कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राष्ट्रपतिले संविधान पालना गराउने र संरक्षण गर्ने जिम्मेवारी पूरा गर्नुभएन : नेता सिंह 

'आफ्नो नेतृत्वमा जारी गरेको संविधान मृतप्रायः बनेको हामी चुप लागेर टुलुटुलु हेरेर बस्दैनौं ।'

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले असंवैधानिक रूपमा सरकारले अगाडि सारेको प्रतिनिधिसभा विघटनको प्रस्ताव स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको पालना र संरक्षण गराउने भूमिका पूरा गर्नबाट चुकेको बताएका छन् । 

राष्ट्रपतिले संविधान पालना गराउने र संरक्षण गर्ने जिम्मेवारी पूरा गर्नुभएन : नेता सिंह 

संसद् विघटनको विरुद्धमा काठमाडौं क्षेत्र नम्बर १ मा आयोजना गरिएको खबरदारी सभामा बोल्दै सिंहले संविधानले दिएको जिम्मेवारी पूरा गर्नबाट राष्ट्रपति भण्डारी चुकेको बताएका हुन् । 'राष्ट्रपतिले पनि मुख्य कर्तव्य नेपालको संविधान पालना गराउने र संरक्षण गर्ने जिम्मेवारी पूरा नगरी संसद विघटनलाई स्वीकृति दिनुभयो,' उनले भने, 'राष्ट्रपतिले गरिमा र कर्तव्य पूरा नगरेको यसबाट ठहरिन्छ ।'

प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेसले आफ्नो नेतृत्वमा बनेको संविधान मृतप्राय बनिरहेको हेरेर बस्न नहुने नेता सिंहको भनाइ छ । 'यो कदम सच्याउनुपर्छ । आफ्नो नेतृत्वमा जारी गरेको संविधान मृतप्रायः बनेको हामी टुलुटुलु हेरेर, चुप लागेर बस्दैनौं ।'

प्रधानमन्त्री ओलीले संवैधानिक कू गरेको भन्दै अब कांग्रेस चुप लागेर नबस्ने पनि सिंहको भनाइ थियो । 'विगतमा जस्तै मूल्य र मान्यताको राजनिति, विधिको शासनको लागि संघर्ष गरेको हुनाले आगामी दिनमा विधिसम्मत राज्य संयन्त्र चल्ने कुरामा जोड दिनुपर्छ,' उनले भने ।

मुलुकलाई सही दिशा दिनका लागि पार्टीले मुलुकभर आन्दोलन गर्नुपर्ने र संसद पुनर्स्थापनाको मागलाई अरु दलहरूसँग मिलेर अगाडि बढाउनुपर्ने सिंहले बताए । जनताले दिएको प्रतिपक्षीको भूमिकामा कांग्रेसले आफूलाई अगाडि बढाउनुपर्ने पार्टी नेतृत्वलाई उनको सुझाव थियो ।

संसद्‌बाट अर्को प्रधानमन्त्री निर्वाचित हुने संवैधानिक व्यवस्था रहेकाले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन संविधानको व्यवस्था विपरीत रहेको सिंहको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले दुई तिहाईको सरकार चलाएको भनेर 'हुइँया' चलाएको तर आफ्नै पार्टीको विश्वास लिन नसकेपछि संसद विघटन गरेको सिंहले बताए । प्रधानमन्त्री ओलीले विगतमा निर्वाचनका बेला आफूजस्तो राष्ट्रवादी कोही नभएको भन्ने भाषण गरेको स्मरण गर्दै नेता सिंहले अहिले नेकपाभित्र के भइरहेको छ भनेर हेर्न पार्टी कार्यकर्ताहरूलाई सुझाव दिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसयता सत्तारुढ दल दुई खेमामा विभाजन भएको छ । प्रधानमन्त्री ओली पक्ष वैशाखमा घोषणा गरिएको मध्यावधी निर्वाचनको पक्षमा लागेको छ भने पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष संसद विघटनको विपक्षमा रहेको छ ।

प्रतिपक्षी कांग्रेसले सोमबार सबै निर्वाचन क्षेत्रमा संसद विघटनको विरोध गर्न कार्यक्रम आयोजना गरिरहेको छ । कांग्रेसभित्र संसद् पुनर्स्थापनाको पक्षमा लाग्ने कि निर्वाचनमा जाने भन्नेमा विवाद छ । सभापति शेरबहादुर देउवा पक्ष ओली सरकारले गरेको संसद् विघटनपछि मध्यावधि निर्वाचनमा जानुपर्ने र संसद् पुनर्स्थापनाको माग अगाडि सार्न नहुने भनिरहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संसद् पुन:स्थापनाका लागि आन्दोलन गर्नुपर्ने भनिरहेको छ ।

प्रकाशित : पुस १३, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?