बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरसले नेपालमा असर पार्न सक्छ ?

बुनु थारु

काठमाडौँ — बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार/स्ट्रेनले विश्वभर नै चिन्ता र चासो बढाएको देखिन्छ । कोरोना भाइरसले स्वरुप बदलेसँगै संक्रमण तीव्र रुपमा फैलिएपछि बेलायत, वेल्स, इंग्ल्यान्डलगायतमा कडा लकडाउन नै भयो ।

बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरसले नेपालमा असर पार्न सक्छ ?

ब्रिटिस अधिकारीहरुले कोरोना भाइरसको एउटा नयाँ स्वरुप पत्ता लागेको र त्यो यसअघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको जनाएका छन् ।

ब्रिटिस सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले भीयूआई–२०२०१२/०१ नामक कोरोना भाइरसको उक्त नयाँ जीवाणुले निकै बढी संक्रमणता देखाएको जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले बेलायतसहित नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा समेत कोरोना भाइरसको उस्तै स्वरूप पत्ता लगाएको जनाएको छ । भाइरसले स्वरुप बदलिएसँगै खोपको प्रभावकारिता घट्ने हो कि भन्ने चिन्ता पनि छ तर अहिले विकास भइरहेका खोपले नयाँ भाइरसलाई नियन्त्रण गर्दैन भन्नेचाहिँ पुष्टि भइनसकेको वैज्ञानिकहरु बताउँछन् । स्क्रिप्स रिसर्च एन्डर्सनमा डिपार्टमेन्ट अफ इम्युनोलोजी एन्ड माइक्रोबायोलोजीका प्रोफेसर क्रिस्टियन एन्डरर्सन भन्छन्, ‘हामीले यति छिटो निर्णयमा पुगिहाल्नु हुँदैन । हामीलाई अहिले ठ्याक्कै यही हो भन्ने थाहा छैन तर अझै जान्न भने जरुरी छ । ’

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी) को ‘इम्पिलेकेसन्स अफ इमरजिङ सार्स कोभिड टु भेरियन्ट’ नामक अध्ययनमा भाइरसमा देखिएको श्रृंखलागत म्युटेसन अर्थात भाइरसको संरचनामा परिवर्तन भएसँगै यो नयाँ प्रकारको कोरोना भाइरस छिटो फैलिने सक्ने जनाएको छ । सीडीसीका अनुसार यसको थप खोजबारे वैज्ञानिकहरुले लागि परेका छन् र यसले एकदम सिकिस्त बिरामी बनाउने वा मृत्युको जोखिम बढाउने वा नबढाउने भन्नेमा अझै तथ्य फेला परिहालेका छैनन् ।

नयाँ भाइरसले चिन्ता किन बढाएको हो ? नेपालमा यसको प्रभाव पर्न सक्छ ?

पहिलोपटक यो नयाँ प्रकारको कोरोना भाइरस सेप्टेम्बर महिनामा फेला परेको थियो । मध्य डिसेम्बरसम्म आइपुग्दा यसले करिब दुई तिहाईमा संक्रमण गराइसकेको छ । सामान्यतया भाइरसले बालबालिका तथा किशोरकिशोरीहरुलाई कम संक्रमण हुन सक्ने बताइन्छ । तर, यो भाइरसले वयस्कजस्तै बालबालिकाहरुमा पनि छिटो फैलिन सक्ने सम्भावना हुनेसक्ने इम्पेरियल कलेज लन्डनका भाइरोलोजिस्ट तथा सरकारका सल्लाहकार वेन्डी बार्सले बताउँछन् । यसका लागि प्रयोगशालाको अध्ययन वैज्ञानिकहरुले बढाइरहेका छन् ।

नेपालमा पनि यो नयाँ प्रकारको भाइरस भित्रिन सक्ने सम्भावनालाई नकार्न नसकिने विज्ञहरु बताउँछन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्ट युनिटका संयोजक डा. शेरबहादुर पुन भन्छन्, ‘सेप्टेम्बेरदेखि देखिएको हो भाइरस यति बेलासम्म नेपालमा आयो होला कि नहोला भन्ने एक किसिमको चासो देखिएको छ । किनकी यो छिर्नेबित्तिकै आजको भोलि फटाफट देखिने भन्ने हुँदैन । २ महिना अवधिमा यो नयाँ प्रकारको कोरोना भाइरसले बल्ल बेलायतमा धेरैलाई संक्रमित पार्दैछ भनेर थाहा हुँदैछ ।’

भारत भाइरस प्रवेश गर्ने मुख्यद्वार भएको बताउँदै यदि भारतमा आइसकेको छ र केही समयपछि फैलिन्छ भने नेपालमा पनि यो भाइरसबाट अछुतो नरहने उनी बताउँछन् । अहिले देखिएको कोरोना भाइरसको प्रजातिभन्दा द्रुत गतिमा फैलिन सक्ने भन्ने क्षमता भएकाले यो नेपालको लागि चिन्ताको विषय हुन सक्ने डा. पुनको भनाइ छ । डा. पुन भन्छन्, ‘नेपालले जनस्वास्थ्यका मापदण्डहरु परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसनलगायतमा पूर्ण पालना गरेको छैन । परीक्षण निकै घटेको छ त्यसमाथि राजनीतिक ट्विस्ट आएको छ नेपालमा । दिनहुँ हुने राजनीतिक पार्टीहरुका नारा, जुलुस, भेला, बैठक आदि जनस्वास्थ्य मापदण्डविपरीत हो । यसले थप कोरोनाको जोखिममा नल्याओस् भन्ने हो ।’

