कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बैठक लगत्तै बल्खु पुगे दाहाल, नेपाल र खनाल

काठमाडौँ — दाहाल–नेपाल समूहका तीन नेता बल्खुस्थित पार्टी कार्यालय पुगेर कम्युनिष्ट एकताप्रति प्रतिबद्धता जनाएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय समिति बैठक सकिएलगत्तै बल्खु पुगी मदन भण्डारीको सालिकमा माल्यार्पण गरी कम्युनिष्ट एकताप्रति प्रतिबद्धता जनाएका हुन् ।  

बैठक लगत्तै बल्खु पुगे दाहाल, नेपाल र खनाल

केन्द्रीय समिति बैठकबाट वर्तमान अवस्थामा कम्युनिष्ट एकताको ऐतिहासिक आवश्यता रहेको ठहर गरेका नेताहरु सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिन बल्खु पुगेको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफूहरु नै वास्तविक नेकपा भएको भन्दै सबै कमीकमजोरी सच्याएर एकतावब हुन सबैलाई आव्हान समेत गरे ।

दाहालले लोकतन्त्र र गणतन्त्रविरुद्धको षड्यन्त्रको रुपमा असंवैधानिक तरिकाले संसद् विघटन गरिएकोले त्यसविरुद्ध कम्युनिष्ट एकता आवश्यक रहेको प्रतिक्रिया दिए । उनले अहिलेसम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्धको षड्यन्त्रको रुपमा संसद् विघटनलाई लिएको भन्दै त्यसलाई सफल हुन नदिने संकल्प गरे । 'आजमात्रै हामीले पार्टीको केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्‍यौं । बैठक सफलतापूर्वक सम्पन्न गरेको र फेरि पनि कम्युनिष्टहरुको एकताको ऐतिहासिक आवश्यकताबारे पनि हामीले प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खुस्थित पहिलाको पार्टी कार्यालयमा कमरेड मदन भण्डारीको सालिकमा माल्यार्पण गर्ने र देशभरी फेरि पनि सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्‍ने सन्देश दिने उद्देश्यले हो', उनले भने ।

संसद् अप्राकृतिक र असंवैधानिक तरिकाले विघटन गरिएको भन्दै दाहालले लोकतन्त्रविरुद्ध, गणतन्त्रका विरुद्ध र अहिलेसम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिकाविरुद्ध षडयन्त्रको रुपमा आफूहरुले लिएको बताए । उनले संसद् विघटनलाई सफल हुन नदिने दाबी गरे ।

प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनतालाई प्रतिनिधिसभाको विघटन विरुद्धमा एकजुट हुन आग्रह गरे । प्रधानमन्त्री ओलीबाट राजाको निरंकुश कदम चालको भन्दै त्यसको भर्त्सना गरे । ‘अहिले सिङ्गो राष्ट्र नै अनिश्चितताको भूमरीमा परेको छ । त्याग, तपस्या र बलिदानबाट ल्याएको संविधान, जनप्रतिनिधिहरुबाट निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधानलाई कुल्चिने काम भएको छ । त्यसको प्रावधानकाविपरीत, भावनाका विपरित, मर्मका विपरीत प्रतिनधिसभालाई विघटन गर्ने अत्यन्तै गलत कदम प्रधानमन्त्री केपी शर्मा ओलीबाट चालिएको छ । हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौं,' उनले भने, 'प्रतिनिधिसभालाई कुनै पनि तानाशाही तरिकाबाट विघटित गर्न पाइँदैन । यो ठीक राजाको निरंकुश कदमजस्तै अर्को प्रतिगामी कदम हो । यसको हामी घोर भर्त्सना गर्दछौं ।’

त्यसैगरी वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिष्ट नै नभएको आरोप लगाए । प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद विघटन गरेर अपराध गरेको टिप्पणी गरेका हुन् । उनले भने, 'मतभिन्नता पार्टीभित्र जहिले पनि हुन्छ । मतभिन्नता हुनु सामान्य कुरा हो । मतभिन्नतालाई नीति र विधिअनुरुप सञ्चालन गर्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ । तर कमरेड केपी ओली वास्तवमा कम्युनिष्ट नै भइसक्नुभएको रहेनछ । उहाँले पार्टीका विधि नै मान्नुभएन । पालना गर्नुभएन । अनुशासन पनि मान्नुभएन । अनि पार्टी भित्रका मतभेदको नाउँमा संसदको विघटन गर्नुभयो । यो अत्यन्तै ठूलो अपराधको कुरा हो । संविधानविरोधी अपराध हो । लोकतन्त्र विरोधी अपराध हो । यो जनादेशको विरुद्धमा छ ।'

प्रकाशित : पुस ९, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?