कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

साढे ५ महिनामा १९ गैंडा मरे

मेघौली रेन्जपोस्ट नजिक बुधबार अन्दाजी २५/३० वर्षको एउटा भाले गैंडा मृत फेला
रमेशकुमार पौडेल

चितवन — दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको बढ्दो मृत्यु दर यो वर्ष पनि कम नहुने संकेत देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको भित्री क्षेत्र मेघौली रेन्जपोस्ट नजिक बुधबार अन्दाजी २५/३० वर्षको एउटा भाले गैंडा मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले उक्त गैंडा प्राकृतिक कारणले मरेको जानकारी दिए । गैंडाको खाग र खुर सुरक्षित छ ।

यो आर्थिक वर्षको साउनयता बुधबारसम्म साढे पाँच महिनाको अवधिमा मृत्यु हुने गैंडाको संख्या १९ पुगेको छ । यीमध्ये चारवटा गैंडा खागका लागि तस्करहरूले मारेको अधिकारीले बताए । अन्य १५ गैंडा बूढो भएर, प्राकृतिक कारण वा अन्य घटना/दुर्घटनामा परेर मरेका हुन् ।

आव ०७५/७६ मा मात्रै अहिलेसम्मकै धेरै ४३ वटा गैंडा मरेका थिए । यो वर्ष पनि त्यही अनुपातमै गैंडाको मृत्यु भएको देखिएको छ । गत आर्थिक वर्षमा र अन्य केही आर्थिक वर्षमा चितवन निकुञ्ज र यस आसपासमा वर्षमा २५/२६ वटा गैंडा मर्ने गर्थे ।

केही वर्षयता नियन्त्रणमा रहेको चोरी सिकार पनि यो वर्षदेखि सुरु भएको छ । तस्करहरूले खागका लागि गैंडा मार्ने गर्छन् । गैंडा मारेमा, यसको अंगको ओसारपसार वा किनबेच गरेमा १० लाख रुपैयाँसम्म जरिवाना, १५ वर्षसम्म कैद वा दुवै कारबाही हुने कानुनी व्यवस्था छ ।

ठूलो एकसिंगे गैंडा नेपाल र भारतका सीमित संरक्षित क्षेत्रमा ३५ सयका हाराहारीमा रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । २०७२ साल वैशाखमा गरिएको गणनाअनुसार नेपालभर ६४५ गैंडा थिए । सबैभन्दा धेरै चितवन निकुञ्ज र यस आसपास ६०५ वटा थिए ।

प्रकाशित : पुस १६, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?