पूर्वी नवलपरासीमा दाहाल-नेपाल भेला : वडा तहसम्म आन्दोलन गर्ने निर्णय- समाचार - कान्तिपुर समाचार

पूर्वी नवलपरासीमा दाहाल-नेपाल भेला : वडा तहसम्म आन्दोलन गर्ने निर्णय

नारायण शर्मा

नवलपरासी — नेकपा दाहाल-नेपाल पक्षका अगुवा कार्यकर्ताको भेला आइतबार डण्डामा सम्पन्न भएको छ । भेलामा केन्द्रीय सदस्यद्वय किसन शर्मा, रविन्द्र अधिकारी र कृष्ण पौडेलले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । उनीहरुले प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन असंवैधानिक रहेको र त्यसविरुद्ध सडक संघर्ष गर्दै जान कार्यकर्तालाई निर्देशन दिए । 

संसद् विघटनविरुद्ध अदालतमा मुद्दा परिसकेकोले संसद् पुन:स्थापना हुने भन्दै कार्यकर्तालाई आश्वासन दिएका थिए । भेलामा जिल्लाका २ सयभन्दा बढी अगुवा कार्यकर्ताको भेला भएका थिए ।

पुस १४ देखि ३० गतेसम्म संघर्षका कार्यक्रम गर्ने र त्यसलाई वडा तहसम्म लैजाने निर्णय भएको कार्यक्रममा सहभागी गोपी कँडेलले जानकारी दिए । पार्टी विभाजनपछि जिल्लाका अधिकांश नेताहरु नेकपा दाहाल-नेपाल समूहमा देखिएका छन् ।

प्रकाशित : पुस १२, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्

ओली पक्षले एउटा वडा पनि जित्‍ने सम्भावना छैन : पौडेल

दीपक परियार

पोखरा — नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले चुनाव गर्ने नियतसहित प्रधानमन्त्रीले संसद विघटन नगरेको आरोप लगाएका छन् । नेकपा कास्कीको दाहाल–नेपाल पक्षले आइतबार पोखरामा गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले उक्त कुरा बताएका हुन् । 

‘प्रतिनिधिसभा रह्यो भने आफ्ना वरिपरिका मान्छेको सपना, राजनीतिक अभिष्ट पूरा नहुने देखेर संसद विघटन भएकोले यसको विरोध गर्नुपरेको हो,’ उनले भने, ‘हामी चुनावमा जाने अवस्था आयो भने ओली पक्षले एउटा वडा पनि जित्ने सम्भावना रहँदैन ।’ प्रधानमन्त्री केपी ओलीले पञ्चायतकालका अञ्चलाधीशले जसरी पार्टी चलाउन खोजेकाले दाहाल–नेपाल एक ठाउँ उभिएको उनको भनाइ थियो ।

आफ्ना कर्तुत जोगाउन ओलीले यसअघि २० जनाभन्दा बढीलाई अध्यक्षको प्रस्ताव गरेको पौडेलले दाबी गरे । ‘वामदेवजीलाई दिएको पद संग्रह गर्ने हो भने थुप्रो बन्छ,’ उनले भने, ‘अहिले झन् पूर्वमाओवादीले नाममात्रै टिपाउने हो भने मन्त्री बन्ने अवस्था आयो ।’

स्वास्थ्यलाई कारण देखाएर लामो समय सिंहदरबार नगएका प्रधानमन्त्रीले गुटबन्दीमा भने राति १२ बजेसम्म बिताउने गरेको आरोप पौडेलले लगाए । सरकारका राम्रा काममा समर्थन गरे पनि सुशासनको क्षेत्रमा निकै कमजोर भएको उनले बताए । भने, ‘नक्सा ल्याउने बाहेक जनताको अगाडि छाती ठोकेर हाम्रो सरकारले यो–यो काम गर्‍यो भन्न सक्ने अवस्था थिएन ।’

प्रशिक्षणमा केन्द्रीय सदस्य एवं नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङ, केन्द्रीय सदस्य एवं कास्की सह–इन्चार्ज चुडामणि जंगली, केन्द्रीय सदस्य सीता गिरी ओली लगायतले बोलेका थिए ।




प्रकाशित : पुस १२, २०७७ १६:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×