चिनियाँ विशेष टोलीले देउवासँग भन्यो : कांग्रेस हाम्रो असल मित्र हो



काठमाडौँ — नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न आएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार आएको चार सदस्यीय विशेष टोलीले मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।


आइतबार र सोमबार नेकपाका दुवै पक्ष (ओली समूह र दाहाल–नेपाल समूह) लाई भेटेर दुवै समूहलाई फाइदा हुने गरी मिलेर अगाडि बढ्न सुझाव दिएको उक्त चिनियाँ टोली कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेको थियो । छलफलमा देउवाका तर्फबाट नेता नारायण खड्का र देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई सामेल थिए ।
उक्त भेटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले कांग्रेस चीनको असल मित्र रहेको बताएको देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले कान्तिपुरलाई जानकारी दिए । ‘आफू नेपाल आउनु अघि बेइजिङमा राष्ट्रपति सी चिनफिङले तपाईं (देउवा) सँग सन् २०१९ मा नेपाल आउँदा भएको भेटको उल्लेख गर्दै आफ्नो तर्फबाट धन्यवाद दिन लगाउनु भयो,’ भट्टराईले कुओलाई उद्धृत गर्दै भने ।
कुओले नेपालका सबै राजनीतिक दलसँग चीनले असल सम्बन्ध रहेको पनि उल्लेख गरेका थिए । उनले बीपी कोइरालाको सरकारदेखि नै कांग्रेससँग चीनको असल सम्बन्ध रहेको र त्यो अहिले पनि उस्तै रहेको बताएका थिए ।
उक्त टोलीलाई सभापति देउवाले अर्को वर्ष (सन् २०२१) मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पुग्न लागेकोमा बधाई दिएका थिए । जवाफमा कुओले धन्यवाद दिँदै अर्को वर्ष चीनले भव्य कार्यक्रम गर्न लागेको र त्यसमा देउवालाई पनि सामेल हुन निम्तो दिएका थिए ।
नेकपाभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँदै गएपछि चिनियाँ टोली स्थलगत अवस्था बुझ्न नेपाल आएको हो ।
उक्त टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो भने सोमबार पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो ।
देउवासँगको भेटवार्तामा राजदूत होउ आइनन्
सभापति देउवालाई भेटवार्ता गर्नको लागि चिनियाँ राजदूत होउ यान्छी भने आएकी थिइनन् । यसअघि राष्ट्रपति, प्रधानमन्त्री र नेकपाका नेताहरुसँगको भेटवार्तामा उक्त विशेष टोलीसँगै सामेल भएर भेटवार्ताको लागि गएकी राजदूत होउ देउवासँगको भेटवार्ताको लागि भने गएकी थिइनन् ।
प्रकाशित : पुस १४, २०७७ १२:०७