१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हिउँ चितुवा जोगाउन ‘सिटिजन साइन्टिस्ट’

‘स्थानीयसँग हिउँ चितुवाबारे धेरै ज्ञान र अनुभव छ, त्यसलाई अनुसन्धानमा प्रयोग गर्न सकियो भने संरक्षणमा सहयोग पुग्छ’

फोक्सुन्डो, डोल्पा — फोक्सुन्डोस्थित रिग्मो गाउँका छिमे बैजी ‘हिउँ चितुवाविज्ञ’ होइनन् । उनले जीवविज्ञानबारे औपचारिक शिक्षा पनि लिएका छैनन् । तर उनलाई हिउँ चितुवाका आनीबानी मात्र होइन, खान्की (आहार) र उसले आहारका लागि गर्ने उकाली–ओरालीबारे धेरै ज्ञान छ ।

हिउँ चितुवा जोगाउन ‘सिटिजन साइन्टिस्ट’

‘हाम्रै याक, चौंरी चर्ने खर्कहरूमा धेरैपटक हिउँ चितुवासँग जम्काभेट भएको छ,’ रिग्मो गाउँस्थित् आफ्नै होटलमा उनले सुनाए, ‘त्यो धेरै लजालु हुने रहेछ, आफ्नो आहारबाहेक मान्छेलाई आक्रमण गर्दैन । अवरोध नगर्ने हो भने लुरुलुरु आफ्नो बाटो हिँडिरहन्छ ।’

बैजीका अनुसार उच्च स्थानहरूमा धेरै हिउँ पर्न थालेपछि हिउँ चितुवा आहारको खोजीमा तल्लो भागतिर झर्छ । उसका मुख्य आहार नाउर, झारल, कस्तुरी मृग, फ्याउ मुसालगायत हुन् । भेडा, च्यांग्रासँगै घोडा, याक र चौंरीको बच्चा पनि खाने गर्छ । ‘हाम्रो बस्ती छेउछाउ पनि नाउर प्रशस्तै छन्,’ बैजीले भने, ‘त्यही आहारको खोजीमा आउँदा हाम्रा पशुबस्तुलाई पनि हिउँ चितुवाले मार्छ ।’ बैजी मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, फोक्सुन्डोअन्तर्गतको पेरिकपुवा हिउँ चितुवा संरक्षण उपसमितिका अध्यक्षसमेत हुन् ।

सरकारले शे–फोक्सुन्डोलाई सबैभन्दा बढी हिउँ चितुवाको घनत्व भएको निकुञ्जभित्र राखेको छ । डोल्पाका हिउँ चितुवाबारे पहिलो पटक जर्मनीमा जन्मेका जर्ज बिल्स स्यालरले अध्ययन गरेका हुन् । सन् १९७३ ताका उनी पोखराबाट ढोरपाटन हुँदै हिउँ चितुवा अध्ययनका लागि उपल्लो डोल्पासम्म पुगेका थिए । ‘उनैले नेपालमा हिउँ चितुवा छन् भनेर विश्वमा आवाज पुर्‍याएका हुन्,’ हिउँ चितुवाबारे विद्यावारिधि गरिरहेका कमल थापाले कान्तिपुरसित भने, ‘त्यसको करिब १३ वर्षपछि अमेरिकी वन्यजन्तुविज्ञ रोड्नी ज्याक्सनले रेडियो कलर जडान गर्दै हिउँ चितुवाको अध्ययन गरे ।’

स्यालरले फोक्सुन्डो ताल र शे–गुम्बा क्षेत्रमा हिउँ चितुवाका पाइला (पगमार्क) पछ्याएर अध्ययन गरेका थिए । उनको अध्ययनले प्रति सय वर्गकिमिमा तीनवटा हिउँ चितुवा रहेको तथ्य पत्ता लगाएको थियो । रोड्नीले निकुञ्जको मुगुतिर पर्ने डोल्फु क्षेत्रमा रेडियो कलरमार्फत अध्ययन गरेका हुन् । ‘रोड्नीले सन १९८६ देखि १९८९ सम्म अध्ययन गरेका हुन्,’ थापाले भने, ‘रेडियो कलरबाट हिउँ चितुवाको अध्ययन गरिएको त्यो विश्वमै पहिलो पटक थियो ।’ उनको अध्ययनले प्रतिसय वर्ग किमिमा ८ देखि १० वटा हिउँ चितुवा रहेको तथ्य पत्ता लगाएको थियो ।

