मुख्यमन्त्री राईद्वारा थप एक प्रदेशसभा सदस्य निलम्बन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्री राईद्वारा थप एक प्रदेशसभा सदस्य निलम्बन

देवनारायण साह

मोरङ — मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राईले नेकपा संसदीय दलको विधान विपरीत आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने थप एकजना प्रदेशसभा सदस्यलाई शुक्रबार निलम्बन गरेका छन् । राईले नेकपा दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेलाई निलम्बन गरेका हुन् ।

फाइल तस्बिर : शेरधन राई

मुख्यमन्त्री राई समर्थक नेकपाको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् । योसँगै निलम्बित प्रदेशसभा सदस्यको संख्या १६ पुगेको छ ।

संसदीय दलको विधान विपरीत दलका नेता मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रतावमा हस्ताक्षर गरेकामध्ये १९ जना प्रदेशसभा सदस्यलाई मात्रै मुख्यमन्त्रीको निर्देशनमा सोमबार २४ घण्टे स्पष्टिकरण सोधेको बताएका प्रमुख सचेतक राजभण्डारीले २० जनालाई स्पष्टिकरण सोधिएकोमा भूलवश १९ जना मात्रै भएको प्रष्टिकरण दिए । ‘सञ्चारमाध्यममा स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यको संख्या १९ मात्रै आएको हेरेर मुख्यमन्त्रीज्यूले २० जना हुनुपर्नेमा १९ कसरी भएको जिज्ञासा राखेपछि भूल भएको थाहा पाएँ,’ उनले भने, ‘त्यसैले स्पष्टिकरण सोधिएको तर निलम्बनको पत्र दिन छुटेका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेलाई पत्र पठाएर बोधार्थ प्रदेशसभामा दर्ता गराएँ ।’

तर वास्तविकता फरक रहेको एक प्रदेशसभा सदस्यले बताए । मुख्यमन्त्री राईले प्रददेशसभा सदस्य घिमिरेलाई अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएर आफ्नो पक्षमा ल्याउन गरेको प्रयास विफल भएपछि निलम्बनको पत्र पठाएको उनको भनाइ थियो ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभा सदस्य घिमिरेलाई निलम्बन गरेको बोधार्थ आएको पुष्टि गरे।

दाहाल–नेपाल समूहका नेकपा संसदीय दलका उपनेता टंक आङबुहाङले दलको बहुमत सदस्यको निर्णयले मुख्यमन्त्री राईलाई बिहीबार दलको नेताबाट हटाएर प्रदेशसभा सदस्य भीम आचार्यलाई निर्वाचित गराएको पत्र प्रदेशसभा सचिवालयमा दर्त्ता गराएका थिए । उक्त पत्र दर्ता भएसँगै जवाफमा मुख्यमन्त्री राईले १९ जना प्रदेशसभा सददस्यलाई निलम्बन गरेको बोधार्थ पत्र प्रदेशसभा सचिवालयमा दर्त्ता गराएका थिए ।

प्रदेशसभामा कूल ९३ जना सदस्यमध्ये नेकपाको ६७, कांग्रेसको २१, जनता समाजवादीको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना प्रदेशसभा सदस्य छन् । नेकपाको ६७ मध्ये मुख्यमन्त्री राईसँग २६, दाहाल–नेपाल समूहमा ३८ प्रदेशसभा सदस्य देखिएका छन् । प्रदेशसभा सदस्य गुलेफुन खातुन सरकारी कागज किर्ते मुद्दामा उच्च अदालत विराटनगरबाट दोषी ठहर भएपछि फरार छन् । बाँकी दुई जना सभामुखमा प्रदिपकुमार भण्डारी र उपसभामुखमा सरस्वती पोखरेल छन् । तत्कालीन माओवादीबाट समानुपातिकमा प्रदेशसभा सदस्य भएकी उपसभामुख पोखरेल यसअघि दाहाल–नेपाल समूहमा खुलेको देखिए पनि अहिले मौन बसेकी हुन् ।

मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पनि कुन समूहमा बस्ने भनी दुविधामा रहेका थप ५ जना दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा ल्याई कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव बिफल गराउन जोडबल लगाइरहेका छन् ।

प्रकाशित : पुस १७, २०७७ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभा विघटनविरुद्ध च्याब्रुङ बजाउँदै नागरिक आन्दोलन [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — संसद् विघटनविरुद्ध बृहत् नागरिक आन्दोलनले शुक्रबार माइतीघर मण्डलामा च्याब्रुङ बाजासहित प्रदर्शन गरेको छ । साताव्यापी विरोध कार्यक्रम स्वरुप उनीहरुले च्याब्रुङ बजाउँदै प्रदर्शन गरेका हुन् । बुधबार नाैमती र सोमबार डम्फूसहितको प्रस्तुति थियो । गत पुस ११ गते आरम्भ भएको कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता हुँदै आएको छ ।

सहभागीले 'संविधानमाथि तीरैतीर प्रतिगामीलाई खीरैखीर','न्याय गर्छ म्याउम्याउ सरकार भन्छ उछिट्याउँ', 'जाे रक्षक उही भक्षक', 'संसद् विघटनको दुस्साहस, लोकतन्त्रको उपहास' जस्ता नारा लेखिएका प्लेकार्ड, व्यानर प्रदर्शन गरेका थिए । बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी ओलीको पुस ५ गतेको कदमलाई प्रतिगामी र गैरसंवैधानिक शनिबार शंख फुकेर प्रदर्शन गरेको थियो ।

प्रकाशित : पुस १७, २०७७ १६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×