संसद पुन:स्थापित गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुन्छ : दाहाल

'संसदीय दलमा हामी ९५ जना हुनेछौं, हामी नै सबभन्दा ठूलो दल हौं'
जयसिंह महरा

काठमाडौँ — आफ्नो पक्षको संसदीय दलको नेता चयन भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो ध्यान संसदलाई जीवित राख्ने र जनताको अपेक्षा अनुसार काम गर्ने नयाँ सरकार गठन गर्नेतिर हुने बताएका छन् । उनले संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गर्दै संसद पुनस्थापति गर्ने पनि बताए ।

संसद पुन:स्थापित गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुन्छ : दाहाल

उनले संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भइसकेको सन्दर्भमा दलले आफूलाई नेता चयन गरेर ठूलो जिम्मेवारी दिएको पनि बताए । आफूले ठूलो चुनौतीको समयमा यो जिम्मेवारी पाएको पनि उनले बताए ।

'मैले नेपाली जनताले लामो समयको संघर्षबाट प्राप्त गरेको संघीय गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नेमा मैले मैले प्रयत्न गर्नेछु,' उनले भने, 'मलाई विश्वास छ नेपाली जनताको भरोसामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै, सबै माननीय सदस्यहरुको पनि विश्वास लिएर संसदलाई जीवित राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले सबै तागत लगाउनेछु ।'

मंगलबारमात्रै पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको दाहाल-नेपाल समूहले संसदीय दलको नेताबाट पनि ओलीलाई हटाएको हो । मंगलबार अध्यक्ष चयन भएका माधव नेपालको प्रस्तावमा दाहाललाई दलको नेता बनाइएको हो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको 'आइ एम द स्टेट' भन्ने प्रवृत्तिका कारण संसदको दुईतिहाई बहुमत जोगाउन नसकेको पनि बताए । सांसदहरुलाई सम्बोधन गर्दै दाहालले जनताले ठूलो अवसर दिए पनि त्यसलाई जोगाउन नसकिएको बताए । 'जनताले ठूलो अवसर दिएका थिए । तर गल्ती स्वीकार्न नसक्ने, आइ एम द स्टेट भन्ने धारणाबाट चल्दा दुईतिहाइ जोगाउन सकेनौं । हामी फेरि संसदलाई स्थापित गर्ने, नयाँ सरकार गठन गर्ने हाम्रो प्रतिबद्धता छ । सडक, कानुनी माध्यम, सहयात्री दलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यमा हामी अगाडि बढ्छौं ।'

उनले संसदीय दल र केन्द्रीय समितका निर्णयहरु निर्वाचन आयोगमा पठाइएको पनि बताए । 'हिजोको झन्डै ७० % केन्द्रीय सदस्यसम्म आउँदा र संसदीय दलको बैठकसम्म आउँदा देशको सबैभन्दा ठूलो दल हामी छौं, दाहालले भने, 'केही माननीय आउन बाँकी छ । ९३ जना प्रतिनिधिसभाका सदस्यले हस्ताक्षर गर्नुभएको छ र केहीले यहाँ आउने प्रतिबद्धता दिनुभको छ । हामी प्रतिनिधिसभामा ९५ भन्दा बढी हुन्छौं ।'

प्रकाशित : पुस ८, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?