कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किन दिनहुँ झ्याप-झ्याप ?

प्राधिकरणबाट कुलमान घिसिङको बहिर्गमन र ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझीको पुनरागमनसँगै कतै लोडसेडिङ फर्कन लागेको त होइन भन्ने शंका सर्वसाधारणमा देखिएको छ ।
विजय तिमल्सिना

काठमाडौँ — बिजुली बारम्बार जान थालेपछि उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यो बेला यो कारणले यति समय लाइन काटिने छ भनेर विद्युत् प्राधिकरणले पूर्वसूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्तामाझ शंका बढेको हो । शंका बलियो हुनुको अर्को कारण हो, कार्यकारी प्रमुख कुलमान घिसिङको पदावधि नथपिनु र ऊर्जा मन्त्रालयमा टोपबहादुर रायमाझीको पुनरागमन ।

किन दिनहुँ झ्याप-झ्याप ?

रायमाझीको ऊर्जा मन्त्रालयबाट बहिर्गमनसँगैको संयोग थियो मुलुक लोडसेडिङमुक्त घोषणा हुनु । विद्युत् आयोजनाहरू थपिए । राष्ट्रिय प्रसारणले बिजुलीको ‘पिक डिमान्ड’ धान्न सक्ने भयो । त्यसबेला घिसिङले बिजुली पर्याप्त हुने मात्रै होइन विदेश निर्यात व्यापार पनि गर्न सकिने बताए । उनले स्वदेशी ऊर्जा छेलोखेलो भयो भन्दै सर्वसाधारणलाई विद्युत्को अधिकतम उपयोग गर्न हौस्याए ।

कार्यकाल सकिएपछि सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याएन । सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि सत्ताधारी नेकपामा विभाजन आयो । ऊर्जामन्त्री वर्षमान पुन राजीनामा दिएर सरकारबाट बाहिरिए । यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रायमाझीलाई ल्याए ।

बिजुली बारम्बार झ्यापझ्याप काटिन थाल्यो । लोडसेडिङ फर्किने शंकालु उपभोक्ताहरू यसलाई संयोग मान्न तयार छैनन् । तर यो समस्या विशुद्ध प्राविधिक भएको दाबी प्राधिकरणको छ । विद्युत् अवरुद्ध हुने समस्या अघिल्ला वर्षहरूमा पनि हुने गरेकाले लोडसेडिङ होला कि भन्नु मनोवैज्ञानिक त्रास मात्रै भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको टिप्पणी छ । गत वर्षको तुलनामा यो वर्ष कुल ऊर्जा माग बढे पनि विद्युत् प्रणालीमा कुनै समस्या नरहेको उनको दाबी छ । ‘सोमबार र मंगलबार धेरै स्थानमा प्राविधिक कारणले विद्युत् अवरुद्ध हुने समस्या देखियो,’ उनले भने, ‘यो नियोजित नभई प्राविधिक कारणले भएको हो र यसको समाधानको उपाय पत्ता लागिसकेको छ ।’

सोमबार साँझ साढे ६ बजे मध्य र मध्यपश्चिम क्षेत्रमा १५ मिनेट विद्युत् अवरुद्ध भएको थियो भने मंगलबार साँझ काठमाडौं उपत्यकाका पाटन, भक्तपुर थिमि, बानेश्वर क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध हुने समस्या देखिएको थियो । दुई दिन प्राविधिक कारणले विद्युत् अवरुद्ध भएको र यसको समाधान भइसकेको शाक्यको दाबी छ । योबाहेक पनि मर्मतसम्भारका लागि भन्दै पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको छ । नियमित मर्मतसम्भार हुने स्थानमा प्राधिकरणले पूर्वसूचना दिएर दैनिक केही घण्टा विद्युत् अवरुद्ध गराउने भए पनि पूर्वजानकारीबिना पटकपटक विद्युत् अवरुद्ध हुन थालेपछि उपभोक्ता आजित बनेका हुन् ।

‘साउनमा पनि पटकपटक विद्युत् अवरुद्ध हुने समस्या देखिएको थियो,’ उनले भने, ‘तर अहिले प्राधिकरणबाट कुलमानजी बिदा भएपछि मानिसलाई पुनः विद्युत् लोडसेडिङ होला कि भन्ने मनोवैज्ञानिक त्रास देखिएको जस्तो लाग्छ ।’