उनका अनुसार विमानस्थलमा अहिले आवतजावत बन्द गरे पनि सेप्टेम्बेरदेखि देखिएको भाइरस पसेको छ या छैन भनेर जिनोम सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । साथै नेपालमै पनि भाइरसले कस्तो संरचना परिवर्तन गर्दैछ भन्ने अध्ययन गरिनुपर्छ । ‘पीसीआरबाट थाहा पाइँदैन । यसले कुन खोप सुहाउँदो हुन्छ भन्ने निर्क्यौल गर्न सकिन्छ,’ उनले भने ।

भाइरस आजको भोलि फैलिने होइन । आगामी दिनमा कसरी थप सर्तकता अपनाउने भन्ने यसले सन्देश दिएको छ । म्युटेसन भयो भने भाइरसका विभिन्न प्रकारको लहर आउन सक्ने भएकाले सतर्क रहन डा. पुनको सुझाव छ ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘कोरोना भाइरसको आरएनए भाइरसमा जेनेटिक मेकअप अरु भन्दा धेरै हुन्छ । जति धेरै जिनको मात्रा हुन्छ त्यति नै धेरै म्युटेसन हुने सम्भावना बढी रहन्छ । यो भाइरस परिवर्तन हुँदै गइरहेको हुन्छ । फ्लु भाइरस, एचआईभी भाइरस जस्तो धेरै म्युटेट भने हुँदो रहनेछ यो भाइरस । अहिलेको म्युटेसन हेर्दा अझैसम्म सार्न सक्ने प्रतिशत बढाइदिएको छ । तर, यसले पहिलेको स्ट्रेनभन्दा यसले धेरै मृत्युदर बढाउने र घातक गर्ने अहिलेसम्म भएका छैन ।’ उनका अनुसार यसले रोग नियन्त्रण गर्नेमा यसले प्रभाव पार्ने भयो तर मृत्यु दरमा खासै प्रभाव नपार्ने भयो । सजिलैसँग फैलिन सक्ने भएको हुनाले सतर्क भने रहनुपर्ने हुन्छ ।

विश्वमा मात्र होइन नेपालमै पनि भाइरसको म्युटेसन भइरहेको हुन सक्छ त्यसको अध्ययन जरुरी रहेको उनको भनाइ छ । ‘भाइरसको स्ट्रेनलाई फैलिएको छ वा छैन भनेर परीक्षण आवश्यक छ त्यो सुविधा छैन नेपालमा । तर, नेपालमा पनि गर्न सकिन्छ,’ डा. अधिकारीले भने, ‘अहिले हामीकहाँ देखिएको भाइरस भने मुख्यत: भारतबाट आएको हो । नेपालमा आत्तिहाल्नुपर्ने छैन । तर, भीडभाड गर्नुभएन, मास्क लगाउन पऱ्यो, साबुनपानीले हात धुनुुपर्‍यो । सरकारले परीक्षण बढाउनुपर्‍यो, आइसोलेसन तथा क्वारेन्टाइनमा राख्न पऱ्यो । खोपको पहल पनि गर्नुपर्‍यो । अहिलेसम्म भाइरसको स्ट्रेनमा आएको परिवर्तन खोपको प्रभावकारितामा खासै परिवर्तन देखाएको छैन । किनकी खोपको प्रभाावकारिता ७० प्रतिशतसम्म भए पनि काम गर्छ भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ ।’

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले बुधबार रातिदेखि नै बेलायतबाट उडान र यात्रुलाई नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस देखा परेको सन्दर्भमा यसको रोकथाम तथा नियन्त्रणका लागि यो निर्णय लिइएको बताए । उनले पुस १ देखि ७ गतेभित्र उक्त मुलुकबाट वा उक्त मुलुककको बाटो हुँदै नेपाल प्रवेश गर्ने सबै व्यक्तिले अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्न वा नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिन भित्र नजिकको प्रयोगशालामा परीक्षण गर्नसक्ने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बुधबारदेखि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएर मन्त्रालयसहितको टिमसहित अहिलेसम्म कहाँबाट कति मानिस आए र बेलायतबाट आएको नयाँ प्रकारको भाइरसको प्रभाव नेपालमा हेर्नका लागि पोजिटिभ केसहरुको स्वाब लिएर काम अघि बढाइसकेको बताए । डा. ज्ञवालीले मान्छे खोज्ने काम सुरु भइसकेको र होम आइसोलेसनमा बसेका मान्छेको पनि स्याम्पल स्वाब संकलन गरेर हप्ता वा १० दिनभित्रमा रिपोर्ट सार्वजनिक गर्ने बताए । उनले नेपालमा पनि भाइरसको संरचना कस्तो परिवर्तन हुँदैछ त्यसको पनि अध्ययन गरिरहेका बताएका छन् ।

प्रकाशित : पुस ९, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?