१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पार्टी कार्यालय कब्जा गर्न हानथाप

ओली समूहको तालाबन्दीपछि कञ्चनपुरमा झडप, बझाङमा पनि ओली समूहको ताला, म्याग्दी र सिन्धुलीमा तत्काल पार्टी कार्यालय प्रयोग नगर्ने सहमति
प्रदेश ब्युरो

काठमाडौँ — सत्तारूढ नेकपा दुई समूहमा बाँडिएसँगै जिल्लाहरूमा पार्टी कार्यालय कसले प्रयोग गर्ने भन्नेमा विवाद बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै समूहले आफ्नो दाबी गर्दै केही जिल्लामा पार्टी कार्यालयमा ताला लगाएर कब्जामा लिएका छन् ।

पार्टी कार्यालय कब्जा गर्न हानथाप

कतै झडपको स्थितिसमेत बन्न थालेको छ । केही जिल्लामा भने पार्टीबारे निर्वाचन आयोगबाट आधिकारिक टुंगो नलाग्दासम्म प्रयोग नगर्ने दुवै समूहबीच सहमति भएको छ ।

कञ्चनपुरमा आइतबार नेकपा पार्टी कार्यालय प्रयोग गर्ने विषयमा ओली र दाहाल–नेपाल समूहबीच विवाद हुँदा झडपको स्थिति बन्यो । आइतबार महेन्द्रनगरस्थित कार्यालयमा दाहाल–नेपाल समूहले जिल्ला कमिटीको विस्तारित बैठक आह्वान गरेको थियो । तर कार्यालयको गेटमै ओली समूहले बिहानै ताला लगाएपछि विवाद बढेको थियो । दाहाल–नेपाल समूहले गेटको ताला तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो ।

कार्यालयको ताला बैठक नगर्ने सहमतिमा खोलिएको छ । ‘हामीले कुनै गुट वा समूहको भेला नभई पार्टीको विस्तारित बैठकका लागि सबैलाई बोलाएका थियौं,’ नेकपाका जिल्ला सचिव तारा लामा तामाङले भने, ‘एउटा समूहले कार्यक्रम गर्न नपाइने भन्दै ताला लगायो, अबदेखि समन्वयमा यस्ता कार्यक्रम गरिनेछन् ।’ झडपपछि बैठकसमेत स्थगित गरिएको उनले बताए । ‘नेकपाभित्र विवाद देखिएको छ, आधिकारिक कुन हो टुंगो लागेको छैन,’ ओली समूहनिकट विद्यार्थी नेता कमल रोकायाले भने, ‘यस्तो अवस्थामा मदन–आश्रित भवनमा समूह र गुटका भेला गर्न पाइँदैन ।’

पार्टी केन्द्रमा विवादका कारण अहिले स्थानीयस्तरमा जनप्रतिनिधिदेखि कार्यकर्तासम्म विभाजित भएका छन् । जनप्रतिनिधिहरू स्थानीय तहको कामकाज छाडेर समूहका बैठक र भेलाहरूमा सहभागी हुन थालेका छन् । केही दिनयता स्थानीय तहका प्रमुख, उपप्रमुखहरू कार्यालय आउनै छाडेका छन् । दाहाल–नेपाल समूहले गुट भेला गर्न लागेको भन्दै बझाङमा पनि ओली समूहनिकट कार्यकर्ताले पार्टी कार्यालयमा आइतबार तालाबन्दी गरेका छन् । ‘टुटफुटका गतिविधिमा पार्टी कार्यालय प्रयोग हुन थालेपछि तालाबन्दी गरेका हौं,’ अनेरास्ववियू बझाङका संयोजक प्रवीन्द्र धामीले भने, ‘पार्टीको विवाद निर्वाचन आयोगमा पुगेको र कुन पार्टी आधिकारिक हो भन्ने फैसला नआएको सन्दर्भमा कुनै एक पक्षबाट कार्यालयको दुरुपयोग हुन नदिन यसो गरेका हौं ।’ उनले पार्टीको आधिकारिकतासम्बन्धी अन्तिम टुंगो नलागेसम्म ताला नखोलिने बताए ।

सोमबार बस्ने भनिएको दाहाल–नेपाल समूहको जिल्ला कमिटी बैठकमा सहभागी हुन केन्द्रीय नेताहरूसमेत आउँदै छन् । पार्टी कार्यालयमा ताला लगाइए पनि बैठक नरोकिने नेकपा बझाङका सचिव दमन भण्डारीले बताए । म्याग्दी र सिन्धुलीमा भने पार्टीको आधिकारिकता विवाद नटुंगिएसम्म दुवै समूहले कार्यालय प्रयोग नगर्ने सहमति गरेका छन् । सहमतिपछि म्याग्दीको बेनी नगरपालिका–२ हाँडेभीरस्थित जिल्ला पार्टी कार्यालयमा आइतबार बोलाइएको दाहाल–नेपाल समूहको कार्यकर्ता भेला वीरेन्द्रचोकस्थित भूपू सैनिक कल्याणकारी बचत तथा ऋण सहकारीको सभाहलमा गरिएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल–नेपाल समूहले पार्टी कार्यालयमै कार्यकर्ता भेला गरेर विरोध जुलुस निकालेको थियो । दुवै समूहबीच पार्टी कार्यालय उपभोग गर्ने विषयमा तनावको स्थिति आएपछि जिल्ला सचिव एवं हालसम्म तटस्थ बताउँदै आएका हरिकृष्ण श्रेष्ठले तत्काल दुवै समूहलाई कार्यालय उपयोग नगर्न सहमत गराएका हुन् ।

सिन्धुलीमा पार्टी र चिह्नको आधिकारिकता टुंगो नलागेसम्म कार्यालय भवन नखोल्ने सहमति भएको दाहाल–नेपाल समूहका नेता लेखनाथ दाहालले बताए ।

प्रकाशित : पुस १३, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?