३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रहरी चौकीको माग बढ्दो

चन्द समूहले गतिविधि विस्तार गरिरहेको भन्दै उत्तरी पहाडी भेग र सीमा क्षेत्रबाट धेरै माग, दरबन्दी रिक्त हुँदा प्रहरी चौकी स्थापना गर्न चुनौती
जितेन्द्र साह

विराटनगर — प्रदेश १ का जिल्ला सुरक्षा समितिहरूमा विभिन्न नगर र गाउँबाट प्रहरी चौकी स्थापनाको माग गरिएको निवेदनको ‘चाङ’ लागेको छ । नेत्रविक्रम चन्द समूहले गतिविधि विस्तार गरिरहेको भन्दै उत्तरी पहाडी भेग र सीमा क्षेत्रबाट बढी निवेदन परेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी चौकीको माग बढ्दो

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कविन्द्रकुमार कार्कीका अनुसार विभिन्न जिल्लाबाट चौकी स्थापनाका लागि पछिल्लो समय मात्रै ५३ वटा निवेदन परेका छन् । धनकुटामा ११, सुनसरीमा ८, उदयपुरमा ७, झापा र खोटाङमा ५/५, भोजपुर, तेह्रथुम र संखुवासभामा ४/४, इलाम र पाँचथरमा २/२ र ताप्लेजुङमा एउटा निवेदन दर्ता भएको छ ।

स्थानीयको मागअनुसार सुरक्षा संवेदनशीलता र जनशक्तिको दरबन्दीलाई ध्यानमा राख्दै प्रहरी चौकी स्थापना भइरहेको प्रवक्ता कार्कीले बताए । उनका अनुसार जिल्ला सुरक्षा समितिहरूको निर्णयपछि केन्द्रीय प्रहरी हुँदै गृह मन्त्रालयबाट स्वीकृत भएपछि पछिल्लो दुई वर्षमा १०८ प्रहरी चौकी स्थापना गरिएको छ । ती चौकीहरूमा ७ सय ६७ जनाभन्दा बढी जनशक्ति परिचालित छन् । प्रत्येक युनिटमा कम्तीमा १५ जना जनशक्ति चाहिन्छ । थपिएका युनिटमा १ हजार ६ सय २० जना प्रहरीको आवश्यकता रहे पनि अहिलेलाई मागभन्दा आधा जनशक्तिले काम चलाइएको छ । पछिल्लोपटक माग भएको मध्येमा पनि ओखलढुंगा, सोलुखुम्बु र मोरङमा सम्बोधन भइसकेको छ । थप दरबन्दी नभएकाले तत्काललाई अस्थायी प्रहरी चौकी स्थापना गरी दरबन्दी भएका कार्यालयहरूबाट दुई/चार जना गरेर प्रहरी खटाइने गरिएको कार्कीले बताए ।

मोरङको विकट उत्तरी भेगसहित संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा र पाँचथरमा चन्द समूहको गतिविधिले स्थानीयवासी त्रसित र आजित छन् । दक्षिण सीमा क्षेत्रमा बलात्कार, हत्या, डकैती र तस्करीले हैरानी छ । ती स्थानमा उल्लेखनीय संख्यामा प्रहरी चौकीको माग भएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए । ‘उपलब्ध जनशक्तिको अधिकतम प्रयोग गर्दै आवश्यकता हेरेर क्रमशः प्रहरी चौकी राख्दै छौं,’ उनले भने, ‘मोरङकै विकट पहाडी क्षेत्रमा निवेदन दिनलाई नजिकैको प्रहरी चौकीसम्म पुग्न घण्टौं हिँड्नुपर्ने पीडादायी स्थिति थियो ।’

मुख्य एवं सहायक राजमार्गको विस्तारसँगै प्रदेश १ मा थपिएका ६९ अस्थायी ट्राफिक प्रहरी चौकीमा १६७ जनाभन्दा बढी जनशक्ति खटिएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश १ का १४ जिल्लामा ११ हजार ४ सय १७ प्रहरी दरबन्दीमध्ये विभिन्न कारणले १० प्रतिशत अर्थात् १ हजार १ सय ६२ दरबन्दी रिक्त छ ।

प्रकाशित : पुस १४, २०७७ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?