर थिए । तर, उनका सिनेमा दक्षिण कोरियामा मात्र नभई विश्व सिनेमामै बडो विशिष्ट स्थान बनाउन सफल थिए, छन् । उनका सिनेमा परम्परागत ढंगभन्दा बिल्कुलै पृथक् र अनौठा हुन्छन् । कविताको बडो करिब महसुस हुने उनका सिनेमाहरूले समकालीन भौतिकवादी समाजलाई कटाक्ष गरेको लागे तापनि तिनले कहिल्यै औंला ठड्याएका छैनन्, वर्तमान समाजले समातेको बाटोलाई । आफ्ना सिनेमामा उनी आफ्नै मधुर सुरमा गम्भीर जीवनदर्शनको मन्त्र गाइरहेका भेटिन्छन् । 

दृश्य नं. १ : बौद्ध, नेपाल– हिमाली भेगबाट राजधानी फर्केदेखि नै मनमा एउटा कथा सल्बलाउन थाल्यो, जुन अहिले लेख्न थालेको छु । करिब ३ दिन जति लेखिसकेपछि कथा लगभग आधा सिद्धियो । कथा चित्तबुझ्दो भएकोमा मन प्रसन्न छ । मेरो कम्प्युटरमा बजिरहेको छ– बर्तिका इयाम राईको गीत ‘देश निकाला’ । र, कथा लेखन पनि चालु छ । मेरो मुख्य पात्रको वर्तमान र सुन्दै गरेको गीतको भाव मिलेको महसुस हुन्छ– मेरो मुख्य पात्र अहिले करिब–करिब देश निकालाझैँ लाग्ने अवस्थामा रिगा सहरको कुनै गल्लीमा घुमिरहेको महसुस भइरहेछ । चार बजे छेउमा भएको फोनमा घण्टी बज्यो । फोन दक्षिण कोरियाबाट आएको रहेछ । साथीले एक श्वासमा भन्यो, ‘ही इज नो मोर विथ अस ।’ एक्कासि मेरो कथाको पात्रको मृत्युको खबर पाएँ । बडो खिन्न भयो मन– अनि बन्द गरेँ त्यो कथा लेख्न ।

दृश्य नं. २ : दक्षिण कोरिया– एकादेशमा एउटा कोरियाको बोङ्ग्वा सहरको रेडलाइट एरियामा एक जना अन्तर्मुखी बालक बस्थ्यो, जो प्रायः चुपचाप रहन्थ्यो ।

जम्प कट

दृश्य नं. ३ : पेरिस, फ्रान्स– ३० वर्षको उमेरमा अहिले त्यो मानिस कला पढ्न पेरिस पुगेको छ । ऊ मोमाक्थ चर्चमा रहेको सानो थुम्कोस्थित बजारमा पोट्रेट बनाउँदै बेच्ने पनि गर्छ । तीन बर्षसम्म पेरिसका संग्रहालय, गल्ली र चर्चहरू चहारेपछि त्यो मान्छे दक्षिण कोरिया फर्केर आएको छ– मन–मस्तिष्कमा सिनेमाका कथाहरू बोकेर ।

दृश्य नं. ४ : हान नदी, दक्षिण कोरिया– हान नदीको छेउमा पाल टाँगेर बस्ने एक जना शरणार्थी

(मेरो पात्र) एक्कासि झस्किन्छ– एउटी युवती नदीमा हाम्फालेर आत्महत्या गर्न तयार छे । त्यस युवतीलाई उद्धार गर्छ ऊ र आफ्नो पालमा ल्याएर शरण दिन्छ । समयक्रममा उसले त्यस युवतीको शारीरिक शोषण गर्छ । र, तिनीहरू दुईबीच अपत्यारिलो सम्बन्ध विस्तार हुन्छ । केही समयपछि त्यो मान्छे भागेर फेरि पेरिस पुग्छ । (क्रोकोडायल)

दृश्य नं. ५ : पेरिस, फ्रान्स– पेरिसको गल्लीमा उसको भेट एक जना उत्तर कोरियालीसँग हुन्छ, जसलाई उसले आपराधिक समूहबाट जोगाउँछ । र, उसको त्यस उत्तर कोरियालीसँग गहिरो मित्रता हुन्छ । जीविका चलाउन उनीहरू दुवै जना मिलेर मार्सल आर्टको कला देखाउँछन् र पैसा उठाउँछन् । दुई अलग्गिएका देशका मानिसबीच दोस्ति र पेरिसको आपराधिक समूहसँग पुनः मुठभेडसँगै उनीहरूको जीवनले नयाँ मोड लिन्छ । (वाइल्ड एनिमल्स)

