कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचारपछि ‘शान्त’ भएको भनिएको मकुनाले फेरि एकको ज्यान लियो

सुनसरी — कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाहिर निस्केको मकुना हात्तीले फेरि अर्का स्थानीय बासिन्दाको ज्यान लिएको छ । मकुनाले कोशी गाउँपालिका–५ श्रीपुर बस्ने २७ वर्षीय मोतीलाल कामतको सोमबार साँझतिर ज्यान लिएपनि शव भने मंगलबार बिहान सोही गाउँपालिकाको वडा ४ कोशीकटान क्षेत्रमा फेला परेका थियो ।

उपचारपछि ‘शान्त’ भएको भनिएको मकुनाले फेरि एकको ज्यान लियो

यसअघि मकुनाले आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा चारवर्षको अवधिमा एक्लैले १८ जनाको ज्यान लिएको र पछिल्लो समयमा गत मंसिर २९ गते बिहान सोही गाउँपालिकाको श्रीपुर बस्ने २८ वर्षीय प्रमोद यादवको ज्यान लिएको थियो । स्थानीय बासिन्दा र पीडित परिवारको दबाबपछि आरक्षको अनुरोधमा मकुनालाई नियन्त्रण गर्न राष्ट्रिय प्राकृतिक संरक्षण कोषबाट वन्यजन्तु चिकित्सक र वन्यजन्तु प्राविधिक आएर व्यवहार अध्ययन गर्दै उपचार गरिरहेका थिए ।

करिब २५ वर्ष उमेरको मकुना हिंस्रक र आक्रमक हुनुमा यौन ‘माद’ (हर्मोन) को मुख्य भूमिका रहेको निष्कर्ष निकाल्दै डार्ट विधि अपनाएर उपचार भइरहेको थियो । करिब दुईसातासम्म लगातार डार्ट विधिबाट पर्फेनाजिन र जोलाजिन औषधि दिइएको थियो । उक्त औषधिले हात्तीको शरीरमा माद उत्पादनमा कमी ल्याउने र शान्त पार्ने कोषका चिकित्सक डा. अमिर सडौलाले बताएका थिए । उनले मकुना शान्त हुन थालेको र नियन्त्रण उन्मुख रहेको बताएका थिए ।

तर उपचाररत अवस्थामै दिउँसै बाहिर निस्केर कामतको ज्यान लिएपछि स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । उपचार पद्धति प्रभावकारी नभएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए । उनले भने, ‘मकुनाले यो पछिल्लो पटकको सहित २० जनाको ज्यान लिएको छ भने उपचाररत अवस्थामै रहँदा पनि दैनिक बस्तीमा छिरेर डेढ दर्जन बढीको घर भत्काइदिएको छ । यसर्थ हाल भइरहेको मकुनाको उपचार पद्धति प्रभावकारी देखिएन । अरु नै उपाय अवलम्बन गर्नुको विकल्प छैन ।’

स्थानीय जनप्रतिनिधि, पिडित परिवार र सरोकारवालाहरुले मकुना लगायत जंगली हात्तीको आतंकबाट दीर्घकालिन मुक्ति चाहेको बताएका छन् । यसै विषयलाई लिएर सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, पीडित परिवार, जनप्रतिनिधि र आरक्ष प्रशासनबीच वार्ता चलिरहेको छ । मकुनालाई के गर्ने भन्ने विषयमा मंगलबार दिउँसोदेखि आरक्ष कार्यालयभित्र सहमतिको प्रयास जारी रहेको प्रजिअ पोखरेलले बताए ।

हात्ती पीडित स्थानीयबासीहरुले मृतकको शव राजमार्गमा राखेर प्रर्दशन गरेका थिए । उनीहरुले दीर्घकालिन समस्या समाधान गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । राजमार्ग अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपीसहित सुरक्षा प्रमुख, गाउँपालिकाका अध्यक्षसहितको टोली आन्दोलनरत स्थानीयबासीसँग छलफल गर्न कोशी कटान क्षेत्रमा पुगेका छन् । यसअघि मकुना बहुलाएको भन्दै मार्ने निर्णय भएको थियो । तर, पछि विरोध भएपछि प्राविधिक टोलीले अध्ययन गर्न आएको छ । उक्त टोलीले मकुना नियन्त्रणमा आउँदै गरेको भनिरहँदा सोमबार पुन: व्यक्तिको हत्या गरेको हो ।

सडक अवरुद्ध गरेर आन्दोलनरत हात्ती पीडित स्थानीयबासीहरुसँग राजमार्ग खुलाउने समझदारी भएको छ । आन्दोलनकारीहरु मृतकको शव लिएर कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयतिर गएका छन् । उनीहरुले आरक्षा कार्यालयअघि धर्ना दिने भएका हुन् ।

सीडीओ, प्रहरी प्रमुख, जनप्रतिनिधिलगायतको रोहबरमा राजमार्ग खुलाउने समझदारी भएको स्थानीय पत्रकार मिखाइल आलमले जानकारी दिए । उनका अनुसार आन्दोलनरत पक्ष शव लिएर आरक्ष कार्यालयतर्फ गएका छन् । राजमार्ग बन्द गर्दा जनताले नै थप दु:ख पाउने, स्थिति तनावपूर्ण हुने भन्ने भएकोले राजमार्ग खुलाउने समझदारी भयो, पत्रकार आलमले भने, शव उठाएर आन्दोलनकारी आरक्षातिर गइरहेका छन् ।

प्रकाशित : पुस १४, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?