१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सरकारविरुद्ध संयुक्त संघर्षको कसरतमा दाहाल–नेपाल समूह

बाबुराम भट्टराई भन्छन्– ‘संयुक्त संघर्षबिना यो उपलब्धि जोगाउन र प्रतिगमन सच्चाएर फेरि देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको ट्र्याकमा अगाडि बढाउन धेरै कठिन हुन्छ । मलाई विश्वास छ कांग्रेस छिट्टै सशक्त ढंगले आउँछ’
बबिता शर्मा

काठमाडौँ — संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीति र संवैधानिक रुपमा प्रतिवादमा उत्रेको नेकपा (दाहाल–नेपाल) समूह अन्य विपक्षी पार्टीसहित संयुक्त संघर्षका कार्यक्रम घोषणाको गृहकार्यमा जुटेको छ । यसैका लागि यो समूहले बुधबार सार्वजनिक गर्ने भनिएको दोस्रो चरणको संघर्षका कार्यक्रम पनि रोकेको छ ।

सरकारविरुद्ध संयुक्त संघर्षको कसरतमा दाहाल–नेपाल समूह

सबै पक्षसँग संवाद गरेर थप संघर्षका कार्यक्रम ल्याउने दाहाल-नेपाल समूहको तयारी छ । प्रधानमन्त्रीले गैरसंवैधानिक र अलोकतान्त्रिक रुपमा संसद् विघटन गरेको निष्कर्षसहित दाहाल–नेपाल समूहले प्रमुख प्रतिपक्ष दल कांग्रेस र जनता समाजवादी पार्टीसहित संयुक्त संघर्ष गर्ने पक्षमा छ । तर, संवाद भए पनि संयुक्त संघर्षको कार्यक्रमलाई लिएर उनीहरुबीच सहमति बनेको छैन ।

बुधबार पनि नेकपा अध्यक्ष पुष्पकमल दाहालले जसपाका नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतसँग संयुक्त संघर्षको कार्यक्रमलाई लिएर छलफल गरेका थिए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार अध्यक्ष दाहालले समाजवादी पार्टीका नेताहरुसँग संयुक्त संघर्षबारे छलफल गरेको र यस्तो छलफल कांग्रेससँग पनि हुने बताए । प्रवक्ता श्रेष्ठले भने, ‘संसद् विघटन गर्ने असंवैधानिक कदमविरुद्ध सबै लोकतान्त्रिक शक्ति एकै ठाउँ हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । यसैका आधारमा अन्य पार्टीहरूसँग पनि वार्ता चलिरहेको छ । हामी कांग्रेस र जसपाको औपचारिक निर्णय कुरेर बसेका छौं । त्यसो भएन भने चाँडै नै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्छौं ।’ दाहाल–नेपाल समूहले मंगलबार देशभर नै प्रदर्शन गरेको थियो ।

जसपा नेता भट्टराईले संयुक्त संघर्ष अहिले आवश्यक भएको र आफ्नो पार्टी त्यसका लागि तयार रहेको बताए । ‘संयुक्त संघर्षबिना यो उपलब्धि जोगाउन, प्रतिगमन सच्चाएर फेरि देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको ट्र्याकमा अगाडि बढाउन धेरै कठिन हुने देख्छु’ भट्टराईले भने ।

कांग्रेस र दाहाल–नेपाल समूहले छिटो निर्णय गरे संयुक्त रुपमा संघर्षमा जान सकिने भट्टराईले बताए। ‘हामी आफैं एक्लैले त विरोध गरिहाल्छौं, गरिरहेका छौं । बरु कांग्रेस विभिन्न कारण बाँडिएर अस्पष्ट देखिएको छ’ भट्टराईले भने, ‘हामीले उहाँहरुलाई पर्खेका हौं । उहाँहरु नआञ्जेल हामी एक्लै हिँड्छौं । उहाँहरु आएपछि हामी संयुक्त रुपमा हिँड्छौँ ।’

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि पहिलो पटक सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा कांग्रेसले ‘अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔँ’भनेको थियो । प्रतिनिधिसभा विघटन संविधानको अक्षर, मर्म र भावनाविपरीत रहेको भन्दै कांग्रेसले यसलाई राजनैतिक रूपमा प्रतिवाद गर्ने बताएको थियो ।

