ओलीले देशलाई राजनीतिक दुर्घटनाको विन्दुमा पुर्‍याए : सांसद देव 

काठमाडौँ — कांग्रेस सांसद जितेन्द्र देवले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई राजनीतिक दुर्घटनाको विन्दुमा पुर्‍याएको आरोप लगाएका छन् । शुक्रबारबाट सुरु भएको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवले देश असाध्यै जटिल अवस्थामा प्रवेश गरेको र यहाँबाट उद्धार हुन्छ कि हुँदैन भन्ने गम्भीर चिन्ता उत्पन्न भएको बताए । ‘देशको राजनीति कुइरोको कागजस्तो भएको छ । कालो तुँवालोभित्र उडेको काग जस्तो छ । उडेको छ तर, दिग्भ्रमित छ,’ उनले भने । 

ओलीले देशलाई राजनीतिक दुर्घटनाको विन्दुमा पुर्‍याए : सांसद देव 

सांसद देवले पार्टीभित्र समस्या भए त्यो पार्टीको आन्तरिक समस्या हुने, देश र संसद्को समस्या नभएको बताए । ‘पार्टीभित्र समस्यामा पर्ने संसद् विघटन गर्ने ? देशलाई खाल्डोमा जाक्ने ? दुनियाँमा कसैले पनि सोच्न सक्दैनन्, यस्तो काम गर्दै गर्दैनन् । तर, प्रधानमन्त्रीले अधिकार नभएको काम गर्नुभयो’ देवले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने गम्भीर चिन्ता जन्मिएको सांसद देवले बताए । उनले भने, ‘नेपाली राजनीति विशिष्ट अवस्था छ । जनताको ठूलो त्याग र बलिदान र विभिन्न खालका आन्दोलनहरुको एकीकृत उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि, समाप्त हुने हो कि भन्ने लक्षण आकाशमा मडारिहका छन् । यस्तो बेला अग्रमनका लागि लडेका शक्तिहरु चिन्तित हुनुपर्ने हो ।’

अहिलेको संविधान बनाउने व्यक्तिमध्ये आफू पनि एक भएको भन्दै उनले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको बताए । राजनीतिक स्थायित्वका लागि संविधान बनाउने बेला सरकार गठनका विभिन्न विकल्प राखिएको तर त्यता नगई प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै उनले आपत्ति जनाए । संविधानले प्रधानमन्त्रीको सर्वोच्चता नभई संसदीय सर्वोच्चता स्थापित गरेको बताए ।

सरकारमा रहेका व्यक्ति र सत्तारुढ दलले देशको कुनै चिन्ता नलिएको उनको आरोप छ । उनले प्रधानमन्त्रीमा देखिएको शक्तिको भोक र संसद् विघटनलाई एकआपसमा जोडेर हेर्नुपर्ने बताए । ‘कांग्रेसले बारम्बार सरकार अधिनायकवादको दिशामा जान थालेको छ, उसको नेतृत्वलाई शक्तिको भोक लागेको छ भन्दै आएको थियो । बुढो मर्‍यो भन्ने चिन्ता होइन काल पल्किएको चिन्ता हो । अधिनायकवादी चिन्तनतिर जाने सरकारको सोचलाई अहिलेको विघटनसँग हेर्नुपर्ने हुन्छ’ देवले भने । उनले मध्यावधि निर्वाचनको घोषणा गरेको भए पनि कोभिड र आर्थिक अवस्थाका कारण कसरी चुनाव हुन्छ भन्ने प्रश्न उठाए ।

प्रकाशित : पुस १७, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?