कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बालुवाटार र बानेश्वरमा छुट्टाछुट्टै भेला

एकता टुटाउन ओलीले गएको केन्द्रीय कमिटी बैठकबाटै प्रयास गरेको दाहालको आरोप, सरकार बनेको केही समयदेखि नै व्यक्तिगत स्वार्थ तेर्स्याएर पाइला छेक्ने प्रयास गरिएको ओलीको दाबी

काठमाडौँ — नेकपाका ओली र दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटन निर्णयको पक्ष र विरोधमा आफ्नो शक्ति संगठित गर्न सोमबार आफूनिकटहरूको छुट्टाछुट्टै भेला गरेका छन् । ओलीले बालुवाटारमा र दाहाल–नेपाल समूहले नयाँ बानेश्वरको संसद् भवनमा भेला गरेका हुन् ।

बालुवाटार र बानेश्वरमा छुट्टाछुट्टै भेला

नेकपाका १ सय ७४ सांसदमध्ये आइतबार बानेश्वरको संसद् भवनमा ९० जना उपस्थित भएर पार्टी नेतृत्वले लिएको कदममा साथ दिन भन्दै हस्ताक्षर गरेका थिए । संसदीय दलको बैठक नाम दिइएको भेलामा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गरेका थिए । उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमको खुलेर विरोध गरे । भेलाले संसद् विघटनको प्रतिवाद गर्ने प्रस्तावसमेत पारित गरेको छ । मंगलबार केन्द्रीय कमिटी र बुधबार संसदीय दलको बैठक हुने भएकाले विघटित संसद्का सांसदहरूलाई उपत्यका नछाड्न उनीहरूले निर्देशन दिएका छन् ।

भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको छ । भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरू उपस्थित थिए । विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद् भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएकाले सांसद पद जीवित रहेको बताए । ‘जनताका प्रतिनिधिबाट बनाइएको संविधानमा हुँदै नभएको प्रावधानबाट हामी प्रतिनिधिसभाका सांसदहरूलाई बलि चढाउने काम गरियो,’ उनले भने, ‘हाम्रो अधिकार अपहरण गरिएको छ । जुन अधिकार संविधानले प्रधानमन्त्रीलाई दिएको छैन । हामीलाई मारियो भनिएको छ तर संविधानले हामीलाई जीवितै राखेको छ ।’

प्रधानमन्त्री र राष्ट्रपतिले संसद् विघटन गरेर मारेको घोषणा गर्नु असंवैधानिक भएको दाहालले बताए । ‘हामी मर्‍यौं कि जीवित छौं भन्ने प्रश्न उठेको छ । मलाई पनि हामी मर्‍यौं कि भनेजस्तो फिल हुन्छ तर लोकतान्त्रिक मान्यता र संविधानअनुसार हामी जीवित छौं,’ भेलालाई सम्बोधन गर्दै दाहालले भने, ‘अब जीवित छौं भनेर प्रमाणित गर्न जुलुस लगाएर हिँड्नुपर्ने भयो । हामी जीवित छौं भन्ने बुझ्न पहिला सर्वोच्च अदालत जानुपर्‍यो ।’

सांसद पद रहेको बुझाउन उनले भारतको लखनउको घटनासमेत बैठकमा सुनाएका थिए । लखनउमा जिउँदै मानिसले आफैं जीवित रहेको जुलुस निकालेजस्तै आफूहरू पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘लखनउमा सम्पत्तिका लागि आफन्तले मरेको प्रमाणित गरेर सम्पत्ति हडपेका हुँदा रहेछन्, नमरेको मान्छेलाई मरेको भनेपछि सम्बन्धित कार्यालयमा जाँदा तँ मरिस् भनिँदो रहेछ । त्यसपछि पीडितहरू एकजुट भएर हामी जिउँदै छौं भनेर जुलुस लगाएको देखेको थिएँ । हामी पनि जीवित छौं भनेर सर्वोच्च जानुपर्ने भयो । सर्वोच्च अदालतलाई भन्नुपर्‍यो, हामी जिउँदै छौं ।’ कांग्रेस, जनता समाजवादी र अरू पार्टीका सांसदसमेतको साथ लिएर सरकारले चालेको कदमविरुद्ध न्यायालय जाने जानकारी उनले भेलामा गराए । ‘आज मात्रै १ सय १४ जना हामी संघीय सांसदले हस्ताक्षर गरेर हामी जिउँदै छौं भन्नुपर्‍यो । केही–केही साथीहरू हामी मर्‍यौं भनेर बसिरहनुभएको छ, उहाँहरूलाई के भन्नुपर्‍यो भने तपाईंहरू कहाँ मर्नुभएको छ र ? जिउँदै हुनहुन्छ,’ ओली पक्षका सांसदलाई इंगित गर्दै दाहालले भने, ‘हामी जिउँदोतिर आउनुस् भन्नुपर्‍यो । हाम्रो दुई वर्षको कार्यकाल जिउँदै छ । ती साथीहरूलाई तिमीहरू मर्‍यौ भन्नुभएको प्रधानमन्त्री र राष्ट्रपतिले हो । हामी मरेकै छैनौं ।’

