ओलीले तीन वर्ष खेर फाले : खनाल 

काठमाडौँ — नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको कार्यकाल खेर फालेको बताएका छन् ।

ओलीले तीन वर्ष खेर फाले : खनाल 

प्रधानमन्त्री ओलीले विश्वलाई चकित पार्ने काम गरेको दाबी गर्ने गरेको तर जनतामा त्यसको प्रभाव नपरेको भन्दै उनले तीन बजेट एवं नीति तथा कार्यक्रम ल्याउँदा पुँजीवादी ल्याएको र त्यसले जनताको दैनिक जीवनमा कुनै प्रभाव नपारेको भन्दै खनालले असन्तुष्टि व्यक्त गरेका हुन् ।

संसद् विघटनको विरुद्धमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै खनालले भने, '३ वर्ष खेर गएको छ । उहाँलाई किन काम गर्न सक्नुभएन भन्दाखेरि उहाँले विश्वलाई चकित पार्ने गरी काम गरराखेको छु, तपाईंहरूमात्रै देख्नुहुन्न भन्नुहुन्थ्यो । धरहरा, रानीपोखरी बनाएको छु भन्नुहुन्थ्यो । तर रानीपोखरी धरहरा त सिकर्मीले बनाएका हुन् ।'

प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था गरिएको कुरा कार्यान्वयन गर्नुपर्नेमा त्यसो नगरेको खनालको भनाइ थियो । 'उहाँले त मुलुकमा समाजवाद स्थापना गर्नतिर जानुपर्थ्यो । उहाँले तुइन विस्थापन गर्नुपर्थ्यो,' खनालले भने, 'तर उहाँले त्यसो गर्नुभएन । उहाँले ३ नीति तथा कार्यक्रम र बजेट ल्याउनुभयो ती पुँजीवादी थिए ।'

निर्वाचनमा नेकपाको विजय भएको तर त्यसलाई प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत जीतका रूपमा व्याख्या गरेको खनालको भनाइ थियो । 'जनताले केपी ओलीलाई भोट थिएन, नेकपाका नेतानहरूलाई दिएको भोट थियो । केपी ओलीमाथि अपार विश्वास गरेर प्रधानमन्त्री बनायौं, त्यसको दुरुपयोग गरेर संसद् विघटन गरिएको छ ।'

आधिकारिक नेकपा आफूहरू भएको भन्दै खनालले सूर्य चिन्‍ह र झन्डा आफूहरूको भएको बताए । उनले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिइएको बताए ।

खनालले भने, 'संविधानमाथि ओलीले विश्वासघात गरेका छन् । संविधानमा प्वाल पारेका छन् । त्यै कुरालाई मानेर जाने हो भने मुलुकमा अस्थिरता हुन्छ । अस्थिरताका प्वाल टाल्नुपर्ने अवस्था छ । त्यसका लागि संसद्‌को पुनःस्थापना अनिवार्य मानेका छौं ।'

पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । त्यसको विरोधमा दाहाल र नेपाल पक्षले सडक प्रदर्शन गरिरहेका छन् । यो पक्षले मंगलबार मुलुकभर प्रदर्शन गरिररहेको छ ।

प्रकाशित : पुस १४, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?