दृश्य नं. ६ : ग्रामीण भेग, दक्षिण कोरिया– पेरिसबाट भागेर आएको त्यो पेन्टिङ आर्टिस्ट आफ्नै देशको ग्रामीण भेगतिर बस्न थाल्छ, जहाँ अमेरिकी सेनाको क्याम्प पनि छ । उपनिवेशीकरण, गृहयुद्ध र अस्थिर पेसाका कारण उसका कमजोर आशाहरू समयक्रममा टुक्रिँदै जान्छन् । जापानी उपनिवेशबाट उम्किएपछि कोरिया शीतयुद्धको पहिलो निसाना बन्छ र विभाजित हुन्छ । अहिले पनि त्यहाँ युद्धको संशय विद्यमान छ । पेन्टिङ आर्टिस्ट आफैँ कथाको एउटा पात्र बन्न पुग्छ । र, ऊ अनि उसका वरपरका कोही पनि मान्छे त्रासदीको चौघेराबाट उम्कन सक्षम छैनन् भन्ने कुरा उसले प्रस्टसँग बुझ्छ । प्रेम, अमनचयन र मुक्तिका लागि उसले गरेका सबै साधनाहरू निरर्थक साबित भएपछि त्यो कलाकार रन्थनिन्छ । अन्ततः ऊ स्वयं युद्धमा होमिन्छ र सेनामा भर्ती हुन्छ । (एड्रेस अननोन)

दृश्य नं. ७ : सैनिक ब्यारेक, दक्षिण कोरिया– सैनिक तालिमपछि त्यो पेन्टिङ आर्टिस्ट दक्षिण कोरियाको समुद्री तटको सिमानाछेउको ब्यारेकमा खटिन्छ । जागिरको मामिलामा ऊ कर्तव्यनिष्ठ छ र निडर पनि । ऊ हरक्षण उत्तर कोरियाली जासुसको खोजीमा रहन्छ । भेटिएको खण्डमा तुरुन्तै ज्यान लिने उसको सुर छ । एक साँझ ऊ कोरियाली गैरसैनिक क्षेत्र नजिकै सुरक्षामा खटिएको छ । अचानक उसले एक अञ्जान मानिसलाई गोली हानेर मारिदिन्छ । तर, मारिने मान्छे उत्तर कोरियाली जासुस नभई ब्यारेकनजिकै बस्ने एक दक्षिण कोरियाली युवक हुन्छ, जो आफ्नी प्रेमिकासँग यौन सम्बन्ध राख्न निषेधित इलाकामा आएको थियो । त्यस घटनापछि सैनिक साथीहरूबीच उसको बडो प्रशंसा हुन्छ । तर, सेवाबाट भने ऊ बर्खास्त हुन्छ । आफ्नो प्रेमी मारिएपछि त्यस युवती मानसिक रूपले विचलित हुन्छे । ऊ हरेक दिन सैनिक ब्यारेकमा आउन थाल्छे । उसलाई त्यस ब्यारेकमा तैनाथ प्रत्येक सैनिकहरू आफ्नो दिवङ्गत प्रेमीझैँ लाग्न थाल्छन् । हुँदै जाँदा उसको सबैसँग यौन सम्बन्ध हुन थाल्छ । सेनाबाट निष्कासित पेन्टिङ आर्टिस्ट अथवा पूर्वसैनिक फेरि एक दिन ब्यारेक फर्किन्छ, उसको उद्देश्य हुन्छ आफ्नो गुल्मका अन्य सदस्यहरूलाई मारिदिने । संयोगवश ऊ त्यहाँबाट लखेटिन्छ मात्रै र राजधानी सोलमा उसको अवतरण हुन्छ । यहाँ पनि उसको कथा टुङ्गिँदैन । त्यहाँका सडक र पार्कमा उसको अभद्र व्यवहार सुरु हुन्छ । ऊसँग जम्काभेट हुने जोडीहरू असुरक्षित हुन थाल्छन् । भेटिएकामध्ये कतिलाई त ऊ कुटेर लखेट्छ पनि । एक दिन ऊ सशस्त्र प्रहरीको फन्दामा पर्छ । अन्ततः ऊ झ्यालखाना पर्छ । (द कोस्ट गार्ड)

