३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नेकपालाई जोड्न चीनले रेफ्रीको भूमिका खेलिरहेको छ : श्याम शरण

‘ओलीलाई राजीनामा गराएर विवादास्पद छवि नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाउन खोजिँदैछ’

काठमाडौँ — नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको बताएका छन् । भारतीय अखबार द ट्रिब्युनमा बुधबार प्रकाशित लेखमा पूर्वविदेश सचिवसमेत रहेका शरणले नेकपाभित्रको विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेफ्रीको भूमिका निर्वाह गरेको बताएका हुन् । उनले यान्छीलाई ‘चाइनिज एक्टिभिस्ट एम्ब्यासडर’ को संज्ञा पनि दिएका छन् ।

नेकपालाई जोड्न चीनले रेफ्रीको भूमिका खेलिरहेको छ : श्याम शरण

नेपाल मामिलाका जानकार मानिने शरणले चीनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहित चार सदस्यीय टोली पठाएर नेकपालाई एकीकृत नै राख्ने प्रयास गरेको पनि लेखमा उल्लेख गरेका छन् । नेकपाभित्रको विवाद मिलाउन चीन सक्रिय रहे पनि भारत भने ‘पर्ख र हेर’ रणनीतिमा बस्नुपर्ने उनले बताएका छन् । ‘हामीले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई पर्ख र हेरको रणनीति अपनाएर मात्रै अघि बढ्नुपर्छ,’ उनले भनेका छन् ।

त्यस्तै पूर्वराजदूत शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा पुन:स्थापना गर्न र राजीनामा दिन चिनियाँ पक्षबाट मनाउने प्रयास गरिएको पनि दाबी गरेका छन् । ‘ओलीलाई नेतृत्व परिवर्तन र प्रतिनिधिसभा पुन:स्थापनका लागि मनाउने प्रयास गरिएको बुझिएको छ । उनलाई राजीनामा दिन लगाउँदै, विवादास्पद छवि नभएका राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रयास गरिएको छ । तर ओली भने त्यसलाई प्रतिवाद गर्नेपक्षमा देखिएका छन् ।’

प्रधानमन्त्री केपी शमर्का ओलीको कदमले नेकपाको भविष्य जतासुकै लगे पनि नेपालको प्रजातन्त्र र राजनीतिक स्थिरताका साथै आर्थिक समृद्धिमा भन्ने धक्का पुग्ने शरणले उल्लेख गरेका छन् ।

त्यस्तै शरणले नेपालको पछिल्लो राजनीतिक संकट निम्तिनुमा अमेरिकाको पनि हात रहेको आशंका व्यक्त गरिएको चर्चा गरेका छन् । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) प्रस्तावित ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताका कारण पनि नेपालमा राजनीतिक संकट निम्तिएको हुन सक्ने आशंका व्यक्त गरिएको उनले बताएका छन् । ‘पछिल्लो संकटमा अमेरिकी भूमिका रहेको आशंका गरिएको छ । ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताको प्रचण्ड र नेकपाका अन्य नेताहरुले विरोध गरेका थिए तर ओलीले भने यो प्रस्ताव पास गर्न स्वीकृति दिएका छन् । एमसीसीको विरोध गर्नेहरु चीनको इसारामा चलेको बताइएको छ,’ शरणले लेखेका छन् ।

साथै नेपालमा अमेरिका र चीनबीचको ‘पावरप्ले’ का कारण भारत ‘साइड सो’ बन्ने खतरामा रहेको पनि शरणले दाबी गरेका छन् । ‘अमेरिकाले नेपाललाई प्रयोग गरेर तिब्बतमा भइरहेका मानवअधिकार हननलगायतका मुद्दा उठाएर चीनलाई कमजोर बनाउन खोजेको पनि बताइएको छ,’ शरणले लेखेका छन् ।

प्रकाशित : पुस १५, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?