ओलीबाट सत्ता झर्ला भनेर कांग्रेसले आस नगरे हुन्छ : भट्टराई- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीबाट सत्ता झर्ला भनेर कांग्रेसले आस नगरे हुन्छ : भट्टराई

‘संवैधानिक व्यवस्थामाथि ओलीले खड्ग प्रहार गरेका छन् । गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउन घोषणा गरेका होइनन् ।’
जयसिंह महरा

काठमाडौँ — जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष नेता बाबुराम भट्टराईले केपी ओलीले घोषणा गरेको चुनाव हुने र आफू ठूलो दल हुने आस नगर्न कांग्रेसलाई सुझाएका छन् ।

संसद् विघटनविरुद्ध काठमाडौंमा आइतबार जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले कांग्रेसले आफू ठूलो दल हुने आस गरेको होला तर त्यसो हुन नसक्ने बताए । राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको र आफूहरु नगएको भट्टराईले स्मरण गराए ।

भट्टराईले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोहद्वारा पुनःस्थापना गर्ने र आन्दोलनलाई जारी राख्ने बताए । भट्टराईले अहिले संसद् विघटन गरी चुनाव गर्ने नाममा ओलीले विषको भाँडोमा माथि अमृत देखाएको टिप्पणी गरे । उनले भने, ‘अमृतलाई हेरेर कांग्रेसलाई नलोभिन हाम्रो आग्रह छ । ढुलमुले पाराले ओलीबाट सत्ता झर्ला र खाउला भन्ने कांग्रेसले नसाचे हुन्छ ।’

सबैलाई एकमत भएर सडकमा आउनै पर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीको पछिल्लो कदम अलोकतान्त्रिक भएको जनाउँदै उनले भने, ‘संवैधानिक व्यवस्थामाथि ओलीले खड्ग प्रहार गरेका छन् । गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउनका लागि घोषणा गरेका होइनन् ।’

उनले अदालतप्रति झिनो आसामात्रै रहेको बताए । भने, ‘हामी सडकबाटै संसद् पुनःस्थापना गर्ने हो । न्यायाधीशप्रति सम्मान छ । तर केपी ओलीले सबै संस्थामा आफ्नो खल्तीबाट मान्छे लगेर राखेका छन् । त्यही भएर सडक आन्दोलनको विकल्प छैन ।’

भट्टराईले दाहाल र नेपाललाई कित्ता क्लियर गर्न पनि सुझाए । भने, ‘ओली सुध्रिएर आए सँगै लान्छौं भन्ने अब छोड्नुपर्छ ।’

सभामुखले प्रतिनिधिसभा बोलाउन पर्ने र विघटन गर्न नहुने पनि भट्टराईले बताए । उनले भने, ‘सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बोलाउन पर्छ । संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।’

यसैगरी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि ओलीले प्रतिगमन गरेकाले यसलाई सडकबाट नै प्रतिरोध गर्नुपर्नेमा जोड दिए।

प्रकाशित : पुस १२, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्

अविश्‍वासको प्रस्ताव सामना गर्न तयार छु : मुख्यमन्त्री राई

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको बताएका छन् । नेकपाको दाहाल–नेपाल समूहले आइतबार अविश्‍वासको प्रस्ताव दर्ता गरेको विषयमा सञ्‍चारकर्मीसँग प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री राईले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताए ।

'अविश्‍वासको प्रस्ताव म सुविधाजनक बहुमतका साथमा प्रदेशसभामा सामना गर्छु,' उनले भने, 'प्रदेशलाई कोल्याप्स गर्ने र तहसनहस बनाउने चाहना र उद्देश्य असफल बनाउनेछु ।'

अविश्वासको प्रस्ताव आफूले काम नगरेर वा नाजायक काम गरेर नभई नियोजित तरिकाले दर्ता गरिएको भन्दै उनले यो विषयमा सांसदहरु जानकार रहेकोले आफूलाई सामना गर्न अप्ठेरो नरहेको धारणा राखे । 'विवेक भएका

मान्य सदस्यहरु प्रदेशसभामा हुनुहुन्छ । यो बनिबनाउ, सुनियोजित, निर्देशित चालबाजी हो भन्ने प्रदेशसभा सदस्यहरुलाई थाहा छ, त्यसैले म आरामले सामना गर्छु ।'

अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ, खास ठाउँबाट निर्देशित भएर प्रदेशहरुलाई पनि कमजोर बनाउने, अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत हुन नदिने भन्ने मनसायबाट दर्ता भएको उनको टिप्पणी थियो ।

प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता भएको छ ।

दलभित्रको अविश्वासको प्रस्तावको केही अर्थ नरहेने र आफ्नै नेतृत्वमा सरकार रहने उनले दाबी गरे । ‘अब बिस्तारै मन्त्रीमण्डल विस्तार गर्छौं,’ उनले भने, ‘सरकारी सुविधा प्रयोग गरेर आफ्नै सरकारको मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान चलाएकाले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गर्नु पर्‍यो ।’

‘संघीयता र संविधान कार्यान्‍वयन हुन नदिने र पुन: देशलाई द्वन्द्व र अशान्तिमा धकेलिने चाहना राख्नेहरुले प्रधानमन्त्रीलाई आफ्नै पार्टीबाट घेराबन्दी गरेर काम गर्न नदिएको परिणाम अहिले मुलुकमा देखिएको छ,’ उनले भने, ‘बन्द कोठामा घेराबन्दी गरेर गरिएको लेनदेनको प्रयासविरुद्ध प्रधानमन्त्रीले ताजा जनादेशका लागि अघि बढेको सही विकल्प हो ।’


प्रकाशित : पुस १२, २०७७ १६:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×