दृश्य नं. ८ : सोल, दक्षिण कोरिया– जेलबाट छुटेपछि ऊ सोल सहरको सार्वजनिक पार्कमा देखा पर्छ । पार्कको एउटा बेन्चमा चुपचाप बसिरहेको ऊसको नजर पल्लो बेन्चतिर पुग्छ । कलेज युनिफर्ममा एक जना सुन्दर युवती एक्लै बसिरहेकी छे । ऊ सरासर सुन्दरीछेउ पुग्छ र छेवैमा बस्छ । सुन्दरी तर्सिन्छे र अर्को बेन्चमा गएर बस्छे । केटो जहीँको तहीँ बसिरहन्छ । एकछिनमा सुन्दरीको हँसिलो प्रेमीको प्रवेश हुन्छ । सुन्दरी पल्लो बेन्चमा बसिरहेको अपरिचित मानिसतिर प्रेमीलाई देखाउँछे, जो अझै पनि उसलाई घुरेर हेरिरहेको छ । प्रेमीले प्रत्युत्तरमा धम्कीपूर्ण नजरले त्यस मान्छेलाई हेर्छ । र, आफ्नी प्रेमिकालाई त्यहाँबाट अन्तै लैजान खोज्छ । रिसले चुर पूर्वसैनिक हान्निएर जोडी नजिक पुग्छ र केटीलाई लामो र गहिरो चुम्बन गर्छ । प्रेमीले दुवैलाई छुट्याउने असफल प्रयास गर्छ । पार्कमा घुमिरहेका सिपाहीहरूले यो घटना देखेपछि त्यस पूर्वसैनिकलाई पहिले भकुर्छन् अनि केटीसँग माफी माग्न लगाउँछन् । आज्ञाकारी विद्यार्थीझैँ ऊ युवतीसँग माफी माग्छ । बदलामा युवतीले उसको गाला चड्काउँछे र मुखमा थुकिदिन्छे । ऊ निश्चल रहन्छ– केही प्रतिक्रिया जनाउँदैन । अर्को दिन त्यो युवती पुस्तक पसलमा जान्छे, कलासम्बन्धी किताब किन्न । किताब मनपरे तापनि महँगो भएकाले र्‍याकमा फिर्ता राख्छे, तर राख्नुअघि एउटा पाना च्यातेर लुकाउँछे । र्‍याकमा किताब राखिसकेपछि छेउमै एउटा वालेट देख्छे । हतारहतार वालेट टिपेर आफ्नो झोलामा हाल्छे र शौचालयभित्र छिर्छे । त्यस वालेटमा भएको सबै पैसा आफ्नो पर्समा हालेर पसलबाट निस्कन्छे । तर, वालेटमालिकले केटीलाई समात्छ र चोरेको पैसा फिर्ता माग्छ । वालेटमा १० करोड वोन भएको दाबी गर्छ । वालेटधनी अरू कोही नभई उही जबर्जस्ती चुम्बन गर्ने पूर्वसैनिक हुन्छ । सैनिकले भनेजत्ति रकम वालेटमा नभएको र आफूले त्यत्रो रकम तिर्न नसक्ने यूवतीले सुनाउँछे । समस्याको समाधानका लागि पूर्वसैनिकले एउटा प्रस्ताव पेस गर्छ– पैसा नतिरुन्जेल युवती उसको अधीनमा बस्नुपर्ने । तोकेको समयसम्म युवतीले रकम तिर्न सक्दिन । बदलामा सैनिकले उसलाई जबर्जस्ती एउटा कोठीमा लैजान्छ, जहाँ उसले ऋण चुक्ता नगरेसम्म काम गर्नुपर्ने हुन्छ । युवतीले कोठीकी मालिक्नीसँग आफ्नो प्रेमीसँग अन्तिमपल्ट भेट्ने अनुमति माग्छे, ताकि आफ्नो कुमारीत्व ग्राहकसामु सुम्पिनुअघि प्रेमीलाई चढाउन सकियोस् । उसले अनुमति पाउँछे । तर, कोठीका अरू मान्छेहरूले प्रेमीलाई बाटैबाट कुटेर लखेट्छन् । अनि सुरु हुन्छन् युवतीका नारकीय दिनहरू । युवती भाग्न सक्छे भन्ने अनुमानका कारण त्यही सैनिकले कोठी–सुरक्षाको नियुक्ति पाउँछ । युवतीको दयनीय अवस्था र पुकारले एक दिन सैनिकको मन पग्लिन्छ । युवतीको जीवनमा त्रासदी निम्त्याउने कारक बनेकोमा पछुतो मान्दै युवतीसँग माफी माग्छ । र, युवतीलाई त्यहाँबाट भगाउँछ । यद्यपि उसको स्वतन्त्रता अल्पकालीन छ, किनभने उसलाई कोठीका मानिसले चारैतिर खोजिरहेका हुन्छन् । (ब्याड गाय)


