कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् विघटन अवैधानिक छ, पुर्नस्थापना हुनुपर्छ : मोहन विक्रम सिंह

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले संसद् पुर्नस्थापनाको माग गरेका छन् ।

संसद् विघटन अवैधानिक छ, पुर्नस्थापना हुनुपर्छ : मोहन विक्रम सिंह

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुभएको विषय अवैधानिक भएको भन्दै तत्काल पुर्नस्थापना गर्न माग गरेका हुन् । उनले भने, ‘संसद्को जुन विघटन भयो त्यसलाई हामीले विरोध गरेका छौं । हाम्रो माग छ संसद्को पुर्नस्थापना गर्नुपर्छ ।’

महामन्त्री सिंहले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद् विघटनलाई समर्थन गर्‍यो भनेपनि आफूहरुले संघर्षलाई जारी राख्ने बताए । उनले भने,‘भोलि सर्वोच्चले यो संसद्को विघटनलाई समर्थन गर्छ भनेपनि हाम्रो संघर्ष रोकिन्न । हामीले फेरी देशमा बहुदलीय व्यवस्था कायम गर्नको लागि संसदीय प्रणालीलाई मजबुत पार्न, गणतन्त्रलाई सुदृढ पार्नको लागि र त्यसको रक्षाका लागि हाम्रो संघर्ष बढ्दै जान्छ ।’

महामन्त्री सिंहले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गरेका छन् । तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतालाई नेकपा मसालले प्रतिगमनलाई हराउन, गणतन्त्रको पक्षमा र धर्म निरपेक्षताको पक्षलाई मजबुत पार्ने दृष्टिकोणबाट विश्लेषण गरेर समर्थन गरेको तर अहिले त्यसो हुन नसकेको बताए ।

पार्टीभित्रको द्वन्द्वले संसद् विघटनसँगै पार्टी विभाजन हुनुले देशमा गम्भिर स्थिति सिर्जना भएको टिप्पणी समेत गरे । नेकपाको अन्तरकलहका कारण राजावादीहरुको सक्रियता बढेको समेत बताए । उनले भने,‘देशमा राजावादीहरु सडकमा आइराखेका छन राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्र बनाउनको लागि त्यसले गर्दाखेरी गणतन्त्रलाई कमजोर पार्नुपर्छ भनेर राजावादीहरु सक्रियता बढाइरखेका छन् ।

गणतन्त्रका पक्षधर शक्तिहरु आपसमा लडिरहेका छन । यसले गर्दा गणतन्त्रको पक्ष निकम्मा हुन्छ । यिनको बिचको एकता खाली पार्टीको एकता मात्रै होइन, उनीहरुको बिचको झगडा मात्रै होइन । यो सम्पूर्ण देशको राजनीतिमा नराम्रो असर पार्छ भनेर हामीले भनेका थियौं । अहिले त्यो प्रष्ट भएको छ ।’

प्रकाशित : पुस ७, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?