२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

प्रधानमन्त्रीले नेताहरूको फोन ट्यापिङ गरे : वर्षमान पुन

काशीराम डाँगी

रोल्पा — नेकपा नेता तथा पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेताहरूको फोन ट्यापिङ र रेकर्डिङ गरेर आफ्ना विरोधीको प्रत्यक्ष जासुसी गरिरहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीले नेताहरूको फोन ट्यापिङ गरे : वर्षमान पुन

संसद् विघटनविरुद्ध लिवाङमा मंगलबार नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा बोल्दै पुनले प्रधानमन्त्री ओली आफूभन्दा फरक विचार राख्नेविरुद्ध गैरकानुनी तवरमै खनिन थालेको बताए । ‘आज सबै नेताको फोन ट्यापिङ हुन्छ, रेकर्डिङ हुन्छ,’ उनले भने, ‘त्यसैले सबै नेताले आफ्नो कन्फिडेन्सियल कुरा फोनमा र मोबाइलमा गर्नुहुन्न ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई रातारात आफ्नो मातहत राखेको, राजस्व अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई नियन्त्रणमा लिएर सम्पत्ति छानबिन गर्दा तर्साउन थालेको आरोप उनले लगाए । ‘रातारात प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान कार्यालय आफ्नो मातहत राख्ने किन ?’ उनले भने, ‘राजस्व अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई आफैं नियन्त्रणमा लिनुभो, फरक विचार राख्नेलाई सताउन थाल्नुभो ।’ ओलीले पार्टीभित्रका साना विवादका कारण यत्रो कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिसको भ्रमण र पूर्वराजासँगको साँठगाँठको चर्चापछि संसद् विघटनको घटना भएको बताए ।

संसद् विघटनको कदम सच्याउन अहिले भइरहेका विरोध कार्यक्रम ‘रिहर्सल’ मात्रै रहेको भन्दै उनले यसपछि कडा कार्यक्रम गर्ने चेतावनी दिए । ‘हामीले संसद् विघटन गर्न नदिन प्रधानमन्त्रीसमक्ष निकै अनुरोध गर्‍यौं तर मान्नुभएन,’ उनले भने, ‘मुलुकलाई दुर्घटनातिर लगेर उहाँले संविधान उल्लंघन गर्नुभयो । अब हामी सडकमा निस्किएको ख्याल नठानियोस् ।’

प्रकाशित : पुस १५, २०७७ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?