दृश्य नं. ९ : समुद्री क्षेत्र, दक्षिण कोरिया– पछिल्लो घटनाबाट विक्षिप्त मन लिएर आएको पूर्वसैनिक यतिबेला तटदेखि दूर समुद्रमा देखापर्छ । ऊसँग एउटा हाउसबोट छ, जहाँ ऊ बस्छ र फिसिङ गर्दै रमाइलो गर्न आउने सहरियाहरूलाई ल्याउने–पुर्‍याउने सानो मोटरबोट पनि ऊसँग छ । साथमा एउटी सोह्रवर्षे बाला पनि छे, जसलाई उसले छ वर्षको उमेरमा लावारिस भेट्टाएको थियो । उनीहरूबीच एउटा अचम्मको सहमति भएको छ । ती किशोरी सत्र वर्ष पुगेको दिन उनीहरूबीच बिहे हुने सहमति ।एक दिन पूर्वसैनिकको हाउसबोटमा केही मानिसहरू माछा मार्न आएका हुन्छन् । उनीहरूलाई पूर्वसैनिकले अनौठो तरिकाले गर्ने भविष्यवाणी निकै रोचक लाग्छ । हाउसबोटको बाहिरी खण्डमा पिङ हालिएको छ, जसमा त्यो किशोरी बिस्तारै झुल्छे । पूर्वसैनिक भने मोटरबोटमा धनु लिएर खडा छ । ऊ पिङमा झुलिरहेकी किशोरीतिर वाण हान्न तयार छ, किशोरी मुस्कुराएर भावी पतिलाई हेर्छे । भावी पति अर्थात् पूर्वसैनिक वाण छोड्छ, जुन वाण पिङमा झुलिरहेकी किशोरीलाई नलागी हाउसबोटमा कुँदिएको वुद्धको आकृतिमा धसिन्छ । युवतीलाई वाण नलागी आकृतिमा लगाउन सक्नु नै यो भविष्यवाणी गर्ने तरिकाको विशेषता हो, जसले आगन्तुकहरूलाई अचम्मित र आकर्षित पार्छ । बाँकी दुईवटा वाण पनि त्यही आकृतिमा धसिन्छन् । किशोरी पिङबाट मोटरबोटमा आएर सैनिकलाई साउतीमा भविष्यवाणी सुनाउँछे । आगन्तुकहरू व्यग्र छन्, आफ्नो भविष्य थाहा पाउन । तिनका अनुहारमा लोभ र विश्वास दुवै देखिन्छ । हाउसबोटमा गएर सैनिकले आगन्तुकलाई भविष्यवाणी साउतीमा सुनाउँछ । तर, पूर्वसैनिक र किशोरीको भविष्य अझै अनिश्चित छ । एक दिन एक जना युवक साथीसँग माछा मार्न सहरबाट त्यहाँ आउँछ । उसलाई किशोरीको हाउभाउ मन पर्छ । ऊ अर्कोपल्ट पनि हाउसबोटमा आउँछ । किशोरी र युवकबीच सम्बन्ध बढ्छ । पूर्वसैनिकसँग किशोरीको सहमतिबारे उसले पनि चाल पाउँछ । सैनिकसँग उसको भनाभन हुन्छ । यसरी कसैलाई बन्धक बनाएर कुकृत्य गर्नुको साटो किन किशोरीको बाउआमाको खोजी गरेर जिम्मा लगाइदिँदैनौ भन्ने सुझाव दिन्छ । रिसले चुर सैनिकले त्यस केटालाई त्यहाँबाट मोटरबोटतिर खेदाउँछ र केटो फर्किन्छ । सैनिकको अभिव्यक्ति आँखा, अनुहारको भाव र हाउभाउबाट मात्रै बुझिन्छ, ऊ बोल्दैन किनभने सहरबाट समुद्रस्थित हाउसबोटमा बसाइ सरेदेखि नै ऊ मौन व्रतमा छ ।

किशोरीलाई यस घटनाले खिन्न बनाउँछ । अर्को भेटमा किशोरी त्यही युवकसँगै जान्छे सैनिकलाई छाडेर । तर, केही पर पुगेपछि बोट रोकिन्छ । सैनिकले उनीहरू जाँदै छन् भन्ने थाहा पाउनेबित्तिकै पहिले नै एउटा मोटो डोरीले मोटरबोटलाई बाँधेको हुन्छ, जुन डोरी हाउसबोटसम्म तन्किएको छ । हाउसबोटमा सैनिकले त्यो डोरी कुनै लठ्ठामा बाँधेको नभई आफ्नै गर्धनमा फन्दा बनाई फाँसी लगाएको हुन्छ । जतिजति मोटरबोट अघि बढ्न खोज्छ फाँसीको सुर्किनी कसिँदै जान्छ । सैनिक पीडाले छट्पटाउँछ । यो देखेर किशोरीमा करुणा भाव जाग्छ र ऊ फर्केर आउँछे । यसबीच पीडा सहन नसकेर सैनिकले डोरीको फन्दा चक्कुले काटिसकेको हुन्छ । किशोरी बलिन्द्रधारा आँसु चुहाउँदै सैनिकलाई अँगालो हाल्छे । सहमतिमुताबिक सैनिक र किशोरीको बिहे हुन्छ । किशोरी श्वेतवस्त्रमा हाउसबोटमा पल्टिन्छे, सैनिक हिगम (कोरियाली परम्परागत तारबाजा) बजाउन थाल्छ । त्यो धुनमा लठ्ठिएर किशोरी निदाउँछे । र, किशोरीलाई स्वतन्त्र रूपमा उसकै दुनियाँमा छाडिदिने निर्णयमा पुगेको सैनिक हाउसबोटबाट देहत्याग गर्न समुद्रमा हाम फाल्छ । (द बो)

