कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पक्राउ परेका अग्रवाललाई नवलपरासी ल्याइँदै, तत्काल मुद्दा नचल्ने

नवीन पौडेल

परासी — तीन वर्षसम्म पनि उखु किसानको भुक्तानी नगर्ने पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी सुगर मिलका सञ्चालक मनोज अग्रवाललाई रातारात नवलपरासी ल्याइँदै छ ।

पक्राउ परेका अग्रवाललाई नवलपरासी ल्याइँदै, तत्काल मुद्दा नचल्ने

बिहीबार दिउँसो वीरग‍न्जबाट सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । अग्रवाल आफैं शुक्रबार पश्चिम नवलपरासीको जिल्ला प्रशासनमा उपस्थित हुने भने पनि विरगन्ज प्रहरीले बिहीबार राति नै नवलपरासी ल्याउँदै छ । अग्रवाललाई बक्यौता रकम तिर्ने प्रतिबद्धता गराइनेछ ।

सरकारले लुम्बिनी सुगर मिलका सञ्चालक सुशिला गोयलका नाममा पक्राउ पूर्जी जारी गरेको भएपनी उनका जेठाजु मनोजलाई नियन्त्रणमा लिएको हो । त्यसैले तत्कालै अग्रवालविरुद्ध मुद्दा भने चल्दैन् । गोयलका श्रीमान मनिष अग्रवालको दुई वर्ष अगाडी मृत्यु भएपछि उनले उद्योग सञ्चालनको जिम्मा लिएकी थिइन् । तर दाजुभाईको अशंबण्डामा उद्योग मनोज अग्रवालको भागमा परेको थियो ।

वीरगन्ज प्रहरीको सहयोगमा अग्रवाललाई नवलपरासी ल्याएर शुक्रबार बक्यौता रकम तत्काल भुक्तानी गर्न प्रशासनले निर्देशन दिने पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । ‘पटक पटक किसान र प्रशासनसँग सहमति गरेर रकम भुक्तानी नगर्ने सञ्चालक अग्रवाललाई सोधपुछ र सहमति कार्यान्वयन गराउन लागिएको हो,’ प्रमुख जिल्ला अधिकारी पाठकले भने,‘अहिले गरेको प्रतिबद्धता पूरा नगरेमा कानुनी कारवाही अगाडी बढाइने छ ।’ लुम्बिनी चिनी मिलले तीन वर्ष अगाडीको १० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

पटक पटक बक्यौता रकम उपलब्ध गराउन सहमति भएपनि उद्योगीले प्रशासन र किसानलाई टेरेका छैनन् । भुक्तानीका लागि किसानले पटक पटक सडक आन्दोलन गरेको भएपनि उद्योगीले चिनीको मूल्य सस्तो भएको, उद्योग घाटामा सञ्चालन भएको बहाना देखाउँदै भुक्तानी रोक्ने गरेको उखु उत्पादन किसान समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ‘भुक्तानीका लागि सहमति गरेर पनि बहाना बनाउने गर्दछन् । काठमाडौंसम्म आन्दोलन गर्न गयौं तर किसानको समस्या कसैले बुझेन्,’ यादवले भने ।

पहिले पहिले उद्योगले समयमा नै भुक्तानी दिने, नजिकै तौल केन्द्र स्थापना गरेर तौलने र लैजाने समेत गर्दथ्यो । तर पछिल्लो ७ वर्षयता उद्योगले किसानलाई विभिन्न बहाना बनाएर ठग्ने तथा भुक्तानी दिन आनाकानी गरेर सस्तोमा उखु किनिरहेको छ । वर्षेनी उधारोमा बेच्नुपर्ने भएपछि यस क्षेत्रका किसानले उखुको विकल्प खोज्न सुरु गरेका छन् । उखु खुद्रामा बिक्री गरेर सम्भव नहुने भएपछि उद्योगीले किसानलाई हेप्न थालेको भन्दै केरा घरघरमा लगेर आफैं पनि बेच्न सकिने भन्दै केरा खेती लगाउन सुरु गरेका छन् । तर, भारतबाट सस्तोमा केरा आउन थालेपछि किसान वैकल्पिक खेतीबाट पनि सन्तुष्टि छैनन् । जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ जसबाट करिब २० लाख क्वीन्टल उखु उत्पादन हुने अनुमान छ ।

यो पनि पढ्नुहोस्ः

लुम्बिनी चिनी मिलका सञ्‍चालक मनोज अग्रवाल पक्राउ

प्रकाशित : पुस १६, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?