चल्नै नसक्ने अराजक संसद्को दबाई ताजा जनादेश हो : प्रधानमन्त्री ओली- समाचार - कान्तिपुर समाचार

चल्नै नसक्ने अराजक संसद्को दबाई ताजा जनादेश हो : प्रधानमन्त्री ओली

'संविधान खत्तम हुन्छ भन्ने निरर्थक कुराहरूको हल्ला चलाइएको छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अराजक भएकाले संसद् विघटन गरेको बताएका छन् । उनले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको बताए ।

आफू निकट प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका सांसदहरू अनुशासनहीन भएको र सभामुखले पनि पदीय मर्यादाअनुसार काम नगरेकाले 'ताजा जनादेशको दबाई' खोजेको बताए ।

संसद्‍मा सरकारका निर्णय सभामुखले रोकेर राखेको भन्दै ओलीले असन्तुष्टि पोखेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको भन्दै आक्रोश पोखेका छन् । 'संसद्ले गर्नुपर्ने निर्णय नगरेर सभामुखले रोकेर राखेका छन् । संसद् विघटन भइसकेपछि केही सांसदहरूले हस्ताक्षर लगेर साढे ३ बजे प्रस्ताव पेस गरे । विघटन भइसकेको संसद्को अविश्वास प्रस्तावको कुनै अर्थ थिएन,' सभामुख सापकोटाले किर्ते गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले थपे, 'संसद् विघटन भइसकेपछि साढे ३ बजे आएको अविश्वासको प्रस्ताव १०:४० मै आएको थियो भनेर किर्ते सनाखत गरेको थियो । सभामुखजस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि साढे १० बजे भएको छ भनेर झुटो सनाखत सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयो ।'

सभामुख र सांसदहरू अराजक भएको भन्दै त्यसको विकल्प ताजा जनादेश भएको ओलीको भनाइ थियो । 'यसको दबाई ताजा जनादेश हो । चल्नै नसक्ने संसद्को दबाई ताजा जनादेश थियो । संसद् अनुशासन हीन र अराजक भयो,' उनले भने ।

पार्टीभित्र अस्थिरतातर्फ लैजाने काम भएकाले आफूले कदम चालेको ओलीको भनाइ थियो । उनले अहिले बहुमतमा रहेको भनेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफूहरूसँग बहुमत छ भनिरहेको अवस्थामा त्यसका लागि निर्वाचनमा लाग्न आग्रह गरे । 'बहुमत, अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । त्यो देखाउनका निम्ति सक्रिय हुन आग्रह गर्छु,' उनको भनाइ थियो ।

बहुमत भए निर्वाचनबाट आउन पनि ओलीले आग्रह गरेका छन् । उनले आफू निर्वाचनबाट अध्यक्ष भएको र सर्वसम्मत दलको नेता भएकाले बहुमत आफूसँगै भएको कुरा दोहोर्‍याए ।

प्रदेशहरूमा पनि अस्थिरता ल्याउन दाहाल र नेपाल पक्ष लागिरहेको ओलीको भनाइ थियो । उनले प्रदेशहरूमा अविश्वासको प्रस्तावहरू गइरहेको भन्दै त्यसले अशान्ति सिर्जना गर्ने बताए । दाहाल र नेपाल पक्षले गणतन्त्र र संघीयता ठीक होइन भन्नेहरूलाई बढावा दिइरहेको भनाइ ओलीको थियो ।

आफ्नो र राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा दाहाल पक्ष लागेर राजतन्त्र सही हो भन्नेहरूलाई ठाउँ पुगिरहेको ओलीको भनाइ थियो । 'यहाँ त राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिनलाई राष्ट्रपतिको हुर्मत लिने काम भएको छ । संविधान खत्तम हुन्छ भन्ने निरर्थक कुराहरूको हल्ला चलाइएको छ । संविधान कार्यान्वयनका लागि मैले कदम चालेको छु । प्रणालीको रक्षा हुन्छ भनेर त्यसका लागि मैले कदम चालेको छु । पार्टीले यस अभियानलाई ठीक ढंगले अगाडि बढाउँछ भनेर त्यसका लागि मैले यो कदम चालेको छु,' ओलीले भने ।

