कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘प्रतिगामी कदम नसच्याएसम्म संघर्ष’

नेकपा नेताहरुको प्रश्न– संविधानविपरीत संसद् विघटन गरेर मनपरी शासन सञ्चालन गर्ने कस्तो चरित्र हो ?
प्रदेश ब्युरो

काठमाडौँ — संसद् विघटनविरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले मंगलबार सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।विराटनगरमा नेता भीम आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ लगेकाले त्यसलाई नसच्याउञ्जेल संघर्ष जारी रहने बताए ।

‘प्रतिगामी कदम नसच्याएसम्म संघर्ष’

‘प्रतिगमन सच्याएर मुलुक अघि बढिसकेको थियो तर प्रधानमन्त्रीज्यूको असंवैधानिक कदमले मुलुक पुनः प्रतिगमनतर्फ गएको छ,’ उनले भने, ‘यसले अस्थिरता चाहने, प्रतिगामी शक्तिकेन्द्र र कतिपय बाह्य शक्ति खुसी भएको तर स्थिरता चाहने जनता निराश भएका छन् ।’

दाहाल–नेपाल समूहका अर्का नेता शिवकुमार मण्डलले असंवैधानिक कदम नसच्याए र गलत गतिविधि नरोके जनताले सडकबाटै प्रधानमन्त्री ओलीलाई फाल्ने बताए । ‘न्यायालयको अपमान हुने कार्य गर्नेलाई पनि मान्दैनौं,’ उनले भने । प्रदेश २ को जनकपुरको विरोधसभामा नेता रामचन्द्र झा, श्रवण बरबरिया, रत्नेश्वर गोइत, प्रदेश सांसद शत्रुघ्न महतोलगायतले संसद् बहाली नभए अझ कडा संघर्षमा उत्रिने चेतावनी दिए ।

गण्डकी प्रदेशको पोखरामा भएको प्रदर्शनमा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले भारतको उक्साहटमा ओलीले संसद् विघटन गरेको आरोप लगाए । उनले ओलीको राष्ट्रवाद नक्कली भएको बताउँदै भारतको प्रतिनिधि भ्रमण आउँदा चुच्चे नक्सा टेबुलमुनि राखेर पुरानै नक्सा देखाएर वार्ता गर्ने र जनतामा आएर चुच्चे नक्सा देखाउँदै भ्रम छर्ने गरेको आरोप लगाए ।

लमजुङमा नेता देव गुरुङले चुनावको नाममा प्रधानमन्त्री ओलीले संकटकाल लगाउने तयारी गरेको आरोप लगाए । देशलाई बर्बाद पार्ने खेलमा चुनावको नाटक देखाएको उनको टिप्पणी थियो । ‘संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरी ओलीले सर्वसत्तावाद लादेर निरंकुश शासनको सुरुवात गरेका छन्,’ गुरुङले भने ।

बागलुङमा अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले संसद् विघटन गरेर राज्यसत्ताको चरम दुरुपयोग गर्न प्रधानमन्त्री तयार भएको बताए । कामचलाउ भइसकेको सरकारले जथाभावी नियुक्ति गर्ने, भ्रष्टाचारलाई साथ दिने र देशलाई बर्बादीमा धकेलेको आरोप उनले लगाए । पूर्वी नवलपरासीको कावासोतीमा गरिएको प्रदर्शनमा रवीन्द्र अधिकारी, किसन शर्मा, कृष्ण पौडेललगायत नेताले प्रधानमन्त्री ओली सन्किएर संसद् विघटन गरेर राष्ट्रघात गरेको आरोप लगाए । गोरखामा केन्द्रीय सदस्य हरिराज अधिकारीले ओलीको असंवैधानिक कदमविरुद्ध सडकमा आएको बताए । तनहुँको प्रदर्शनमा पीएल श्रेष्ठ, शंकरनारायण श्रेष्ठ, अतिन्द्रकेशरी न्यौपाने, छितिज लामिछानेलगायत नेताहरूले संसद पुनःस्थापना गर्नुपर्ने र सूर्य चिह्न आफ्नो भएको दाबी गरेका थिए ।

लुम्बिनी प्रदेशको बुटवलमा भएको विरोधसभामा स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद् पुनःस्थापना भएरै छाड्ने बताए । ‘बढीमा तीन महिनाभित्रमा संसद् पुनःस्थापना हुनेछ,’ उनले भने, ‘लोकतन्त्रको संरक्षक सर्वोच्च अदालतले लोकतन्त्रमा विवेकपूर्ण निर्णय गर्नेछ ।’ प्रधानमन्त्री ओलीलाई संविधान रक्षाका लागि पठाएकामा उनले तानाशाही तरिकाले संविधानमाथि नै बर्खिलाप गरेको उनले बताए ।

दाङको घोराही चोकमा आयोजित सभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले नेताहरूको बदमासीलाई अब जनताले सहेर नबस्ने बताए । ‘अब तपाईंहरूलाई धुरुधुरु रुने दिन आउँछ, जनताले सडकबाटै नेताहरूको गलत कामको भन्डाफोर गर्नेछन्,’ उनले भने ।

कपिलवस्तु सदरमुकाम तौलिहवामा प्रदेश सचिव जगप्रसाद शर्माले प्रधानमन्त्री ओलीले निरंकुश बन्दै सत्ताकब्जा गर्न खोजेकाले आफूहरू प्रतिवादमा ओर्लिएको बताए । पाल्पाको तानसेनमा आयोजित विरोधसभामा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले असंवैधानिक कदमविरुद्ध सडकमा ओर्लिनुपरेको बताए ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित विरोधसभामा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीमा तानाशाही प्रवृत्ति देखिएको बताइन् । ‘उहाँले सार्वभौम संसद्माथि अलकायदा शैलीमा ‘कु’ गर्नुभयो,’ उनले भनिन् । कालीकोटमा मुख्यमन्त्रीसमेत रहेका नेकपा केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओली कम्युनिस्ट नभएको बताएका छन् । ‘ओली हिजो पनि कम्युनिस्ट थिएनन्,’ उनले भने, ‘आज पनि छैनन् र भोलि पनि कम्युनिस्ट हुनै सक्दैनन् ।’

सल्यानमा विघटित प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेत र कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला सहभागी भए । बस्नेतले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी तानाशाही प्रवृत्ति लाद्न खोजेको आरोप लगाए ।

सुदूरपश्चिमको धनगढीमा आयोजित सभामा भीम रावलले प्रधानमन्त्री ओलीलाई ‘म नै राज्य हुँ’ भन्ने भ्रम पलाएको बताए । ‘पार्टी बैठकका निर्णय नमान्ने, संविधानविपरीत संसद् विघटन गरेर मनपरी शासन सञ्चालन गर्ने कस्तो चरित्र हो ?’ उनले प्रश्न गरे । उखु किसानहरू पैसा नपाएर सडकमा रोइरहेका र कोरोना महामारीले जनता संकटमा परेका बेला चुनावको कुरा अनावश्यक भएको उनले बताए । कञ्चनपुरको महेन्द्रनगरमा रावलले गुटतन्त्रवादको परिणामले आज सबैलाई सडकमा ल्याएको उनको भनाइ थियो ।

प्रकाशित : पुस १५, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?