दृश्य नं. १० : माउन्ट जुवाङसान नेसनल पार्क, दक्षिण कोरिया– पेन्टिङ आर्टिस्ट अर्थात् पूर्वसैनिक अहिले माउन्ट जुवाङसान नेसनल पार्कको तालमा पुगेको छ । ऊ तालको बीचमा एउटा सानो काठको लेक हाउस बनाएर बसेको छ । ऊसँग एउटा काठको सानो डुंगा छ, ताल वारिपारि गर्नलाई । अनि साथमा छ एउटा सानो बिरालो । पूर्वसैनिक आफूले विगतमा गरेका सबै दुष्कर्म सम्झिएर बडो खिन्न छ । ऊ आफूलाई अन्तरमनदेखि धिक्कार्छ र प्रायश्चित्त गर्छ । उसको सारा समय ध्यान र आत्मशुद्धिमा बितिरहेको छ । त्यसबाहेक आफूलाई आफैँले शारीरिक पीडा दिने दैनिकी छ उसको । उसको यस निरन्तर क्रिया पूरै एक वर्षसम्म चल्छ । सबै ऋतु पार गरेपछि ऊ मनमा एउटा संकल्प लिन्छ र त्यहाँबाट प्रस्थान गर्छ । (स्प्रिङ, समर, फल, विन्टर...एन्ड स्प्रिङ) ।

दृश्य नं. ११ : दक्षिण कोरिया– मनशुद्धि गरेको पूर्वसैनिकले आफ्नो आचरणका साथै पेसा पनि परिवर्तन गरिसकेको छ यतिखेर । सिनेमा बनाउने भनेर छायांकनस्थलको सेटमा उपस्थित छ । अहिले मेरो मुख्य पात्र (भलै कथाको यो मोडसम्म पनि उसलाई मैले कुनै नाम दिएको छैन) ले आफ्नो निर्माणाधीन सिनेमाको नाम जुराएको छ– ड्रिम अर्थात् सपना, जहाँ उसले हरेक राति सुत्दाखेरि देख्ने सपनाहरू सहरको कुनै अर्को ठाउँमा बस्ने केटीले यथार्थमा दुरुस्तै भोग्छे । त्यसैले त्यस केटीले दुःख नपाओस् भन्नाका खातिर मेरो पात्र ननिदाउनका लागि अनेक प्रयास गर्छ । उसले ननिदाउनका लागि गरेका थरीथरीका प्रयासहरूका कारण उसको आफ्नै जीवन चरम विषम परिस्थितिमा पुग्छ । अनि मेरो पात्रले मेरो कथामा झुन्डिनलाई पासो बनाउँछ । एक छिनपछि केटीले आत्महत्या गर्न फन्दामा झुन्डिनुपर्ने जो छ । जसै केटी डोरीमा झुन्डिन्छे, सेटमा उपस्थित सबै स्तब्ध हुन्छन् र सेटमा सन्नाटा छाउँछ । यता श्वास रोकिने क्रममा घ्यारघ्यार गर्दै केटी छटपटाउँछे– युवती अन्तिम श्वासको संघारमा पुगेकी छे । तर, यति हुन्जेलसम्म पनि केटीलाई बचाउनुपर्छ भन्ने चेत कसैमा आउँदैन । सबै जना आआफ्नै काममा तल्लीन रहन्छन् । मेरो पात्र भने हतारहतार भर्‍याङ बोकेर कुद्छ र पासोको गाँठो फुकाएर केटीलाई जमिनमा झार्छ । केटी मूर्च्छित छे । मेरो पात्रले उसलाई हतारहतार अस्पताल पुर्‍याउँछ । अन्ततः त्यस ती सिनेमाकी अभिनेत्रीको ज्यान जोगिन्छ । (यथार्थ...) ।

