भुक्तानी माग्दै आन्दोलनरत उखु किसानको हृदयघातले निधन

मंगलबार हृदयघातपछि उपचारका क्रममा निधन भएका उखु किसान नारायण राय यादवले अन्नपूर्ण चिनी मिलबाट २४ लाख ६३ हजार रुपैयाँ लिन बाँकी छ ।
राजु चौधरी

काठमाडौँ — उखुको भुक्तानी माग गर्दै काठमाडौंको माइतीरमा आन्दोलनरत सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ । ६४ वर्षीय यादवको मगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार  यादवलाई मंगलबार बिहान छाती दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो ।

भुक्तानी माग्दै आन्दोलनरत उखु किसानको हृदयघातले निधन

मंगलबार बिहान यादवले 'मलाई गाह्रो भयो' भनेर साथीलाई भनेपछि उनलाई अस्पताल लगिएको थियो । हेल्पिङ ह्यान्ड्सका डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालाल अस्पतालममा रिफर गरेका थिए ।

यादवले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो । उखु बेचेको भुक्तानी माग गर्दै उनी पनि माइतीघरमा आन्दोलन गरिरहेका थिए । ४ दिनअघि उनले अन्नपूर्ण मिलबाट १ लाख ६० हजार रुपैयाँ मात्र पाएका थिए । उनले बैंकबाट १८ लाख रुपैयाँ ऋण लिएका छन् । ब्याजसहित उनले बैंकलाई तिर्नुपर्ने रकम करिब २२ लाख पुगेको उनका नातेदार महिन्द्र राय यादवले जानकारी दिए ।

मिश्रका अनुसार आन्दोलनपश्चात उनी बासबस्न जोरपाटी जान्थे । ‘राति एक्कासि हृदयघात भयो,’ मिश्रले भने, ‘दु:खद समाचार सुन्न पर्‍यो ।’

उखु किसानहरु मसिर २८ गतेदेखि आन्दोलन गरिरहेका थिए । आन्दोलन गरेपछि उखु मिलले किस्तामा भुक्तानी गरिरहेको थियो । यादवले पनि अन्नपूर्ण मिलबाट दुई लाख भुक्तानी पाएका थिए । किसानहरु सबै रकम लिएरै मात्रै घर फर्किने बताउँदै आएका थिए ।

संघर्ष समितिले सोमबार सरकारसँग ४ बुँदे सहमति गरेपछि मगलबारदेखि आन्दोलन स्थगित भएको छ । यसअघि सरकारबाट धोका खाएका किसानहरु अहिले पनि रकम पाउनेमा विश्वस्त थिएनन् । ‘सोमबारसम्म आन्दोलनमा सँगै थियौँ । अन्नपूर्णले १ लाख ६० हजार बुझाएको थियो । केही रकम मंगलबार दिने आश्वासन पाएका थियौँ,’ संघर्ष समितिका सचिव हरिश्याम रायले भने, ‘तर, मंगलबार दु:खद घटना भयो ।’

सोमबार सरकारसँग ४ बुँदे सहमति भएपछि यादवले साथीभाइसँग 'अब त पैसा पाइन्न कि क्या हो' भन्दै प्रदेश सभासद केदारनन्दन चौधरीलाई फोन गरेर चिन्ता व्यक्त गरेका थिए ।

उखु किसान संघ नवलपरासीका महासचिव गोपाल यादवले सरकारसँग क्षतिपूर्ति माग्ने र चिनी उद्योगले नारायण राय यादवलाई तिर्न बाँकी रकम तत्काल तिर्नका लागि पहल गरिने बताए ।

प्रकाशित : पुस १४, २०७७ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?