कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बग्दाबग्दैको पानी जम्‍न थालेपछि...

आश गुरुङ

लमजुङ — चामेमा मेलिना गुरुङको होटल अगाडि धारा छ । बिहान उठेर हेर्दा धारामा बग्दाबग्दैको पानी जमेको देखिन थालेको एक साता भयो । ‘बिहान ११ नबजी धाराबाट पानी खस्दैन,’ उनले भनिन्, ‘साँझैमा धाराको पानी सानो बनाएर राखिएन भने दिनभरि पनि बरफ पग्लिँदैन ।’

बग्दाबग्दैको पानी जम्‍न थालेपछि...

हिमपात सुरु नभए पनि पुस लागेयता मनाङमा चिसो निकै बढेको छ । ‘घरभित्रै आगो फुकेर बस्यो, दिन बितायो । यस्तै चल्दै छ,’ उनले भनिन् ।

मनाङमा हिउँदमा तापक्रम शून्य डिग्रीभन्दा तल जान्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङको चामेमा पदयात्रीका लागि थुप्रै होटल छन् । चामे भएरै पदयात्री नाथुला पास र तिलिचो ताल पुग्छन् । विगतमा हिउँदमा पनि फाट्टफुट्ट विदेशी पदयात्री आउँथे । केहीले व्यवसाय हुने लोभमा सीमित कर्मचारी राखेर होटल खुलै राख्थे । हिजोआज पदयात्री पाहुना शून्य छन् । स्थानीय बासिन्दा पनि हिउँदका चार महिना जाडो छल्न बेंसीसहर, पोखरा, काठमाडौं र अरू जिल्ला पुग्थे । यसपटक कोरोनाको त्रासका कारण अधिकांशले जिल्ला छाडेका छैनन् । त्यसैले मनाङवासी आफ्नो गाउँठाउँको चिसो खपेरै बसेका छन् ।

‘पोहोर–परारजसरी योपल्ट हिउँ पर्न थालेको छैन,’ चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घले भन्छन्, ‘हिउँ नपर्दा झन् चिसो हुन्छ । घाम नलागेसम्म घर बाहिर मान्छे निस्केकै देखिन्न । दिउँसो पनि प्रायः सबै चाँडै घरभित्र छिर्छन् । खोल्साखोल्सीमा सबै जमेको उनले बताए । ‘बर्सेनि जाडो छल्न झर्नेहरूले योपल्ट आफ्नो गाउँठाउँमा हिउँद कस्तो हुन्छ भनेर अनुभव गरिरहेका छन्,’ उनले भने ।

मनाङ आउजाउको एकमात्र बाटो लमजुङको बेंसीसहर हो । यतिबेला लमजुङको सिमाना काटेर मनाङ टेक्दा जताततै खोल्सा, छहरा जमेको देखिने गाउँपालिकाका सूचना अधिकृत दीपेन्द्र गोदारले बताए । ‘ठूलो खोला जम्दैन, बाँकी सबै स–साना खोल्सा–छहरा जमेर सिसाजस्तो भएका छन्,’ उनले भने, ‘झर्दाझर्दैको झरनाको पानीसमेत जमेको देखियो । कति धेरै चिसो छ भन्ने भनेर साध्य छैन ।’ बर्सेनि मनाङका सरकारी कार्यालय र स्थानीय तहका कर्मचारी पनि चार महिना जाडो छल्न झर्ने गरेका थिए । यसपटक उनीहरूले पनि जिल्ला छाड्न पाएका छैनन् । कार्यालयहरूमा कर्मचारी दाउरा बालेर ताप्दै बसेका छन् ।

मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले भनिन्, ‘अहिले साँझबिहानको तापक्रम माइनस ८/९ डिग्री सेल्सियस छ । दिउँसोसमेत माइनस ४/५ डिग्री सेल्सियस र राति माइनस १४/१५ डिग्री सेल्सियससम्म हुन्छ ।’

प्रकाशित : पुस ९, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?