मनाङको फू क्षेत्रका हिउँ चितुवाको वंशाणुगत (जेनेटिक) अध्ययन गरेका नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेसका विज्ञ पर वेगले भने प्रति १ सय २५ वर्गकिमिमा ६ वटा रहेको तथ्य पत्ता लगाएका छन् । डोल्पामा अहिले पनि हिउँ चितुवाबारे अनुसन्धान जारी छ । निकुञ्जले डब्लूडब्लूएफ (विश्व वन्यजन्तु कोष) नेपाल र प्रकृति संरक्षण कोष (एनटीएसनी) को पहलमा भिजेर क्षेत्रमा गत वर्षको कात्तिक र मंसिरमा दुईवटा हिउँ चितुवाको घाँटीमा स्याटेलाइट जीपीएस कलर जडान गरेको थियो । त्यस कार्यमा निकुञ्जले स्थानीय युवालाई नागरिक वैज्ञानिक (सिटिजन साइन्टिस्ट) का रूपमा परिचालन गरेको थियो ।

निकुञ्जको पलममा चर्दै हिउँ चितुवाको आहारा प्रजाति नाउर तस्बिर : अब्दुल्लाह मियाँ

रेडियो कलरबाट प्राप्त सूचनाका आधारमा भविष्यमा हिउँ चितुवाको संरक्षणसम्बन्धी रणनीति बनाउन र भू–परिधिस्तरीय सहयोग आदान–प्रदान तथा अन्य देशसँग समन्वय र सहकार्य गर्न सजिलो हुने अपेक्षासाथ अनुसन्धान सुरु गरिएको थियो । थप २ वटा हिउँ चितुवामा कलर गर्ने योजना रहे पनि गत वर्षका हिउँ चितुवामा प्राविधिक समयस्या निम्तिएपछि अहिलेलाई रोकिएको छ ।

निकुञ्जअन्तर्गत हिउँ चितुवा तथा त्यसका आहार प्रजातिको बासस्थल रहेका सबै क्षेत्र समेट्ने गरी निकुञ्जले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गत रहने गरी हिउँ चितुवा संरक्षण उपसमितिहरू बनाएको छ । डोल्पातिरको फोक्सुन्डो, धो तराप, साल्दाङ, भिजेर तथा मुगुतिरको डोल्फुमा युवालाई समेटेर उपसमिति बनाइएको हो । गत वर्ष भिजेर क्षेत्रमा हिउँ चितुवाको रेडियो कलर जडानका क्रममा प्रत्येक उपसमितिबाट दुई–दुई जना युवालाई सहभागी गराइएको थियो । ‘हामीले हिउँ चितुवाबारे औपचारिक अध्ययन नगरे पनि हाम्रो अनुभवलाई विशेषज्ञहरूले गत वर्ष रेडियो कलर जडान गर्ने क्रममा उपयोग गर्नुभयो,’ फोक्सुन्डो हिउँ चितुवा संरक्षण उपसमितिका छेबाङ ग्याल्बो लामाले भने, ‘विशेषज्ञसँग काम गर्न पाउँदा खुसी लाग्यो ।

धेरै कुरा सिक्यौं, हामीले गर्दा उहाँहरूलाई पनि सहयोग पुग्यो ।’ हिउँ चितुवा विचरण गर्ने क्षेत्र र बासस्थान तथा उसले खाने नाउर, झारल, कस्तुरी मृग, फ्याउ मुसाबारे स्थानीयसँग प्रशस्त अनुभव हुने भएकाले निकुञ्ज र वन्यजन्तु प्राविधिकले उनीहरूलाई नागरिक वैज्ञानिकका रूपमा प्रयोग गरेका थिए ।

