चिनियाँ विशेष टोली राजनीतिक भेटघाटमा

काठमाडौँ — सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादले विभाजित भएपछि आकस्मिक रूपमा आइतबार काठमाडौं आएको चीनको विशेष प्रतिनिधिमण्डलले साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

चिनियाँ विशेष टोली राजनीतिक भेटघाटमा

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली एयर चाइनाको चार्टर विमानबाट काठमाडौं उत्रनासाथ चिनियाँ दूतावासमा राजदूत हाउ यान्छीबाट वस्तुस्थितिको ‘ब्रिफिङ’ लिएर शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई भेट गर्न पुगेको थियो । ‘झन्डै आधा घण्टा लामो भेटवार्ताको विषयवस्तुबारे जानकारी गराइएको छैन,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘यो उच्च प्रतिनिधिमण्डल आउनेबारे गत साता नै चिनियाँ राजदूत यान्छीले अवगत गराइसक्नुभएको थियो ।’

राष्ट्रपतिसँगको छलफललगत्तै प्रतिनिधिमण्डल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थियो । ओली र चिनियाँ विशेष टोलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत जनाएका छन् । दुवै भेटमा राजदूत यान्छी पनि सँगै थिइन् । भ्रमणमा आएका विशिष्ट अधिकारीलाई उनीहरूकै चाहनाबमोजिम ओहदाअनुसारको एस्कर्टिङ र अंगरक्षक उपलब्ध गराइएको थिएन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ दूतावासले पत्र लेख्दै ‘प्रोटोकलसहितको सुरक्षा’ दूतावास स्वयंले व्यवस्था गर्ने जानकारी गराएको थियो । विमानस्थलमा उत्रँदासमेत स्वास्थ्य सुरक्षाको सतर्कतासहित चिनियाँ नेताहरू पीपीई ड्रेस लगाएरै आएका थिए । उनीहरूलाई लिन राजदूत यान्छी विमानस्थल पुगेकी थिइन् । स्वागतका लागि परराष्ट्रका अधिकारी र नेकपाका नेताहरू कोही पनि उपस्थित थिएनन् । यान्छीले गत साता नै राष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाललगायतलाई भेटेर समसामयिक राजनीतिक वस्तुस्थितिबारे सरोकार राखेकी थिइन् । यसअघि पनि आन्तरिक विवाद र सत्ता बाँडफाँटको द्वन्द्वले नेकपा विभाजनको मुखमा पुग्न लाग्दा चिनियाँ राजदूत यान्छीले शीर्ष नेताहरूकहाँ गरेको ‘घरदैलो’ को कूटनीतिक वृत्तमा आलोचना हुँदै आएको छ ।

नेकपा दाहाल–नेपाल समूहका विदेश विभाग उपप्रमुख उपनेता विष्णु रिजालले ‘राजदूत यान्छीले चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीको भ्रमणबारे जानकारी गराउँदै भेटघाटका लागि वरिष्ठ नेताहरूको समय लिइसकेको’ जनाएका छन् । स्रोतका अनुसार प्रतिनिधिमण्डलले सोमबार नेता नेपाल तथा दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछ । चारदिने भ्रमणमा आएको टोलीले विभाजित नेकपाका दुवै घटकसँग भेटवार्ता गरेर एकता र सहकार्यका पहल गर्दै चिनियाँ सरोकार राख्ने जनाइएको छ ।

यसअघि, उपमन्त्री येचौ तत्कालीन एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएलगत्तै २०७४ फागुन पहिलो साता चीन सरकारका तर्फबाट बधाई ज्ञापन गर्न काठमाडौं उत्रिएका थिए । उपमन्त्री येचौलाई नेकपा गठबन्धन बनाउन पहल गर्ने ‘बाहिरी सूत्रधार’ समेत मानिने गरिएको छ । नेपालमा कम्युनिस्ट पार्टीहरूको एकताका पक्षमा देखिने गरी भूमिका निभाउँदै आएको चीनले यस पटक पनि विभाजित भइसकेको नेकपाका दुई घटकलाई पुनः एक गराउन यो हतारको ‘परामर्श भ्रमण’ गरेको आकलन छ । एकता र सहकार्यका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आएको ठानिएको यो टोलीको कम्युनिस्ट पार्टीबाहेकका प्रतिपक्षी र अरू दलका प्रतिनिधिसँग भेटघाट हुनेबारे खुलाइएको छैन ।

चीनका लागि पूर्वराजदूत डा. महेश मास्केका बुझाइमा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च पदाधिकारी तहमा भएको यो भ्रमण आफैंमा ‘अर्थपूर्ण’ छ । ‘तर, यो प्रतिनिधिमण्डल कसको निमन्त्रणामा काठमाडौं आएको हो, खुलेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘काठमाडौं उत्रनासाथ राष्ट्रपति र प्रधानमन्त्री तहमा भेटवार्ता भएकाले सरकारी निम्तो वा स्वीकृतिमै भ्रमण भएको देखिन्छ ।’

मास्केका अनुसार सोमबारपछिका दिनमा यो विशिष्ट टोलीले गर्ने भेटघाटका आधारमा यो ‘हतारको भ्रमण’ को अर्थ र कारण प्रस्टिनेछ । नेपालमा राजनीतिक अस्थिरता र पार्टीगत विभाजन देखिएसँगै उत्तर र दक्षिणका दुवै छिमेकीको भूराजनीतिक चासो देखिने गरेको छ । चीनले आफ्नो तिब्बत भूमिसहितको सुरक्षा चासो र नेपालमा राजनीतिक स्थिरताका पक्षमा देखिने गरी सरोकार राख्दै आएको छ ।

प्रकाशित : पुस १३, २०७७ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?