१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चिनियाँ टोलीका तीन सन्देश

नेपालमा विकसित राजनीतिक अस्थिरता र नेकपामा आएको फुटबारे चिनियाँ अधिकारीको बढ्ता जिज्ञासा
जगदीश्वर पाण्डे

काठमाडौँ — चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारूढ र विपक्षी दलका नेताहरूलाई दिएको छ ।

चिनियाँ टोलीका तीन सन्देश

सत्तारूढ नेकपा विभाजित भएसँगै राष्ट्रपति सी चिनफिङको निर्देशनमा बेइजिङबाट काठमाडौं उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय विशेष टोलीले नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चिन्ता र चासो प्रकट गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा यहाँका राजनीतिक दलहरूसँग सम्बन्ध मजबुत बनाउन भ्रमण गरेको भनिए पनि शीर्ष नेतासँगका सबै भेटमा चिनियाँ अधिकारीहरूले नेपालमा विकसित राजनीतिक अस्थिरता र नेकपामा आएको फुटबारे बढ्ता जिज्ञासा राखेको थियो । आइतबार काठमाडौं उत्रेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका उनीहरूले सोमबार नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, सभामुख अग्नि सापकोटा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि चिनियाँ टोलीको भेटवार्ता टुंगिएको छ ।

चिनियाँ टोलीले नेकपाका दुवै पक्ष (ओली र दाहाल–नेपाल समूह) लाई दुवैलाई फाइदा हुने गरी मिलेर अगाडि बढ्न सुझाव दिएको नेताहरूले कान्तिपुरलाई बताए । नेकपा (दाहाल–नेपाल समूह) का प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार चिनियाँ टोलीको भ्रमणबारे पार्टीको सचिवालय बैठकमा भने हालसम्म छलफल भएको छैन । ‘तर पनि यसलाई हामीले सामान्य सद्भावपूर्ण भ्रमणका रूपमा लिएका छौं । चिनियाँ टोलीको मुख्य चिन्ता नेपालको राजनीतिमा अस्थिरता सिर्जना हुने र राजनीतिक परिस्थिति कता जाने भन्ने नै देखिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘एउटा असल छिमेकीका हिसाबले नेपालको लोकतान्त्रिक उपलब्धि र राजनीतिक स्थिरतामा खलल आउन नपाओस् भन्ने कुरामै उहाँहरूको चिन्ता देखिन्छ ।’

अध्यक्ष दाहालले सोमबार कान्तिपुर टीभीको फायरसाइड कार्यक्रममा चिनियाँ टोलीले ‘नेकपा एक होस् भन्ने चाहना व्यक्त गरेको’ बताएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले चुनाव जितेर ओली नेतृत्वको सरकार बन्नेबित्तिकै उपमन्त्री कुओकै नेतृत्वमा चिनियाँ टोली आएको थियो । उक्त टोलीले त्यति बेला कम्युनिस्ट पार्टीको सरकार बनेकामा शुभकामना दिँदै पार्टी एकतासमेत गरेर जान सुझाव दिएको थियो । अहिले नेकपा नै विभाजन भएपछि उनै उपमन्त्री कुओले नेपाल भ्रमण गरेर अझै पनि एकताको सम्भावनाबारे चासो प्रकट गरेका हुन् ।

नेकपाको ओली समूहले भने यो भ्रमण औपचारिक र नेकपाको आन्तरिक मामिलासँग सम्बन्धित नरहेको बताउँदै आएको छ । ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ टोलीको यो भ्रमणलाई तीन रूपमा हेर्नुपर्ने बताए । ‘पहिलो त, यो चिनियाँ कम्युनिस्ट पार्टीको डेलिगेसन हो र पार्टीगत छलफलहरूमा नेपाल कम्युनिस्ट पार्टीसँग एउटा मित्रतापूर्वक सम्बन्ध भएको नाताले विचार आदान–प्रदान गर्न र विकास निर्माणबारे यहाँको अवस्था बुझ्न आएको होला भन्ने मेरो अनुमान छ,’ उनले कान्तिपुरसित भने, ‘दोस्रो, एक छिमेकी हुनु नाताले चीनले नेपालका घटनाप्रति चासो राखेको छ । छिमेकीले नेपालमा स्थिरता होस्, नेपाल ठीक बाटोमा अघि बढोस् भनेर चासो राख्नुलाई चाहिँ हामीले अन्यथा ठान्नु पनि हुँदैन । सबैतिर दुवै छिमेकीले चासो राख्छन् ।’

