देश हाँक्न बाधा भएकाले संसद विघटन : ओली 

काठमाडौँ — नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र खुट्टा तान्ने प्रवृत्तिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद् विघटन गर्नुपरेको बताएका छन् । बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री रहेका ओलीले पार्टीभित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताएका हुन् ।

देश हाँक्न बाधा भएकाले संसद विघटन : ओली 

‘किन संसद विघटन गर्नुपर्‍यो । अरु थुप्रै कुरा छोडिदिनुस् । यही किचकिच, यही झमेला पार्टीभित्र सधैं हिँड्न खोज्यो खुट्टा समाउने, हिँड्न खोज्यो अल्झाउने, हिँड्न खोज्यो धराप थाप्ने, हिँड्न खोज्यो अल्झो लगाउने । देश हाँक्नुपर्ने बेलामा, देशलाई अगाडि बढाउनुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने,' उनले भने, 'सरकारलाई गतिशील ढंगले हाँक्नुपर्ने बेलामा पार्टी, त्यो पार्टी अल्झिनुपर्ने । के मा भन्दा दिनै पिच्छेका गफ फिट्नेहरुका कुरामै अल्झिनुपर्ने । उनीहरु गफ फिटेर बस्छन् त्यसैमा अल्झिनुपर्ने ।’

ओलीले संसद् विघटनपछि जनतामा जान डर मान्नेहरुले पार्टी फुटाएको पनि आरोप लगाए । सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरुले आन्दोलनको घोषणा गरेको बताए । उनले भने, ‘आन्दोलन केका लागि, प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा गर्‍यो । अब जनतामा जान उहाँहरुलाई यत्रो डर किन ? तपाईं हामी बुझ्न सक्छौं । उहाँहरुको टाउको ठूलो छ तर खुट्टा सानो छ ।’

देशलाई बिगार्ने, देशको एकता तोड्ने र अग्रगमनको बाटोमा जान रोक्नेहरुलाई जनताले मत नदिने पनि अध्यक्ष ओलीले बताए । त्यसैले संसद पुनर्स्थापना गरेर एक/डेढ वर्ष सत्तामा जानका लागि आन्दोलन गर्न लागेको बताए । जनतामा जान छोडेर आन्दोलन गर्ने कुराको कुनै औचित्य नरहेको पनि बताए ।

प्रकाशित : पुस ९, २०७७ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?