३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अनलाइन पढाउन नमान्नेलाई हटाउने तयारी

तालिम दिए पनि अनलाइन शिक्षण विधिअनुसार पढाउन नमान्ने शिक्षकबाट दरबार हाईस्कुलको व्यवस्थापन समिति हैरान
गणेश राई

काठमाडौँ — कोरोना भाइरस फैलिने त्रासले काठमाडौं महानगरपालिकाले विद्यालय खुल्न दिएको छैन । अनलाइन कक्षा जारी राखेको दरबार हाईस्कुल व्यवस्थापन केही शिक्षकबाट भने हैरान छ । अनलाइन कक्षा चलाउन तालिमसँगै ल्यापटपसमेत दिए पनि मोबाइल अफ राखेर सम्पर्कमै आउन नमान्नेका कारण हैरान भएको हो ।

अनलाइन पढाउन नमान्नेलाई हटाउने तयारी

समितिले त्यस्ता शिक्षकलाई अन्यत्र सरुवा गर्ने तयारी गरेको छ । भूकम्पपछि चीन सरकारले निर्माण गरिदिएको हाईस्कुलको अत्याधुनिक भवन कात्तिक पहिलो साता उद्घाटन भएको थियो । नयाँ संरचनापछि स्थानीयस्तर र बाहिरबाट भर्ना हुन आउने विद्यार्थीको चाप छ । ‘भवन नयाँ भए पनि कक्षामा राखेर पढाउन नपाउँदा अनलाइन कक्षा चलाउनुपरेको छ । शिक्षकलाई ल्यापटप र केही वद्यिार्थीलाई मोबाइल दिइएको छ,’ विद्यालय व्यवस्थापन समिति सदस्य परिवेशमान वज्राचार्यले भने, ‘अनलाइन कक्षा सुरु भएको दुई महिना भयो । केही शिक्षक–शिक्षिकाले तालिम र साधन लिए पनि कक्षा लिइरहेका छैनन्, मोबाइल अफ गरेर बसेका छन् ।’ अध्यापनको नयाँ पद्धतिमा जान नमान्नेका हकमा अन्यत्र सरुवा गर्नेबारे छलफल भइरहेको उनले बताए ।

दरबार हाईस्कुलमा भानु र संस्कृतसहितका दुई विद्यालय छन् । भानुमा साधारण धारतर्फ बाल कक्षादेखि १० कक्षासम्म पढाइ हुन्छ । संस्कृततर्फ ६ देखि १२ सम्मका कक्षा छन् । नयाँ संरचनाअनुसार प्रत्येक कक्षामा ३६ जना विद्यार्थी क्षमता छ । कोभिड–१९ पछि विद्यालय नखुले पनि पुस पहिलो सातासम्म विद्यार्थी भर्ना कार्य जारी छ ।

भानुकी सहायक प्रधानाध्यापक शारदा पौडेलका अनुसार बाल कक्षामा ११ जना बालबालिका छन् । ६ देखि ९ कक्षासम्म विद्यार्थी कोटा पूरा भइसकेको छ । ‘सीमित सिट क्षमताका कारण धेरै विद्यार्थी भर्ना लिनै सकेनौं,’ आठ कक्षामा १६ जना विद्यार्थी भर्ना लिन नसकेको उनले बताइन् । ‘अरू तल्ला कक्षामा १७ जनादेखि ३० जनासम्म भर्ना भइसकेका छन् । अनलाइन कक्षा जारी राखेका छौं तर प्रावि तहका केही शिक्षक सम्पर्कमा आएका छैनन्,’ उनले भनिन् । भानुमा १८ जना शिक्षक छन् । तीमध्ये मावि तहका ८, निमाविका ३ र प्राविका ७ जना छन् । शिक्षकले दैनिक ४ पिरियड अनलाइन कक्षा पढाउँदै आएका छन् ।

अनलाइन शिक्षण तालिम लिएका तर कक्षा पढाउन आलटाल गर्ने शिक्षकलाई अन्यत्र सरुवा गर्ने तयारी गरिएको व्यवस्थापन समितिले जनाएको छ । ‘उहाँहरू अनलाइन मात्र होइन, विगतमा नियमित कक्षा सुचारु हुँदासमेत आलटाल गर्ने गरेको रेकर्ड पाएका छौं,’ व्यवस्थापन समितिका अध्यक्ष गोपाल महर्जनले भने, ‘अब एकपटक अन्तिम मौका दिन्छौं । नसुध्रिने हो भने महानगरपालिकामार्फत् अन्यत्र सरुवा गर्ने प्रक्रिया अघि बढ्छ ।’

भानुको व्यवस्थापन समितिले ९ कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन, कक्षा ४ देखि ८ सम्म रोबोटिक शिक्षाको प्रबन्ध गरेको छ । अर्को वर्षदेखि पूर्ण रूपमा मन्टेसरी शिक्षा लागू गर्ने तयारीमा छ । त्यसैगरी संस्कृत माविमा कक्षा १० सम्म १ सय ४६ विद्यार्थी भर्ना भएका छन् । कक्षा ११ मा ६५ र कक्षा १२ मा ९१ विद्यार्थी पढ्छन् । सबैभन्दा थोरै कक्षा ६ मा १३ जना मात्र विद्यार्थी भर्ना भएको प्रधानाध्यापक शिवराज अधिकारीले बताए । कतिपय विद्यार्थी किताब लिन र अनलाइन कक्षा पढ्न पाइने भएकाले दुई ठाउँ भर्ना भएको पनि खुलेको छ । १७ जना शिक्षक छन् ।

प्रकाशित : पुस ७, २०७७ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?