लोडसेडिङ अन्त्यको जस पाएका प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङ गत भदौमा आफ्नो चारवर्षे कार्यकाल सकाएर प्राधिकरणबाट बिदा भएका थिए । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ भने प्राधिकरण व्यवस्थापनले माग, आपूर्ति र पूर्वाधारको व्यवस्थापन गरे मात्रै अहिलेको समस्या समाधान हुने टिप्पणी गर्छन् । ‘समस्या देखिएको स्थानमा तत्काल रेस्पोन्स गर्ने, पूर्वाधारलाई चुस्तदुरुस्त राख्ने र माग अनि आपूर्तिको तालमेल मिलाए अहिलेको समस्या समाधान हुन्छ,’ उनी भन्छन्, ‘यसका लागि व्यवस्थापनले चेन अफ कमान्डलाई पनि चुस्तदुरुस्त राख्नुपर्छ र कर्मचारीको मनोबल बढाउने काम गर्नुपर्छ ।’

कोभिड–१९ का कारण उपत्यकासहित देशभर विद्युत्को उच्च माग नबढेको भए पनि यो वर्ष कुल ऊर्जाको माग भने बढेको प्राधिकरणले जनाएको छ । पुस १२ गते एक दिनमा कुल ऊर्जा खपत २ करोड १७ लाख १५ हजार युनिट भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिना बताउँछन् । यो वर्ष पुस १२ गते आइतबार २ करोड ५१ लख ६३ हजार युनिट (किलोवाट आवर) खपत भएको थियो । उपत्यकामा मात्रै आइतबार ३ सय ७६ मेगावाट विद्युत्को माग थियो ।

देशमा ऊर्जाको माग बढेसँगै भारतबाट आयातित विद्युत्मा परनिर्भरता पनि बढेको छ । गत वर्ष पुस १२ गते भारतबाट कुल ४ सय ७१ मेगावाट विद्युत् आयात भएकामा यो वर्ष सोही दिन आयात बढेर ६ सय ३२ मेगावाट पुगेको छ । गत वर्ष पुस १२ गते भारतबाट ८० लाख युनिट आयात भएकामा यो वर्षको सोही दिन यो परिमाण बढेर १ करोड १० लाख युनिट पुगेको छ । सोमबार देखिएको समस्या प्राधिकरणको प्राविधिक तयारी नपुगेर पनि भएको हुन सक्ने प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्य स्विकार्छन् । ‘एउटा क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा अर्को क्षेत्रबाट वितण गर्दा भार बढेर विद्युत् अवरुद्ध हुने समस्या देखियो,’ उनले भने, ‘यसलाई समाधानका लागि भारप्रेषण केन्द्रमा प्राविधिकको संख्या बढाइएको छ ।’ मंगलबार उपत्यकामा देखिएको विद्युत् अवरुद्ध हुने समस्या नदोहोरिने उनको भनाइ छ । ‘बानेश्वर क्षेत्रमा ६६ केभीले माग धान्न सकेन,’ उनले भने, ‘यो क्षेत्रको भार पाटन क्षेत्रतर्फ सार्ने काम भइसकेको छ ।’

प्राधिकरणका पूर्वनिर्देशक घिसिङ काठमाडौं उपत्यकामा मात्रै पनि गत वर्षको भन्दा पिक डिमान्ड ७० मेगावाटले घटेको बताउँछन् । ‘अहिले देखिएको समस्या प्राविधिक र पूर्वाधारको मात्रै होइन । विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि प्राधिकरण व्यवस्थापनले माग, आपूर्ति र पूर्वाधारलाई सन्तुलन गर्नुपर्छ,’ उनी भन्छन्, ‘समस्या देखिएको ठाउँमा तत्कालै रेस्पोन्स गर्ने र कमजोर पूर्वाधार भएको स्थानमा समयमै मर्मतसम्भार गर्नुपर्ने हुन्छ ।’

विद्युत् अवरुद्ध हुने समस्या विद्युत्को अभाव भएर नभई व्यवस्थापकीय कमजोरीले भएको हुन सक्ने उनी बताउँछन् । ‘मागभन्दा कम विद्युत् भएको अवस्थामा तत्काल विद्युत् आपूर्ति गर्न सक्ने गरी पूर्वाधार तयार भइसकेको छ भने सम्झौता पनि भइसकेको छ । आपूर्तिमा कमी हुन नदिन विद्युत् गृहलाई पनि समयमै मर्मत गरेर चुस्त राख्नुपर्छ भने आपूर्ति र मागलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ उनी भन्छन् । यसबाहेक समस्या आएका स्थानमा तत्काल गएर समाधान गर्नका लागि मातहतका कर्मचारीलाई प्रेरित गर्नुपर्ने उनी सुझाव दिन्छन् । ‘योबाहेक तराई र अन्य कतिपय स्थानमा चुहावट बढेको भन्ने सुनेको छु । विद्युत् चुहावटका कारण पनि यस्तो समस्या आउने गर्छ,’ उनले भने, ‘चुहावट रोक्न पनि व्यवस्थापनले ध्यान दिनुपर्छ ।’

प्रकाशित : पुस १६, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?