१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ओलीलाई म नै राज्य हुँ भन्‍ने भ्रम छ : भीम रावल

अर्जुन शाह

धनगढी — नेकपा (दहाल–नेपाल) पक्षधर नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘म नै राज्य हुँ’ भन्ने भ्रम पलाएको बताएका छन् । उनले विगतका कठोर निरंकुशताहरुलाई जनताले बडारेर फालेका बेला ५ वर्षका लागि निर्वाचित भएका ओलीलाई आफ्नो निरंकुशता चल्ला भन्ने कस्तो भ्रम पलाएको होला भन्ने प्रश्‍न गरे ।

ओलीलाई म नै राज्य हुँ भन्‍ने भ्रम छ : भीम रावल

धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै मंगलबार रावलले भने,‘पार्टी बैठकका निर्णय नमान्ने, संविधानविपरीत संसद् विघटन गरे मनपरी शासन सञ्चालन गर्ने कस्तो चरित्र हो ? ।’ नेता रावलले केपी ओलीले जनमतमाथि घात गरेको आरोप लगाए । उनले भने, ‘उखु किसानहरु पैसा नपाएर सडकमा रोइरहेका छन्, कोरोना महामारीले जनता संकटमा परेका बेला अनावश्यक चुनावको कुरा गरिएको छ ।’

संसद् विघटन गर्ने बित्तिकै एकजना मन्त्रीले एमसीसी पास हुन्छ भन्नुले ओलीको कस्तो योजना रहेछ भन्ने प्रष्ट भएको रावलको भनाइ थियो । वर्तमान सरकारले कृषि क्षेत्रमा पनि विदेशी लगानीलाई अनुमति दिने कुरा अझ धेरै घातक भएको बताए । सभालाई सम्बोधन गर्दै रावलले भने, ‘कृषि क्षेत्रमा पनि विदेशीहरु आएपछि अब यहाँका किसान दाजुभाइहरुको हालत के हुन्छ सबैले ख्याल गरौं ।’

नेता रावलले ओली सरकारले गर्न खोजेका कतिपय राष्ट्रघाती निर्णहरुको आफूहरुले डटेर विरोध गर्दै निर्णय कार्यान्वयन गर्न नदिएको बताए । होली वाइन प्रकरण, संयुक्त सैन्य अभ्यासको प्रयास, आईफा अवार्ड, तरकारीमा विषादी प्रकरणलगायतमा आफूले कडा प्रतिरोध गरेको उनले बताए । उनले भने, ‘पार्टीको दवाबमा सरकारले कालापानीमा अतिक्रमित भूमिसहितको नयाँ नक्सा प्रकाशन गरेको हो । तर नेपालका सीमा अतिक्रमण सम्बन्धित पुस्तक प्रकाशनमा भने ओलीले रोक लगाएको कुरा सबैले थाहा पाउन जरुरी छ ।’

जनताहरु रोग र भोगबाट ग्रस्त भएकाले प्रधानमन्त्री ओलीले आफ्नो जिल्लामा डेढ अर्बको भ्यूटावर बनाएर, बालुवाटरमा भव्य भवन बनाएर, मन्त्रीहरुका लागि भैंसेपाटीका नयाँ भवनहरु बनाउन खर्च गरेर कस्तो समाजवादउन्मुख व्यवस्थाको सुरुवात गर्न खोजेका हुन् भन्ने प्रश्‍न गरे । उनले प्रधानमन्त्री ओली नै यो देशको सबैभन्दा बढी पदलोलुप भएको आरोप लगाए । नेता रावलले राष्ट्रपति भण्डारी पनि कर्तव्यच्यूत भएको बताउँदै विरोध गरे ।

प्रकाशित : पुस १४, २०७७ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?