सडकबाटै कांग्रेसले मुलुकलाई राजनीतिक निकास दिन्छ : नेता कोइराला

देवनारायण साह

मोरङ — कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सडकबाटै कांग्रेसले मुलुकलाई राजनीतिक निकास दिने बताएका छन् ।

सडकबाटै कांग्रेसले मुलुकलाई राजनीतिक निकास दिन्छ : नेता कोइराला

संवैधानिक व्यवस्था विपरित संसद् विघटनविरुद्ध कांग्रेसले विराटनगरमा सोमबार आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक ‘कू’ नसचिञ्जेल कांग्रेस सडक संघर्ष गरिरहने बताएका हुन् ।

‘सर्वोच्चले निर्वाचनमा जाने निर्णय गरेपछि पनि निर्वाचनको सूनिश्चितताका लागि सडक संघर्ष गरिरहनुपर्छ,’ उनले भने, ‘अधिनायकवादी ओली नेतृत्वको सरकारले सर्वोच्चको फैसलाले पनि निर्वाचनमा जाल जस्तो लाग्दैन त्यसैले संघर्ष जारी राख्नु पर्छ ।’

राष्ट्रियता मजबुत, लोकतन्त्र जोगाउन र संविधानको संरक्षणको जिम्मेवारी अहिले कांग्रेसको काँधमा आएको कोइरालाको भनाइ थियो । ‘कांग्रेस आफ्नो दायित्व र जिम्मेवारीबाट भाग्न मिल्दैन र भाग्दैन,’ उनले भने, ‘अहिलेको सरकारमा गएर कांग्रेसाई केपी ओलीको मतियार बन्नु हुँदैन र त्यसका लागि खबरदारी गरिरहन्छौं र कांग्रेसलाई यो सरकारमा जान दिदैनौं ।’

मुलुकमा विद्यमान अवस्था निम्तिनुमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि दोषी रहेको कोइरालाको भनाइ थियो । ‘केपी ओलीलाई अधिनायकवादी बनाउनुमा दाहाल–नेपाल दुवैको भूमिका महत्वपूर्ण थियो,’ उनले भने, ‘संसद्‌मा ल्याएको विधेयकमा दाहाल–नेपालले सघाएकै कारण मुलुक अधिनायकवादतर्फ लागेको हो ।’

ओली नेतृत्वको सरकारले गरेको यतिधेरै भ्रष्टाचारमा दाहाल–नेपालले कहिल्यै विरोध नगरेर मतियार बनेको कोइरालाको आरोप थियो । ‘त्यसैले कांग्रेस कसैसँग सहकार्य गरेर नभई आफ्नै आत्मबलले मुलुकलाई निकास दिन सक्षम छ र दिन्छ,’ उनले भने, ‘बीपी कोइरालाले कम्युनिष्टसँग कहिल्यै सहकार्य नगर्नु भनेको कांग्रेसले सम्झिनु पर्ने बेला हो ।’

सभामा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, कांग्रेस केन्द्रिय सदस्य डीला संग्रौला, प्रदेश १ का कांग्रेसका प्रमुख सचेतक केदार कार्की, प्रदेशसभा सदस्य चुमनारायण तबदारलगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए । वीरेन्द्रसभाबाट सुरु भएको विरोध जुलुस जनआन्दोलन चोकमा गएर सभामा परिणत भएको थियो ।

प्रकाशित : पुस १३, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?