२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टेन्टमा कठ्यांग्रिँदै बित्छ दिन–रात

‘पहिरोमा आफन्त गुमाएँ, घर जग्गा सबै बग्यो । त्यही सम्झनाले गर्दा लिदी जान मन लाग्दैन तर यहाँ बस्न पनि लडाइँ लड्नुजस्तै छ ।’
अनिश तिवारी

बासखर्क, सिन्धुपाल्चोक — सिरेटो चल्ने लेकाली डाँडा । घना जंगलबीच लहरै टेन्ट र टहरा । हुरीबतासले टेन्ट र पाल घरीघरी उडाउन खोज्छ । शीतले ओढ्ने–ओछ्याने सबै भिजाइसकेको छ ।

टेन्टमा कठ्यांग्रिँदै बित्छ दिन–रात

चिसो भुइँमा ओछ्याइएको पाल र गुन्द्रीमा बुधबार चार महिनाकी शिशु स्याहार्दै थिइन् जुगल गाउँपालिका–२ लिदी लामागाउँकी ३५ वर्षीया ज्याबारानी तामाङ । घाम लागेपछि उनी बाहिर निस्कन लागिन् । ‘घाम लागेपछि पुनर्जीवन पाएजस्तै लाग्छ, शीतले टेन्टभित्रको भाग र ओछ्यान सबै भिज्छ, कसरी न्यानो हुनु र हजुर,’ उनले भनिन् । चिसोले चार महिनाकी छोरी डोमा बिरामीजस्तो देखिएपछि घाम कुर्दै बस्ने गरेको उनले सुनाइन् ।

पहिरोपछि आश्रयस्थल बनाइएको जुगल–१ को बासखर्कमा टेन्टभित्र बस्न नसकिने भएपछि अधिकांश विस्थापित परिवार लिदी नै फर्किएका छन् । बाँकी परिवार पहिरोभन्दा केही यताका घरमा दिन कटाउँदै छन् । ‘त्यही पहिरोमा आफन्त गुमाएँ, घरजग्गा सबै बग्यो, त्यही सम्झनाले गर्दा लिदी जान मन लाग्दैन, तर यहाँ बस्न पनि लडाइँ लड्नुजस्तै छ,’ ज्याबारानीले भनिन् । लिदी लामागाउँका ५७ वर्षीय रेशम दोङलाई पालमै कठ्यांग्रिएर मरिने हो कि भन्ने डर लाग्न थालेको छ । ‘कहिले सकिएला हजुर हाम्रो दुःख ?, भूकम्पपछि त दौडियादौडिए छौं, यहाँ छोडेर जाने स्थान पनि छैन, सबै कुरा पहिरोले हर्‍यो,’ दोङले भने ।

२०७२ को भूकम्पले लिदीका १ सय ७२ घर ध्वस्त बनाउँदा १० जनाले ज्यान गुमाएका थिए । भूकम्पको परकम्पले माथिल्लो डाँडा भास्सिएर पहिरो झर्न थालेपछि झन् अत्यायो । पहिरो केही थामिएलाजस्तो भएपछि भूकम्पको तीन लाख अनुदानमाथि ऋण लिए र पहिरो छल्दै छेउछाउमा घर बनाए । तर, लिदीवासीले आफ्नो घरको आनन्द र न्यानोमा सुखसँग बस्न कहिल्यै पाएनन् । पहिरोले माथिबाट सोहोर्दै ल्याएपछि डरले घरबाट पर लप्सेडाँडाको गोठमा बस्न थाले । बिहान घर फर्किने र राति गोठमा बस्ने लिदीवासीले पहिरोमा आफन्तसहित सर्वस्व गुमाए ।

गत साउन ३० गतेको पहिरोले एकैपटक छोप्दा १७ परिवारका ३९ बेपत्तामध्ये ३३ ले ज्यान गुमाए । एक्स्काभेटर नपुग्दा साबेल, गल, कोदालोको भरमा पहिरोमुनि पुरिएका ६ जनाको शव अझै फेला पर्न सकेको छैन । त्यहाँका १ सय ७० परिवारका लागि बासखर्क सामुदायिक वन क्षेत्रमा ९८ वटा टेन्ट हालिएको थियो । जिल्ला समन्वय समितिको संयोजकत्वमा विस्थापित विपद् स्थानान्तरण समिति र जनप्रतिनिधि सहकार्यमा विभिन्न संस्थाको सहयोगमा दिइएका टेन्टभित्र राहतको चामलकै भरमा विस्थापितहरू बाँचिरहेका छन् ।

भूकम्पपछि अस्थायी आपत्कालीन स्थानान्तरणमा ४२ परिवारलाई बासखर्ककै वन क्षेत्रमा बस्न नमिल्ने भन्दै फर्काइएको थियो । आजित भएर लिदी गाउँकै पहिरोमुनि फर्किएका ती परिवारले नै पहिरोमा आफन्त र घरसम्पत्ति गुमाए । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले विस्थापित परिवारलाई बासखर्कमा आपत्कालीन अस्थायी स्थानान्तरण मात्रै गरिएको बताए । ‘यसबारे दीर्घकालीन कार्ययोजना बनाएर नमुना एकीकृत बस्ती कसरी कहाँ बनाउने भन्नेबारे निश्चित खाका कोरिँदै छ । अन्य निकायसँग छलफल गरेर यसबारे तत्कालै अगाडि बढ्ने छौं,’ उनले भने ।

प्रकाशित : पुस ९, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?