कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चिनियाँ प्रतिनिधिको नेपाल भ्रमण मित्रता गहन पार्न : चीन

लक्ष्मी लम्साल

बेइजिङ — चीनले जारी चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डलको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित भएको तर कुनै हस्तक्षेपका लागि नभएको स्पष्ट पारेको छ ।

चिनियाँ प्रतिनिधिको नेपाल भ्रमण मित्रता गहन पार्न : चीन

नेपालको सबैभन्दा ठूलो सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न संघर्षका कारण संसद विघटन भई राजनीतिक संकट उत्पन्न भएका बेला चीनले आफ्ना पार्टी नेताहरूको काठमाडौं अवतरण मित्रता तथा सहकार्यका विषयमा विचार विमर्शका लागि भएको बताएको हो । सोमबार बेइजिङमा भएको परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता चाओ ली च्येनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’

बेइजिङमा रहेका भारतीय पत्रकारले सीपीसी केन्द्रिय समिति अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सहितको नेपाल भ्रमणको उद्देश्य के हो भनेर जिज्ञासा राख्दा परराष्ट्र प्रवक्ता चाओले राजनीतिक विश्वास तथा व्यवहारिक सहयोग प्रवर्द्धन गर्नु र दुई देशबीचको परम्परागत मित्रतालाई मजबुत बनाउनु नै भ्रमणको लक्ष्य रहेको बताए । उनले भने, ‘आपसी साझा चासोका सवालहरू महामारी रोकथाम तथा नियन्त्रणका, सुशासन र सहकार्य तथा विकास जस्ता विषयमा विचार आदानप्रदान गर्नका लागि चिनियाँ टोलीले नेपालको भ्रमण गरेको हो ।’

चीन र नेपाल असल छिमेकी, सच्चा साथी र राम्रा साझेदार भएको बताउँदै उनले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका मुख्य पार्टीहरूसँग घनिष्टता कायम राखेर मैत्रीपूर्ण आदानप्रदान गरिरहेको बताए । उनले यो सम्बन्धले आपसी राजनीतिक विश्वास बढाउन, सरकार सरकारबीचको मित्रतालाई गहन पार्न, सरकारहरूबीच व्यावहारिक सहयोग प्रवर्द्धन गर्न र दुई देशबीचको परम्परागत मित्रतालाई मजबुत बनाउन सघाएको पनि सुनाए ।

प्रवक्ता चाओले चिनियाँ कम्युनिस्ट पार्टीले सबै प्रमुख राजनीतिक दलहरूसँग समान र मैत्रीपूर्ण सम्बन्ध कायम राखेको बताउँदै नेपाली राजनीतिक दलहरूसँग नेपाल चीन रणनीतिक तथा सहकार्यमूलक साझेदारीमा केन्द्रित विकास निर्माणका सवालमा दुवै देशका जनताको फाइदाका लागि काम गर्न इच्छुक रहेको बताए ।

प्रकाशित : पुस १३, २०७७ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?