०००

मोन्टाज : दक्षिण कोरिया– फल्यासब्याक– मेरो पात्रले सिनेमा बनाउने लहडमा एउटी अभिनेत्रीलाई झन्डै मारेको थियो– बेलैमा कट नभनेर । सायद उसले पात्रलाई चरित्रमा डुब्न दिएर रियल इमोसन ल्याउन खोजेको थियो होला ।पछि मैले मेरो पात्रलाई यसबारेमा सोधेँ, ‘हाउ डु यु फिल एबाउट द्याट इन्सिडेन्ट ?’ हातमा लिएको बाह्रौं गिलास रेड वाइन मेरो गिलासमा ठोक्काएर चियर्स गर्दै उसले भन्यो, ‘मैले सिर्जना गरेको विचार र चरित्रको कारण यदि कोही मरेको भए यो डरलाग्दो हुने थियो ।’ वाइनको चुस्की लिँदै मैले सोधेँ, ‘तिम्रो जीवनको सबैभन्दा ठूलो सपना के छ ?’ छेउमा अटोग्राफ लिन उभिएकी केटी (जसले हातमा मेरो पात्रको आधा गिलास वाइन समातिदिएकी थिइन्) लाई अटोग्राफ दिइसकेपछि विनम्रतापूर्वक वाइनको गिलास फिर्ता लिँदै उसले मुसुक्क हाँसेर चुस्की लिँदै भन्यो, ‘मलाई हलिउडमा ‘ब्याड गाय’ भन्ने फिल्म बनाउन मन छ, त्यो पनि ब्राड पिट र एन्जेलिना जोलीलाई लिएर ।’

(यथार्थ...) ।

दृश्य नं. १२ : टेन्ट– दक्षिण कोरिया– यसबीचमा मेरो पात्रले धेरै सिनेमा बनाइसकेको थियो अनि विश्वभर नै उसका सिनेमाले तरंग फैलाइसकेेेका थिए । सिनेमामार्फत सारा विश्वले उसलाई एउटा स्थापित सर्जकको रूपमा ग्रहण गरेको थियो । सहरमा उसको नाम थियो, दाम थियो अनि अनुहार र जीवन दुवैमा चमक थियो । तर, यति सबै हुँदाहुँदै पनि उसको भित्री आत्मा साह्रै उदास थियो । अनि सुटिङ गर्दागर्दै झन्डै मरेकी अभिनेत्री सम्झिएर ऊ साह्रै विचलित हुन्थ्यो । यदाकदा उसलाई लाग्ने आरोप, आलोचना र आफ्नै देशमा उसका सिनेमाविरोधी मान्छेहरूले उसलाई लगाउने लाञ्छना– यी सब–सबले उसको मनमगज कमजोर भएको छ यतिखेर । सिनेमा बनाएर कुकाम गरेछु भन्ने अफसोसले सताउन थाल्छ उसलाई । अनि आफ्नो जीवनदेखि निराश भएर ऊ जंगलको एकान्ततिर जान्छ । त्यहाँ ऊ वर्षौंसम्म एक्लै बस्छ । खाना पकाउने, खाने, एस्प्रेसो पिउने, ध्यान गर्ने अनि आफैंले बनाएको सिनेमा हेर्दै पश्चात्तापको भुङ्ग्रोमा प्रायश्चित्तका तीन वर्ष बिताउँछ उसले । अन्ततः ऊ एउटा गहन निचोडमा पुग्छ । उसको जीवनलाई यस अवस्थामा पुर्‍याउनका लागि सिनेमा बनाउन उसलाई मद्दत गर्ने ती सबै जना निर्माताहरूको प्रमुख हात छ । तिनै थिए, जसले सिनेमा बनाउन उसलाई प्रेरित गरे । अनि त्योभन्दा बढी दोषी देख्छ त्यस मान्छेलाई, जसले ती सिनेमाका कथा र पात्र सिर्जना गर्‍यो– जो ऊ आफैँ थियो । त्यसपछि उसले आफू बस्ने पालभित्र नै एउटा पिस्तोल बनाउँछ र गाडी चढेर लाग्छ सहरतिर । बाटोभरि चिच्याउँदै, कराउँदै अगाडि बढेको त्यो मान्छे सरासर एउटा ठूलो भवनको अगाडि गाडी रोक्छ । खैरो रङको ज्याकेटको गोजीबाट पिस्तोल निकाल्छ अनि भवनभित्र पस्छ– ड्याङ ...!

