२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु

स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी

काठमाडौँ — नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् ।

ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु

रायमाझी र थापा सोमबारसम्म कतै खुलेका थिएनन् । तर, बालुवाटारको भेलामा उपस्थित भएर आफ्नो कित्ता स्पष्ट गरेका छन् । यसअघि पूर्व माओवादी निकट मानिएका लेखराज भट्ट ओली समूहमा खुलिसकेका थिए । भेलामा नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने सहभागी छैनन् ।

त्यस्तै अहिलेसम्म कुनै पक्षमा नदेखिएका अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भने मंगलबार दाहाल-नेपाल समूहले बोलाएको बैठकमा जाने भएका छन् ।

बैठकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुलाई कारबाहीको निर्णय गर्ने भएको छ । एक नेताको दाबीअनुसार त दाहाललाई कारबाहीको निर्णय यसअघि नै भइसकेको छ ।

ओलीले सोमबार बालुवाटारमा नै आफूनिकट सांसदहरुको बैठक गरेका थिए । दाहाल–नेपाल समूहले पनि नयाँ बानेश्वरको संसद् भवनमा आफूनिकट सांसदको बैठक गरेका थिए । यो समूहले पनि दिउँसो १ बजे बबरमहलमा केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने गरी निर्णय गर्ने नेताहरुले बताएका छन् ।

सरकारले संसद् विघटन गरेपछि नेकपा पनि विभाजन हुन लागेको छ । दुवै पक्षका केन्द्रीय कमिटीको बैठक र निर्णयपछि नेकपा औपचारिक रुपमा विभाजन हुने देखिएको छ ।

प्रकाशित : पुस ७, २०७७ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?