ओलीले संसद् पुन:स्थापना नहुने भन्दै सबैलाई निर्वाचनमा आउन आग्रह गरे । उनले आफू आधिकारिक नेकपा भएको भन्दै सूर्य चिह्न आफूले पाउनेमा ढुक्क रहन कार्यकर्ताहरूलाई आश्वस्त पारे ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन पछि नेकपा विभाजनमा गएको छ । उक्त विषयको मुद्दा सर्वोच्चमा चलिरहेको छ । दुवै पक्षले आफू आधिकारिक रूपमा पार्टी भएको भन्दै दाबी गरिरहेका छन् ।

प्रकाशित : पुस १७, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्

चीनले फेरि भन्यो : चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण दुई देशबीच सम्बन्ध मजबुत पार्न

इकान्तिपुर डेस्क

काठमाडौँ — चीनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डल दुई पक्षबीचको सम्बन्ध अझ बलियो बनाउन भएको कुरा दोहोऱ्याएको छ । सत्तारुढ दल नेकपाभित्रको विभाजन मिलाउनका लागि चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको भए पनि चीनले भने स्पष्ट रुपमा त्यो कुरा खुलाएको छैन ।

बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनमिनले चिनियाँ प्रतिनिधिमण्डल र नेपालका राजनीतिक दलबीच भएको भेटघाटमा दुई देशबीचको आपसी हित र सम्बन्ध सुदृढीकरणका बारेमा कुरा भएको बताएका हुन् ।

भारतीय सञ्चारमाध्यम प्रसार भारतीका बेइजिङस्थित संवाददाताले ‘नेपालमा चिनियाँ प्रतिनिधिमण्डलले भ्रमण गऱ्यो । यस भ्रमणको नतिजाका बारेमा तपाईँले केही बताइदिनुहुन्छ कि ?’ भनेर सोधेको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वेनमिनले भने :

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा गएको थियो । उक्त प्रतिनिधिमण्डलले त्यहाँको सत्तारुढ र प्रतिपक्षी दलका नेतासँग भेटघाट गऱ्यो र भेटघाटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डल र नेपालका राजनीतिक दलबीच विचारको आदानप्रदान भयो । पारस्परिक हितका बरेमा पनि कुराकानी भयो । बेल्ट एण्ड रोड इनिसियटिभका बारेमा पनि कुरा भयो । नेपाली पक्षले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १००औं स्थापना वर्षका अवसरमा बधाई पनि दियो । नेपालले दुई देशबीचको सम्बन्ध अझ बलियो पार्नेमा जोड दियो । यसैसाथ हामीले दुई पक्षबीचको सम्बन्ध अझ बलियो बनाउँछौँ ।

यसअघि सोमबार बेइजिङमा भएको पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका अर्का प्रवक्ता चाओ ली च्येनले आफ्ना पार्टी नेताहरूको काठमाडौं अवतरण मित्रता तथा सहकार्यका विषयमा विचार विमर्शका लागि भएको बताएका थिए । उनले भनेका थिए, ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’

चिनियाँ टोलीका तीन सन्देश

सत्तारूढ नेकपा विभाजित भएसँगै राष्ट्रपति सी चिनफिङको निर्देशनमा बेइजिङबाट आइतबार काठमाडौं उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय विशेष टोलीले नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चिन्ता र चासो प्रकट गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा यहाँका राजनीतिक दलहरूसँग सम्बन्ध मजबुत बनाउन भ्रमण गरेको भनिए पनि शीर्ष नेतासँगका सबै भेटमा चिनियाँ अधिकारीहरूले नेपालमा विकसित राजनीतिक अस्थिरता र नेकपामा आएको फुटबारे बढ्ता जिज्ञासा राखेको थियो।

नेकपालाई जोड्न चीनले रेफ्रीको भूमिका खेलिरहेको छ : श्याम शरण

चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्कमल दाहाल र माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा दाहाल-नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा उपाध्यक्ष वामदेव गौतमलगायतलाई भेटेर स्वदेश फर्किएको थियो ।

यसैबीच नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले सत्तारुढ नेकपाको विवाद मिलाउन चीनले रेफ्रीको भूमिका खेलेको भनेर प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : पुस १७, २०७७ १३:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×