स्थानीयले भिरालो र अप्ठ्यारो ठाउँमा समेत आउजाउ गर्न र सहजै वन्यजन्तु पहिचान गर्न सक्ने भएकाले उनीहरूको सहभागिताले कलर जडान गर्न मद्दत पुगेको थियो । ‘हिउँ चितुवा पाइने ठाउँमै सयौं वर्षदेखि बसेकाले स्थानीयसँग हिमाली वन्यजन्तुबारे धेरै ज्ञान र अनुभव छ,’ डब्लूडब्लूएफ नेपालका तर्फबाट उपल्लो डोल्पामा विगतमा धेरै समय काम गरेका संरक्षण अधिकृत गौतम पौड्यालले कान्तिपुरलाई भने, ‘त्यो अनुभवलाई अनुसन्धानमा प्रयोग गर्न सकियो भने संरक्षणमा सहयोग पुग्छ भनेर उहाँहरूलाई सहभागी गराउने गरिएको छ ।’

कलर जडानअघि निकुञ्जका सहायक वार्डेन गोपाल खनाललगायतले स्थानीय युवालाई तालिमसमेत दिएका थिए । अहिले पनि खनालले भिजेर क्षेत्रमा स्थानीय युवालाई साथ लिएर गत वर्षको मंसिरमा कलर जडान गरिएको सामलिङ नामको हिउँ चितुवाको खोजी गरिरहेका छन् । सामलिङ जेठदेखि सर्म्पकमा छैन ।

हिउँ चितुवाबारे जनचेतना जगाउन राखिएको होर्डिङ बोर्ड तस्बिर : अब्दुल्लाह मियाँ

निकुञ्जका निमित्त प्रमुख (वार्डेन) सरोजमणि पौडेलले उपल्लो डोल्पाका बासिन्दा वन्यजन्तु संरक्षणमा पहिलेदेखि नै सचेत रहेको बताए । ‘उहाँहरूलाई सँगसँगै लैजान सकियो भने संरक्षणमा थप टेवा पुग्छ,’ उनले भने । गत वर्ष स्याटेलाइट जीपीएस कलर जोडिएको जेबोरोङ नामको हिउँ चितुवाको मृत शरीर पनि स्थानीय युवाकै पहलमा फेला परेको थियो । हिउँ चितुवा संरक्षण उपसमितिका युवाले धेरै दिनको प्रयासपछि शे–फोक्सुन्डो गाउँपालिकाको कु गाउँमा उक्त हिउँ चितुवा मृत अवस्थामा फेला पारेका थिए ।

स्थानीयले हिउँ चितुवाको मुख्य आहार नाउरको आफैं गणनासमेत गर्छन् । ‘हाम्रो क्षेत्रमा नाउरको अवस्था कस्तो छ भनेर उपसमितिमार्फत अनुगमन गर्छौं,’ बैजीले भने, ‘त्यसका लागि निकुञ्जले हामीलाई तालिम दिएको छ ।’ विभिन्न ‘ब्लक’ बनाएर युवाले नाउरको संख्या यकिन गर्छन् । नाउर बस्ने क्षेत्रमा डढेलोलगायत अन्य प्राकृतिक विपत्ति निम्तिए युवा नियन्त्रणमा सक्रिय हुन्छन् ।

अधिकांश उपल्लो डोल्पाली बोन धर्मावलम्बी भएकाले वन्यजन्तुको सिकार गर्दैनन् । ‘बरु, हिउँ चितुवा, कस्तुरीलगायत वन्यजन्तु संरक्षण गरी पहिचान जोगाउन हामी लागि परेका छौं,’ निकुञ्जको फोक्सुन्डो मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष फुर्वा तेन्जिङ बूढाले भने, ‘विश्वभर हिउँ चितुवा पाइने क्षेत्रका रूपमा पहिचान कायम राख्न सकिए पर्यटन प्रवर्द्धनसमेत हुन्छ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो वर्ष देशैभरि हिउँ चितुवाको संख्या अद्यावधिक गर्ने योजना पनि बनाएको छ । पुरानो तथ्यांकअनुसार नेपालमा ३ सयदेखि ५ सय वटासम्म हिउँ चितुवा छन् ।

प्रकाशित : पुस १६, २०७७ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?