कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छाउगोठ भत्काउने अभियान फेरि

मेनुका ढुंगाना

अछाम — कोरोना महामारीका कारण रोकिएको छाउगोठ भत्काउने अभियान अछाममा फेरि सुरु भएको छ । गत वर्ष पुसमा सुरु भएको अभियान चैतमा स्थगित भएको थियो । दोस्रो चरणको अभियानमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरू नै गाउँगाउँ पुग्न थालेका छन् ।

छाउगोठ भत्काउने अभियान फेरि

शनिबार प्रजिअको टोली जिल्लाको विकट मानिने चौरपाटी गाउँपालिका–२ को सोकट गाउँ मानेगड पुग्यो । छाउगोठहरू पुनर्निर्माण हुन थालेको सूचनाका आधारमा टोली सोकट पुगेको हो । अनुगमनका क्रममा टोलीले साँघुरो एक छाउगोठमा ४/५ जना महिला एकैसाथ बस्ने गरेको सूचना पायो । पुनर्निर्माण भएको गोठ प्रहरीले भत्काउन सुरु गर्दा महिलाले एकसाथ छाउगोठ नभत्काउन टोलीसँग अनुरोध गरेका थिए ।

गत वर्ष नै गृह मन्त्रालयको निर्देशनमा छाउगोठ भत्काउने, सचेतना फैलाउने र अटेर गरे कानुनी कारबाही गर्ने निर्देशन पाएको प्रहरीले अन्ततः उक्त गोठ भत्काइछाड्यो । ‘छाउगोठमा बस्नु हुँदैन भन्ने त थाहा थियो तर देउताकै कारणले बाहिर बस्न बाध्य छौं । सासूससुराले पनि घरमा बस्न दिँदैनन्,’ स्थानीय तुली नेपालीले भनिन्, ‘घरमा नबसे प्रहरीले कारबाही गर्ने भएपछि अब बस्नैपर्‍यो । सीडीओ नै आएपछि घरमै बस्नुपर्छ भन्ने लागेको छ ।’

प्रजिअ गोकर्णप्रसाद उपाध्याय र प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापालगायतको टोली सोकट पुगेपछि छाउगोठ भत्काउने अभियानमा स्थानीयले कतै अवरोध गरे, कतै साथ दिए । स्थानीयसँग टोलीले छाउपडीलाई घरमा राख्न आग्रह गरे । स्थानीयका समस्याबारे पनि जानकारी लिए ।

‘छाउपडी कुप्रथा हो भन्ने सबैलाई थाहा छ । असुरक्षित रूपमा बस्दा ज्यान जान्छ भन्ने पनि थाहा छ तर देउताकै कारणले गोठ र ओडारमा महिनावारी हुँदा बस्छन्,’ स्थानीय दुर्गा साउदले भनिन्, ‘छाउ बार्नेलाई कारबाही गर्ने थाहा पाएपछि सबै डराएका छन् । सबैका गोठ भत्किए । धेरैले घरमा बस्न सुरु गरेका छन् ।’

अछामको सोकटमा शनिबार छाउगोठ भत्काउँदै सुरक्षा निकायलगायतको टोली । तस्बिर : मेनुका ढुंगाना/कान्तिपुर

जनचेतना मात्रैले छाउगोठमा बस्ने क्रम नरोकिने साउदले बताइन् । ‘विभिन्नखालका चेतनामूलक कार्यक्रम त पहिले पनि भएका हुन् । घरमा बस्छु भनेकै भरमा धेरै स्थानीय तह छाउपडी गोठमुक्त घोषणासमेत भए,’ उनले भनिन्, ‘कार्यक्रममा बस्दासम्म छाउ नबार्ने भन्दै घोषणा गर्नेहरू घरमा गएर गोठमा बसाउँछन् । बसाउन बाध्य पार्छन् । कानुनअनुसार कारबाही अघि बढाए सबै घरमा बस्न र बसाउन बाध्य हुनेछन् ।’

अछाममा छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरेको ७ दिनमा २ सय ४४ छाउगोठ भत्काइएका छन् । जिल्लाका तुर्माखाँद, ढकारी, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिका तथा पञ्चदेवल विनायक नगरपालिका, साँफेबगर नगरपालिकामा अभियान सुरु भएको हो । अन्य स्थानीय तहमा छिट्टै अभियान सुरु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

२०७६ मंसिर १५ गते राति साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउ बार्न गोठमा बसेका बेला मृत्यु भएपछि गृह मन्त्रालयको निर्देशन र प्रहरीको नेतृत्वमा गोठ भत्काउन फेरि सुरु गरेको डीएसपी थापाले बताए । स्थानीय स्तरमा पटकपटक छलफल गर्दा र कानुनबारे जानकारी दिँदा पनि छाउगोठमा मृत्यु हुने क्रम नरोकिएपछि प्रहरी र प्रशासनले नेतृत्व लिनुपरेको उनको भनाइ छ ।

‘१० वटै स्थानीय तहका प्रमुखलगायत सरोकारवालासँग फेरि सर्वदलीय बैठक गर्छौं,’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, ‘अटेर गर्नेलाई कारबाही गर्ने र सेवासुविधा रोक्न सक्ने अवस्था पनि आउने देखिन्छ ।’ उनका अनुसार अब जिल्ला प्रशासन कार्यालयबाट जुनसुकै सेवा लिन आउँदा छाउगोठ भए/नभएको अथवा भत्काइएको अवस्थाबारे वडा कार्यालयबाटै सिफारिस ल्याउनुपर्नेछ ।

प्रकाशित : पुस १३, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?