एकथान गोलीले नै मारिदिन्छ उसले आफ्नो पुरानो चलचित्रको एक जना निर्मातालाई । एवंरीतले पालैपालो आधा दर्जन जति निर्मातालाई मारिसकेपछि अहिले ऊ आफ्नो पालभित्र शान्त बसेको छ । बस्दाबस्दै ऊ गीत गाउन थाल्छ । गाउँदागाउँदै उसको अनुहार अगाडि पिस्तोल तेर्स्याएको देखिन्छ । छेउमै भएको ठूलो कितलीबाट पानी पिउँछ ऊ, अनि टाउको हल्लाउँछ । यसो गर्दा उसका भिजेका लामालामा कपाल लहराउँछन् हावामा र छोप्छन् तिनले उसको आधा अनुहार । उसको हातले एउटा डोरी तानेको देखिन्छ, जुन डोरीको पल्लोछेउ ऊतिर तेर्सिएको पिस्तोलको ट्रिगरमा जोडिएको छ । बिस्तारै डोरी आफूतिर तान्छ । फ्रेममा स्पष्ट देखिन्छ ऊतिर तेर्सिएको पिस्तोल...!

रेडी...!

एक्सन...!

ड्याङ...! (रियल फिक्सन/फिल्म : आरिराङ) ।

मोन्टाज २ : फल्यासब्याक– सेप्टेम्बर, आइतबार २०१०– यतिखेर म आएको छु, इटालीको भेनिसमा, जहाँ मेरो आफ्नो सिनेमा, ‘बाँसुल्ली’ को प्रिमियर गर्नु छ । त्योभन्दा ठूलो योजना मनमा अरू नै केही छ, जहाँ भेट्नु थियो मेरो कथाको मुख्य पात्र र मेटाउनु थियो मनभरिको प्यास, सिध्याउनु थियो, वर्षौंको प्रतीक्षा र बात मार्नु थियो जीवन, दर्शन, प्रेम, मृत्यु, स्वर्ग, मोक्ष, सिनेमा र रक्सीका अनगिन्ती किस्साहरू ।यहाँ बसाइको एक साता पूरै सोचेबमोजिम भएको छ । आफ्नो कथाको मुख्य पात्रसँगको सामीप्यले मन त्यसै त्यसै दंग परेको छ । हामी दुवै जना महोत्सबको अन्तिम दिनको प्रतीक्षामा छौँ । तर अफसोस, अन्तिम दिनको औपचारिक कार्यक्रमका लागि म अयोग्य थिएँ– कारण मसँग सुट थिएन । मैले महोत्सवको आधिकारिक महिलालाई आफ्नो समस्या सुनाएँ । धन्न, अर्को दिन उनले मलाई अनौपचारिक वस्त्रमै जान दिने बताइन् ।

खुसी र खुल्दुली भरिएको मन लिएर म लाग्छु भेनिस चलचित्र महोत्सबको सयौं मिटर लामो रातो कार्पेटतिर । किनकिन मनमा अलिअलि धक बाँकी छ, किनभने सयौं सुटबुट र गाउनधारी अग्ला मान्छेहरूको भीडमा म एक्लो होचो मान्छे उभिएको छु, जसले लगाएर गएको छ– सेतो कन्भर्स जुत्ता र नीलो जिन्स पाइन्ट । संयोगवश यो धक धेरैबेर रहेन, जब मैले देखेँ कि आफू उभिएको लाइनको अघिल्तिर ह्वार्लाङ्ग परेको ज्याकेट, खुकुलो ट्राउजर र चप्पल लगाएर एक जना मान्छे उभिएको छ । मैले मज्जाले खुट्टाको पञ्जा उचालेर त्यस मानिसलाई तन्कीतन्की हेरेँ अनि आफ्नो गह्रुंगो मन हलुका पारेँ । योभन्दा बढी खुसी त तब लाग्यो, जब मैले देखेको त्यस मानिस अरू कोही नभएर मेरो चिनारु रहेछ, अर्थात्– मेरो कथाको मुख्य पात्र । एक छिनपछि म मेरो नाम टाँसिएको सिट खोजेर बसेँ । त्यो चप्पलछाप मान्छे मेरै अगाडिकै सिटमा बसिरहेको थियो । हामी दुवै मुसुक्क हास्यौँ अनि शुभकामना दियौँ एकअर्कालाई दुई जोडी आँखा आपसमा चम्काएर ।

अन्ततः महोत्सवमा पुरस्कारको घोषणा भयो– द बेस्ट फिल्म अवार्ड, गोल्डेन लायन गोज टु द फिल्म बाई... । मेरो मुख्य पात्र उक्लियो स्टेजतिर अनि उचाल्यो त्यो लोभलाग्दो सुनको सिंह । खुसीले मन निथ्रुक्क भयो– केवल हेरिरहेँ ऊतिर, जसले अहिले गाइरहेको छ आफ्नै भाषाको गीत– आरिराङ ।