आफ्नो पार्टी भित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय रहेको कांग्रेसको भनाइ थियो । विज्ञप्तिमा कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन समस्त लोकतन्त्रवादीलाई आग्रह गरेको थियो । कांग्रेसले संसद् विघटनको विरोधमा पुस १३ मा १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । यसबेला पनि कांग्रेसले सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेको थियो ।

तर, संसद् पुनर्स्थापना वा चुनाव कुन मुख्य मुद्दा बनाउने भन्नेमा कांग्रेसभित्र मतभेद छ । जसकारण कांग्रेसले सडक संघर्षलाई प्राथमिकतामा राखेको छैन । कांग्रेसमा कम्युनिष्ट घटकहरूसँग संयुक्तरुपमा आन्दोलनमा जान हुँदैन भन्ने मत पनि बलियो छ । संसद् विघटनविरुद्ध तुरुन्त आन्दोलनमा जानुपर्ने मतमा रहेको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु कांग्रेसले दाहाल-नेपाल समूहसँग मिलेर नभई एक्लै आन्दोलनमा जानुपर्ने बताएका छन् । यसैकारण नेकपाको दाहाल नेपाल समूहको संयुक्त संघर्षको प्रस्तावमा कांग्रेसले रुचि देखाएको छैन । दाहाल–नेपाल समूहले सार्वजनिक रुपमै पनि संयुक्त संघर्षका लागि आव्हान गरेको छ । ‘वैशाखमा चुनाव त हुँदै हुँदैन, मानिलिनुस् चुनाव भइहाल्यो भने पनि अर्को प्रधानमन्त्रीले पनि संसद् भंग गरिदिन्छ । अनि के हुन्छ ? नजिर त बस्ने हो । प्रधानमन्त्रीले चाह्यो भने जे पनि गर्न पाउने । त्यो नजिरमा टेकेर फेरि संसद भंग गरिदिन्छ । त्यसपछि नेपाली जनताको भाग्य, भविष्य के हुन्छ ? यो कुरा ख्याल गर्न म साथीहरुलाई अनुरोध गर्दछु,’ मंगलबार विरोधसभामा दाहालले भनेका थिए ।

दाहालको थप भनाइ थियो, ‘यतिबेलाको जिम्मेवारी एक ढिक्का भएर यो असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगमनकारी कदम सच्चाउने नै हामी सबैको र आम नेपाली जनता र राष्ट्रको भाग्य भविष्य सुनिश्चताको आधार हो । त्यसकारण म उहाँहरुसँग हातेमालो गर्न, उहाँहरुसँग सहकार्य गर्न र यसलाई सच्चाएर फेरि मिलेर जान अपिल गर्न चाहन्छु । यो मेरो गम्भीर अपिल हो । यसलाई गम्भीरतापूर्वक लिइदिन पनि सबै राजनीतिक दलका साथीहरुलाई अनुरोध गर्न चाहन्छु ।’

त्यसो त, संसद विघटनको अर्को दिन अर्थात् पुस ६ गते कांग्रेस, दाहाल–नेपाल समूह र जसपाको बैठकले प्रतिनिधिसभा विघटन संविधानविरोधी र अलोकतान्त्रिक कदम भएको ठहर गर्दै साझा धारणा बनाएर विरोध गर्ने निष्कर्ष निकालेका थिए । जसपाले आइतबार काठमाडौंलगायत देशभर प्रदर्शन गरेको थियो ।

कांग्रेसले यसबारे छिट्टै निर्णय गरेर संयुक्त संघर्षमा आउनेमा आफू विश्वस्त भएको जसपा नेता भट्टराईले बताए । ‘नेपाली कांग्रेस आउनै पर्छ । किनकि यो लोकतन्त्रको मुद्दा हो । कांग्रेस आफूलाई पटक-पटक लोकतन्त्रका निम्ति त्याग बलिदान गर्दै आएको दाबी गर्छ । केही हदसम्म त्यो सत्य हो, पुरै हैन । फेरि यो अवस्थामा कांग्रेस नआउनु भनेको उसका लागिमात्रै होइन देशकै लागि दुर्भाग्यपूर्ण हुन्छ । मलाई विश्वास छ, कांग्रेस छिट्टै सशक्त ढंगले आउँछ,’ भट्टराईले भने । कांग्रेसको पुस १९ मा केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । त्यसपछि उसले कस्तो निर्णय लिन्छ भन्नेमा नेकपा (दाहाल–नेपाल) समूहको चासो छ ।

प्रकाशित : पुस १६, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?