३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बेलायतमा फैलिएको कोरोना भाइरसको नयाँ स्वरुप के हो ?

'अहिले बजारमा आएको भ्याक्सिनले यो स्ट्रेनमा काम गर्छ कि गर्दैन भन्ने चासो सर्वत्र पाइएको छ । सामान्यतया जति पनि खोप बनिरहेका छन् वा अन्तिम परीक्षणमा छन्, तिनले नयाँ स्वरुपको कोरोना भाइरसविरुद्ध पनि काम गर्ने सम्भावना छ तर यकिनका साथ भन्न सकिन्न ।'
नवीन पोखरेल

काठमाडौँ — बेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै अहिले सर्वत्र चासो र चिन्ता बढेको छ । विश्वका ५० भन्दा बढी देशले बेलायतबाट जाने उडानमा रोक लगाएका छन् । 

बेलायतमा फैलिएको कोरोना भाइरसको नयाँ स्वरुप के हो ?

छिमेकी फ्रान्सले सीमा बन्द गरिदिएका कारण झण्डै तीन हजार लरी (ट्रक) सीमामा रोकिन बाध्य भए । खाद्यान्नकै हाहाकार हुने चिन्ताबीच बेलायत र फ्रान्सेली अधिकारीहरुबीचको वार्तापछि फ्रान्सले बुधबारदेखि कोभिड नेगेटिभ रिजल्ट हुनेलाई प्रवेश अनुमति दिन सहमति जनाएको छ ।

खासमा कोरोना भाइरसको नयाँ स्वरुप के हो ? यो घातक छ वा छैन् ? आदिबारे हाल बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा वरिष्ठ वैज्ञानिकको रुपमा काम गरिसकेका र हाल कोभेन्ट्री विश्वविद्यालयमा इपिडेमियोलोजी तथा हेल्थ केयर रिसर्च विषयका एसोसियट प्रोफेसर डा. ओम कुर्मीसँग गरिएको कुराकानीको सम्पादित अंश :

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म धेरैपटक म्युटेसन(उत्परिवर्तित) भएर अथवा त्यसको गुणहरुमा धेरै परिवर्तन भएर नयाँ स्ट्रेन(स्वरुप)हरु बनिसकेको अवस्था छ ।

चीनको वुहानमा गत वर्षको डिसेम्बर महिनाको सुरुवातमा ‘एल स्ट्रेन’ देखापरेको थियो । त्यो एल स्ट्रेन भाइरस एसिया महादेशमा धेरै समयसम्म रह्यो । किनभने एसियाका धेरै देशले आ–आफ्ना सीमाहरु छिट्टै बन्द गरेर आवतजावतमा बन्देज लगाए । त्यो एल स्ट्रेन भाइरस २०२० को सुरुवातमा एस स्ट्रेनमा परिवर्तन भयो र त्यसपछि भी र जी स्ट्रेन बन्न पुग्यो ।

युरोप र उत्तरी अमेरिकामा सबैभन्दा बढी जी स्ट्रेन पाइएको छ । युरोपका देशहरु आ–आफ्ना बोर्डर बन्द गर्न ढिलाइ गरे र यो भाइरस युरोपका विभिन्न देशमा फैलिन पुग्यो र त्यसका साथसाथै अरु विभिन्न स्ट्रेनहरु जस्तै जीआर, जीएच, जीबी देखापर्‍यो । त्यस्तै अलि कम म्युटेसन हुने कोभिड–१९ भाइरसको समूहलाई ओ स्ट्रेनमा राखियो ।

हाल केही हप्तादेखि धेरै चर्चामा रहेको भाइरस भीयूआई-२०२०१२-०१ हो । यो यूकेको लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा बढी देखिएको छ । हाल आएर यो यूकेका अरु भाग वेल्स र स्कटल्याण्डमा पनि छिटफुट रुपमा देखिएको छ । यो पत्ता लगाउन ‘होल जिनम सिक्वेन्सिङ’ विधि अपनाउनुपर्ने हुन्छ जुन यूकेमा धेरै विकसित छ । वैज्ञानिकहरुले यो स्ट्रेन अरु देशहरुमा पनि भएको अनुमान लगाएका छन् । जस्तै नेदरल्याण्ड्स, डेनमार्क, साउथ अफ्रिकामा पहिले नै यस्तो स्वरुपको कोरोना भाइरस देखिएको दाबी गरिएको छ । अरु देशमा नदेखिनुको कारण होल जिनम सिक्वेन्सिङ विधि त्यति विकसित नभएको हुन सक्छ । सुरुमा यो सेप्टेम्बरमा एकजना बिरामीमा देखियो । जसको पुष्टि अक्टोबरमा भयो । वैज्ञानिकहरु यूकेमा देशव्यापी लकडाउन गरे तापनि केन्ट सहरमा संक्रमण हुने बिरामीमा कमी नआएपछि सशंकित भए र गहिरिएर अध्ययन गरेपछि हाल पत्ता लागेको भाइरसको प्रजाति मुख्य कारण रहेको ठम्याए र ११ डिसेम्बरमा यूकेको सरकारलाई सूचित गरे ।