ज्ञवालीले यो भ्रमणको तेस्रो पाटोचाहिँ बाहिर आएभन्दा फरक रहेको दाबी गरे । ‘नेकपामा अहिले उत्पन्न समस्या समाधानको प्रयास गर्न चिनियाँ टोली आएको भन्न खोज्नु अतिरञ्जन हो,’ उनले भने, ‘नेकपाको एकता आफैं भएको हो । अरू केही समस्या छन् भने पनि हाम्रो आफ्नै कारणले भएको हो र आफैंले समाधान खोज्ने हो ।’ उनले एउटा मित्र भएको नाताले जानकारी लिन खोज्नु भने अन्यथा नभएको प्रस्ट पारे । ‘तर कतिपय मिडियामा जुन ढंगको चर्चा र परिचर्चा भयो, त्यो सही होइन,’ उनले भने । परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ टोलीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा पछिल्ला वर्षहरूमा नेपाल–चीनबीच बढ्दै गएको सम्बन्धबारे चर्चा गर्दै त्यसलाई थप उचाइमा पुर्‍याउने कुरा भएको दाबी गरे ।

चिनियाँ टोलीको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउन केन्द्रित भएको तर कुनै पनि हस्तक्षेपका लागि नभएको दाबी चीनले गरेको छ । बेइजिङमा सोमबार भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनले काठमाडौं भ्रमण मित्रता तथा सहकार्यका लागि विचार–विमर्श गर्न भएको बताएका थिए । नेपालस्थित चिनियाँ दूतावासले पनि चिनियाँ कम्युनिस्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त नअपनाउने दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय मामिला विज्ञ प्राध्यापक श्रीधर खत्री चिनियाँ टोलीको भ्रमणलाई लिएर दुई कुरा हेर्नुपर्ने मान्छन् । ‘एउटा ट्र्रेन्ड के हो र अर्कोचाहिँ टाइमिङ (समय) के हो ? हेर्नुपर्छ,’ उनले भने, ‘ट्रेन्डको हिसाबले चाहिँ हरेक पटक नेपालमा दलहरूको आन्तरिक मामिला, त्यसमा पनि नेकपामा समस्या आउँदा चिनियाँ राजदूत र चीनबाट विशेष दूतहरू आएर चासो देखाउने गरेको पाइन्छ, टाइमिङचाहिँ जहिले पनि पार्टीभित्र झगडा परेका बेला हुन्छ ।’ उनका अनुसार अन्य दलभित्र समस्या पर्दा चिनियाँहरू आत्तिएर आइहाल्दैनन् । उनले केही समययता नेकपाभित्र राष्ट्रपति सी चिनफिङको विचारलाई नेपालमा प्रचार वा लागू गर्ने वा सिक्ने भन्ने भाषा प्रयोग गरेर कार्यक्रम पनि भएको उल्लेख गरे । ‘यो ट्रेन्ड र टाइमिङका कारणले बाहिर जे भने पनि यो भ्रमणको मुख्य उद्देश्य नेकपा नीति त्यसमाथि पनि नेकपाभित्रकै नीतिमा केन्द्रित भएको देखिन्छ,’ उनले भने ।

प्राध्यापक खत्रीले चिनियाँ टोलीको भ्रमणको भित्री उद्देश्य कुनै पनि नेताहरूले बाहिर नल्याउने प्रस्ट पारे । ‘चीन धेरै परिपक्व कूटनीति अपनाउने देश हो । अरूभन्दा पनि दुई स्टेप अगाडि विचार गर्ने देश हो । यो विषय (नेकपा विवाद) मा चाहिँ चिनियाँ नीतिमा त्यति गहिरो विचार गरेको देखिँदैन,’ उनले भने, ‘नेपालको राजनीतिमा विदेशी हस्तक्षेप गरेर कुनै समयमा एउटा राजनीतिक दललाई फाइदा भए पनि नेपाली जनताबाट प्रतिक्रिया आउँछ,’ उनले भने ।

प्रकाशित : पुस १५, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?