कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहिले सुरु हुन्छ मिर्गौला प्रत्यारोपण ?

कोरोना संक्रमणको उच्च जोखिमका कारण ९ महिनादेखि नि:शुल्क प्रत्यारोपण सेवा प्रभावित छ । जसले गर्दा धेरै बिरामी डायलसिस गराएरै बसिरहेका छन् भने प्रत्यारोपणपछि बाँच्न सक्ने कतिपयको मृत्यु भइसकेको छ ।
फातिमा बानु

काठमाडौँ — कोरोना महामारीका कारण ठप्प भएको मिर्गौला प्रत्यारोपण सेवा अझै सुरु हुन सकेको छैन । संक्रमणका कारण सरकारी अस्पतालमा बन्द गरिएका अन्य उपचार सेवा क्रमशः सञ्चालनमा आए पनि मिर्गौला प्रत्यारोपण सेवा फेरि सुरु हुनेमा अन्योल छ ।

कहिले सुरु हुन्छ मिर्गौला प्रत्यारोपण ?

प्रत्यारोपण नहुँदा मिर्गौला डायलसिस गर्ने बिरामीको चाप बढ्नुका साथै प्रत्यारोपण गरेर बचाउन सकिने बिरामीको समेत मृत्यु भइरहेको चिकित्सक बताउँछन् ।

निःशुल्क प्रत्यारोपणका लागि सरकारले देशभर तीनवटा केन्द्र तोकेको छ– वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र । महामारीले यी तीनै केन्द्र प्रभावित हुँदा बिरामीले सास्ती खेपिरहेका छन् । वार्षिक ६० जना बिरामीको मिर्गौला प्रत्यारोपण हुने त्रिवि शिक्षण अस्पतालमा ९ महिनादेखि यो सेवा बन्द छ । सेवा सुरु हुन नसक्दा प्रत्यारोपणको तयारी गरेका बिरामी डायलसिस गरेर बसिरहेका छन् । पुराना बिरामीको प्रत्यारोपण हुन नसक्दा मिर्गौला फेल भएका नयाँ बिरामीलाई डायलसिसमा पालो दिनै नसकिएको अस्पतालका निर्देशक डा. दिनेश काफ्ले बताउँछन् ।

‘यो समस्या समाधानका लागि मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरिरहेका छौं तर अझै केही कठिनाइ छन्,’ उनले भने, ‘कोरोनाका बिरामीको चापले गर्दा अन्य सेवा साँघुरिएको छ । आईसीयू र भेन्टिलेटर संक्रमितकै लागि तयार राख्नुपर्ने भएकाले पनि प्रत्यारोपण तत्कालै सम्भव नभएको हो ।’ बिरामीको सुरक्षा, जनशक्ति व्यवस्थापन र अन्यभन्दा यो उपचार सेवा बढी खर्चिलो हुने भएकाले पनि प्रत्यारोपण सेवा थाल्न अप्ठ्यारो भएको उनले बताए । शल्यक्रिया गर्ने स्वास्थ्यकर्मी समूहको पीसीआर परीक्षण र पीपीई किन्दा हुने खर्चले पनि यो सेवालाई प्रभावित बनाएको उनको भनाइ छ । ‘प्रत्यारोपणका बिरामीको सुरक्षाका लागि भए पनि स्वास्थ्यकर्मी टोली विशेष तरिकाले खटाउनुपर्छ, ती समूहले केही समय अन्य ठाउँमा काम गर्नै भएन,’ उनले भने, ‘फेरि अहिले आधा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्ने र आधाले काम गर्ने अभ्यास चलिरहेको छ । यस्तो अवस्थामा प्रत्यारोपणका लागि जनशक्ति छुट्याउँदा अन्य धेरै बिरामी मर्कामा पर्ने देखिन्छ ।’

सातामा एक जनाको मिर्गौला प्रत्यारोपण हुने वीर अस्पतालमा पनि यो सेवा ठप्प छ । सरकारले वीरलाई कोभिड अस्पताल तोकेपछि यहाँको बहिरंग (ओपीडी) र शल्यक्रिया सेवा प्रभावित बनेको थियो । एक सातायता अस्पतालमा अन्य सबै सेवा सुरु भए पनि मिर्गौला प्रत्यारोपण भने सुरु गरिएको छैन । कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम प्रत्यारोपण गरिने बिरामीलाई हुने भएकाले तत्काल यो सेवा सुरु नगरिने अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए ।

‘शल्यक्रिया गर्दा मिर्गौलाका बिरामीलाई संक्रमण सर्ने उच्च जोखिम छ । संक्रमण भइहाल्यो भने ज्यान बचाउन सकिँदैन,’ उनले भने, ‘ज्यानकै जोखिम मोल्नुभन्दा बरु डायलसिस गरेर आयु लम्ब्याउन प्रयत्न गरेका हौं ।’ अस्पतालमा डायलसिस गराइरहेका बिरामीलाई नै कोरोना संक्रमण देखिन सक्ने भएकाले मृत्यु जोखिम मोलेर प्रत्यारोपण सेवा नदिने निर्णय भएको उनले बताए । वीर अस्पतालमा अहिले दैनिक ११४ जनाले नियमित डायलसिस सेवा लिइरहेका छन् । उपकरण र शय्या थपेर भए पनि डायलसिस सेवा विस्तार गरिएको उनले बताए ।

मुलुकभरमै धेरै संख्यामा मिर्गौला प्रत्यारोपण हुने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पनि गत फागुनदेखि सेवा ठप्प भएकामा मंसिरदेखि भने सेवा थालिएको छ । यसबीचमा ५ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । यहाँ मासिक २० जनाको मिर्गौला प्रत्यारोपण हुँदै आएको थियो । ‘अन्य रोगका बिरामीको तुलनामा प्रत्यारोपणका बिरामीलाई कोरोना संक्रमण भए मृत्युदर उच्च छ,’ केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले भने, ‘उनीहरूमा रोगसँग लड्ने क्षमता न्यून हुन्छ । त्यसैले यो सेवा लामो समय बन्द गर्नुपरेको हो ।’

लामो समय डरका कारण सेवा ठप्प पार्नुभन्दा अन्य अस्पतालले पनि विशेष सावधानी अपनाएर प्रत्यारोपण सेवा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । ‘समयमा उपचार नपाउँदा कति बिरामीको ज्यान गयो,’ उनले भने, ‘कति बिरामीलाई डायलसिसले फाप्दैन, प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ । त्यस्ता बिरामी हामीले बचाउन सकेनौं ।’

मिर्गौला प्रत्यारोपणसम्बन्धी निर्देशिका २०७४ अनुसार प्रत्यारोपणका लागि सरकारले एक जना बिरामी बराबर ४ लाख ५० हजार रुपैयाँ दिने व्यवस्था छ । यो सेवा लागू भएसँगै डायलसिस गरिरहेका बिरामी प्रत्यारोपणमा आकर्षित हुन थालेका थिए । कोरोना महामारीका कारण प्रत्यारोपण रोकिएपछि बिरामी फेरि डायलसिस मात्रै गरेर बस्न बाध्य छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनि ३ हजार हाराहारीमा मिर्गौलाका बिरामी थपिन्छन् । बिरामीको चापअनुसार डायलसिस र प्रत्यारोपण सेवा भने सहज थिएन । यसका लागि बिरामीले महिनौं पालो कुर्नुपर्ने अवस्था थियो । कोरोना महामारीले यो समस्या अझै जटिल बनाइदिएको चिकित्सकहरू बताउँछन् ।

प्रकाशित : पुस १०, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?