(यथार्थ) ।

मोन्टाज ३ : मोनोलग– ढक... ढक... ढक... । म सुतिरहेको कोठाको ढोकामा कसैले ढक्ढक्याएको कारण म झसंग ब्युँझिन्छु । ढोका खोलेर हेर्छु त मेरै मुख्य पात्र मेरो अघिल्तिर उभिएको छ– मुण्डन गरेको शिर, खरानी रङको पाइजामा, हातमा कलेजी रङको झोला बोकेको छ उसले । ढोका खोल्नासाथ एकै श्वासमा उसले भन्यो, ‘बोँजु मीन, तिमीले मलाई हिमालयको एउटा गुम्बासम्म लगिदिनुपर्छ ।’ मसँग पहिलोचोटि ऊ फ्रान्सेली भाषामा बोलिरहेको थियो । म टाउको हल्लाएर स्वीकृति जनाउँछु । अनि घरमा भएको लालटिन, एउटा किताब (जुन अघिल्लो शृंखलामा मलाई डोल्पाको रिबोभुम्पा गुम्बाका लामा डोल्पो आम्ची नाम्ग्याल रिन्पोचेले दिनुभएको थियो) र माला बोकेर उसको पछि लाग्छु ।

म्याच कट टु अञ्जान गुम्बा : नेपाल– मध्यराति– लालटिनको उज्यालोमा डोल्पाको डाँडा चढिरहेको छौँ हामी दुई– मौन । एक छिनपछि हामी दुवै जना गुम्बाको अगाडि पुग्छौँ, टक्क अडिन्छौँ । गुम्बाको मूलढोका बन्द छ र त्यसमा मेरो मुख्य पात्रले बनाएको दर्जनभन्दा ज्यादा सिनेमाका पोस्टरहरू टाँसिएका छन् । गुम्बाको वरिपरि दियो बलिरहेको छ । उभिएकै अवस्थामा मेरो मुख्य पात्रले झोला खोल्छ । झोलाबाट पिस्तोल झिक्छ र मलाई पिस्तोल सुम्पिँदै भन्छ, ‘किल मी ।’ म त्यो पिस्तोल हातमा लिन्छु र उसको कञ्चटमा तेर्स्याउँछु । ऊ भन्छ, ‘रेडी, एक्सन ।’ मैले केही गर्नुअघि नै एक्कासि ढोकामा टाँसिएको एउटा सिनेमाको पोस्टरतिरबाट ठूलो आवाज आउँछ– ड्याङ्ग । आश्चर्य– मैले फायर खोल्न नपाउँदै यो आवाज आयो कहाँबाट ? म चारैतिर आँखा डुलाउँछु, अघि बलिरहेका दियाहरू एकपछि अर्को हुँदै निभ्दै जाँदै थिए, कति निभ्ने क्रममा थिए । तत्काल ‘द बो’ को अन्त्यमा लेखिएको वाक्य याद आउँछ– सामर्थ्य र धनुषबाट निस्किने नियन्त्रित, स्पष्ट र क्षणिक सुन्दर ध्वनिझैँ म बाँच्न चाहन्छु त्यतिन्जेलसम्म, म अस्ताउनुअघिको क्षणसम्म । (स्वप्न शृंखला) ।


दृश्य नं. १३ : बौद्ध, नेपाल

(कन्टिन्युटी अफ सिन नं १)

बाँचेसम्म यो सासको महत्त्व कति सास रहन्छ

मर्दा पर्नेलाई थाहा एक छिन हुन्छ...

नबोलेसम्म यो बोली के साँच्चै शब्द गनिन्छ

बोल्न बन्देज हुनेलाई मात्र यो भेद थाहा हुन्छ...

गीतका यी हरफहरू बज्दै गरेको बेला मैले एक्कासि मेरो कथाको मुख्य पात्रको मृत्युको दुःखद खबर पाएको छु, जो लाट्भियास्थित रिगा सहरको एउटा अस्पतालमा अस्ताए । जिन्दगीका अनेकौँ झन्झटलाई जितेका उनी कोभिड–१९ सँग जुध्दाजुध्दै हारे, सिनेमाको आकाशबाट अस्ताए, फेरि कहिल्यै नउदाउने गरी । तर, उनका सिनेमाहरू आकाशका ताराभन्दा बढी चम्किला भएर चम्चमाइरहनेछन् यस धरतीमा । बिदा मिस्टर किम कि–दुक, तिम्रा सिनेमामा म तिमीलाई भेटिरहनेछु बारम्बार । रहेछ भने अर्को जुनीमा फेरि भेटौँला अनि सुरु गरौँला कथाको अर्को एक शृंखला– काल/पुनर्जन्म ः एक स्वप्न शृंखला !

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : पुस १७, २०७७ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×