१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

केपी ओली निर्वाचित तानाशाह बन्‍न खोजे : पौडेल

अन्तर्राष्ट्रिय शक्तिको खिचातानीले संसद् विघटन
दीपक परियार

पोखरा — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको बताएका छन् । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसले बिहीबार पोखरामा गरेको प्रवचन कार्यक्रममा उनले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेकाले संयुक्त आन्दोलनबाटै निकास खोज्नुपर्ने विचार राखेका हुन् ।

केपी ओली निर्वाचित तानाशाह बन्‍न खोजे : पौडेल

'यो विश्वमा निर्वाचनबाट धेरै तानाशाह जन्मेका छन् । नेपालमा पनि केपी ओली निर्वाचित तानाशाह बन्न खोजेका छन् । त्यसलाई हामीले कुनै हालतमा स्वीकार्दैनौं । तानाशाह बनेर यो देशमाथि हुकुम चलाउन दिँदैनौं,' पौडेलले भने ।

नेता पौडेलले राष्ट्रका शक्तिहरु मिलेर राष्ट्रियता र संविधान बचाउनु पर्नेमा जोड दिए । 'राष्ट्रका शक्तिहरु मिलेर राष्ट्रियता बचाउने हो । राष्ट्रका को–को घरेलु शक्तिहरु मिलेर यो राष्ट्र बचाउने, परिवर्तन बचाउने, संविधान बचाउने हो, मिलेर बचाउनुपर्छ,' उनले भने, 'कसले अरुको इशारामा यो राष्ट्रलाई भूमरीमा धकेल्दै छ, तिनलाई हामीले धकेल्दिनुपर्छ । द्विविधामा कोही पनि नरहनुहोला ।' अहिले प्रतिनिधिसभाको पुन:स्थापना आजको आवश्यकता रहेको भन्दै पौडेलले यसले नै नेपाललाई बिग्रह, शक्तिकेन्द्रको अखडा बन्नबाट र द्वन्द्वको भूमरीमा फस्नबाट बचाउने तर्क गरे ।

नेता पौडेल विघटित संसद पुन:स्थापनाको आन्दोलनमा कम्युनिस्ट (दाहाल–नेपाल) पक्षसँग कांग्रेस मिल्नुहुँदैन भन्नेहरु दरबार परस्त भएको बताए । इतिहासमा कम्युनिस्टसँग मिलेर चलाइएका संयुक्त संघर्षबाट कांग्रेसलाई कहिल्यै घाटा नभएको उनको भनाइ थियो । 'कम्युनिस्टसँग कांग्रेस मिल्दा सबै बिग्रियो भन्छन् । कम्युनिस्टसँग कांग्रेस मिल्दा कहाँ बिग्रियो ? खुलेर छलफल गर्ने बेला हो यो । यदि २०४६ मा गणेशमानजीले ‘तिमीहरु वाममोर्चा बनाएर आऊ, मिलेर यो पञ्चायत फाल्दिउँ’ भनेर संयुक्त संघर्षमा नगएको भए त्यो पञ्चायत जान्थ्यो ?,' उनले थपे, '२०४२ मा कांग्रेस एक्लैले पञ्चायतविरुद्ध सत्याग्रह गरेको थियो, जाने भए त्यतिबेलै जान्थ्यो । ०४६ सालमा जब संयुक्त आन्दोलन भयो तब पञ्चायत गयो । संयुक्त आन्दोलन गरेर के कांग्रेसलाई नोक्सान भयो त ? आखिरमा कांग्रेसकै सरकार बन्यो नि ! व्यवस्था गयो, कांग्रेसको आफ्नो सत्ता आएको थियो ।'

राष्ट्रियता र स्वाधिनता बचाउने, विकास र समृद्धिलाई अगाडि बढाउने नेतृत्व कांग्रेसले गर्नु पर्ने भन्दै पौडेलले त्यसका लागि कांग्रेसभित्रै पनि सुधारको आवश्यकता रहेको बताए ।

प्रकाशित : पुस १६, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?