हालसम्मको अध्ययनले यो भाइरस पहिलाको भन्दा लगभग ७० प्रतिशत छिटो फैलिएको भेटिएको छ । हाल लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा कोभिड–१९ लागेको ४५ देखि ७० प्रतिशत बिरामीमा यो स्ट्रेन भाइरस देखिएको छ । तर, केही खुसीको कुरा भन्नुपर्दा यो स्ट्रेनको संक्रमण तीव्र भए पनि यसले पहिलाको स्ट्रेन भएको व्यक्तिभन्दा बढी असर अर्थात धेरै हस्पिटलमा भर्ना हुनुपर्ने वा बढी मृत्युदर जस्तो केही देखिएको छैन् ।

अहिले बजारमा आएको भ्याक्सिनले यो स्ट्रेनमा काम गर्छ कि गर्दैन भन्ने चासो सर्वत्र पाइएको छ । सामान्तया जति पनि खोप बनिरहेका छन् वा अन्तिम परीक्षणमा छन्, तिनले नयाँ स्ट्रेनमा पनि काम गर्ने सम्भावना छ तर यकिनका साथ भन्न सकिन्न । वैज्ञानिकहरु यसमा काम गरिरहेका छन् र यसको नतिजा आउन ३, ४ हप्ता लाग्न सक्छ । बितेको एक दुई दिनभित्र भ्याक्सिन बनाउने निर्माताहरु र विज्ञहरुले यो स्ट्रेनमा पनि काम गर्नेमा धेरै आशावादी रहेको बताएका छन् ।

केही वैज्ञानिकहरुले जाडो याममा कोभिड–१९ संक्रमण बढ्न सक्छ भनेर अनुमान लगाएका छन् । हामीलाई सर्वविदितै छ कि जाडो याममा धेरै किसिमका स्वासप्रश्वाससम्बन्धी भाइरसहरु जस्तै इन्फ्लुएन्जा भाइरस, फ्लु भाइरस अथवा अरु प्रजातिका कोरोना भाइरसहरु डिसेम्बर र जनवरीमा बढी देखिएको हुन्छ । तर, कोभिड–१९ रोगको भाइरस बढ्छ भनेर केही समय कुर्नुपर्ने नै हुन्छ ।

हालको तथ्यांकले युरोप र नर्थ अमेरिकामा कोभिड–१९ बढेको देखिन्छ भने भारतजस्ता देशमा कोभिड–१९ संक्रमण लगातार कमी भएको देखिएको छ । केही अध्ययनहरुले के देखाएको छ भने जाडो याममा कोभिड १९ को संक्रमण बढ्नु वा घट्नुमा धेरै कुराले असर पार्दछ । जस्तै मानिसको व्यवहार र भाइरसको गुणले पनि यसमा फरक पार्दछ । जाडो याममा यूभी लाइटको कमी हुन्छ । मानिसहरु घरभित्र समूहमा बस्ने गर्छन् । वायू प्रदुषण र सुख्खा बढी हुन्छ । जलवायू परिवर्तनले पनि भाइरस संक्रमण बढाउँछ ।

विकसित मुलुकहरु बेलायत र अमेरिकामा आपत्कालीन अनुमति प्राप्त गरी दुई भ्याक्सिनहरु केही वर्ग जस्तै स्वास्थ्यकर्मी र ८० वर्षमाथिका लागि दिन सुरु गरिसकेका छन् । तर, हाम्रो देश नेपालमा यी भ्याक्सिनहरु उपलब्ध हुन अझै समय लाग्न सक्छ । हाम्रो देशमा भौतिक संरचना पनि यी भ्याक्सिन दिनलाई अझै अनुकूल छैन् । हामी केही समय पक्कै कुर्नुपर्ने देखिन्छ । जबसम्म यी भ्याक्सिन उपलब्ध हुँदैनन्, त्यतिन्जेलसम्म हामीले सावधानी अपनाउनु पर्ने देखिन्छ । सकेसम्म भीडभाडमा नजाने, जानु परे पनि दुई मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै मुख्य रोकथामका उपाय हुन् ।

प्रकाशित : पुस ८, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?