सबै सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालत गएपछि न्याय पाइने दाहालले बताए । सर्वोच्चमा दुई सयभन्दा बढी सांसदको हस्ताक्षरसहित सरकारले चालेको कदमको विरोधमा जाने दाहालले भेलामा जानकारी गराए । ‘प्रधानमन्त्री र राष्ट्रपतिले ड्याम्म हानेर मरियो भनेर निराश नहुनुस्,’ उनले भने । पार्टी एकता टुटाउन ओलीले गएको केन्द्रीय कमिटी बैठकबाटै प्रयास गरेको दाहालको आरोप छ । अध्यादेश ल्याएर, सचिवालय सदस्यहरूको अपमान गरेर, पार्टीको निर्णय पालना नगरेर पार्टी फुटाउन खोजेको उनले बताए । नियमित संसद् अधिवेशन बोलाउनुपर्नेमा ओलीले अपारदर्शी ढंगले अध्यादेश ल्याएको उनले बताए । ओलीले सधैं झूटो मात्रै बोल्ने गरेको दाहालको आरोप छ । ‘मलाई त झूट बोल्यो बोल्यो, स्थायी कमिटीलाई समेत नाङ्गै झूटो बोल्नेलाई के भन्ने ?’ उनले भने, ‘ढाँट, छल, बेइमानीको त कल्पना पनि गर्न सकिँदैन । यस्तो पनि हुन्छ ? स्थायी कमिटी बैठकमा अध्यादेशअनुसार पदाधिकारी नियुक्ति गरेकै छैन भन्ने तर सबै गरेर भ्याइसकेछन् ।’

‘प्रधानमन्त्रीलाई भेट्नुअघि नै विघटनको खबर पाएँ’

‘बिहान साढे ६ बजे सूचना के आयो भने प्रधानमन्त्रीले पार्लियामेन्ट भंग गर्दैछन् । सबैतिर सम्पर्क गरे । वरिष्ठ नेताहरूलाई पनि सम्पर्क गरेर संसद् विघटन हुँदै छ भन्ने भरपर्दो सूचना पाएँ,’ सम्बोधनमा दाहालले भने, ‘यसलाई नरोक्ने हो भने गम्भीर दुर्घटना हुन्छ भनेर प्रधानमन्त्रीलाई साढे ८ बजेदेखि फोन गरें । यस्तो सोच्नुभएको छ भने कम्तीमा म र तपाईं छलफल गरौं, यस्तो डिसिजन नगर्नुस् भनेको थिएँ । उहाँले हुन्छ भन्नुभएको थियो ।’

फोनमा साढे ११ बजेसम्म खाना खाएर प्रधानमन्त्री निवासमा आइपुग्ने जानकारी गराएको उनले बताए । ‘केही समयपछि क्याबिनेट बैठक बोलाएको जानकारी पाएँ, म ११ बजे बालुवाटार पुग्नुअघि नै एक्सनमा जाँदै हुनुहुन्छ भन्ने सुनें । त्यसपछि फेरि फोन गरेर क्याबिनेट बैठकभन्दा अघि नै भेट्न चाहन्छु भनें । उहाँले हुन्छ भनेपछि म घरबाट निस्कें,’ दाहालले भने, ‘पार्टीका महासचिवलाई पनि फोन गरें । उहाँले पनि तपाईं आइहाल्नुस् भन्नुभयो । अरू बेला २० मिनेटमा पुग्थें, हिजो जाममा परेर २५ मिनेटमा पुगें । उहाँचाहिँ मलाई छल्नुपर्छ भनेजस्तो गरी हत्त न पत्त बैठकमा जानुभएछ ।’

आफू पुग्दा संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका प्रमुख शंकर पोखरेललाई मात्रै भेटेको उनले बताए । ‘सुवासजीले प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएर आउँछु, मलाई कुर्नु भन्नुभएको छ भन्नुभयो । अध्यादेश फिर्ता लिएर आएपछि स्थायी कमिटी पनि दुई दिन सार्नुपर्ला भनेर सोचें तर त्यहीं बसेको बेला क्याबिनेटका एक मन्त्रीले विघटनको प्रस्ताव आयो भनेर म्यासेज गर्नुभयो ।’

‘९० मा सीमित छैन, अझ बढ्दै छ’

वरिष्ठ नेता माधवकुमार नेपालले विघटनको सूचना आउनुभन्दा अघि नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकाले त्यसको हिसाबकिताब हुने बताए । ९० जना सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव संसद्को महासचिवले दर्ता गरेर सभामुखलाई समेत बुझाइसकेको उनले बताए । हस्ताक्षर गर्न घनश्याम भुसाल, योगेश भट्टराई छुटेको उनले जनाए । ‘यस अर्थमा हामी ९० जनामा मात्रै सीमित छैनौं, अझ बढ्दै छ,’ उनले भने । सरकारले चालेको कदमको विरोधमा सबै कदम चाल्ने ढंगले अघि बढिरहेको उनले बताए ।

‘अहिले जुन काम भएको छ, जनमत विघटनको विपक्षमा छ । हामीले विभिन्न क्षेत्रसँग परामर्श गरेर सही कदम चाल्दै छौं, कांग्रेस र समाजवादी पार्टीसँग पनि छलफल भयो,’ भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘सडक र सर्वोच्च जानेबारेमा छलफल चलाइरहेका छौं । ओलीमा रहेको एकाधिकारवादी चिन्तनले जे भने जे गरे, त्यही सही र सत्य हो भन्ने मान्यताले यो अवस्था आएको हो ।’ ओलीलाई कम्युनिस्ट भन्ने शब्दबाट एलर्जी भएको हुन सक्ने नेपालको आरोप छ । ‘मार्क्सवाद र लेनिनवाद भन्ने उहाँलाई अप्रिय त लाग्न लागेको होइन ? यो कम्युनिस्ट पार्टीको लोकप्रियताले उहाँलाई छटपटी त भएको छैन ? भन्ने लाग्छ, कक’ उनले भने, ‘पार्टी कुनै व्यक्तिका लागि बलिदान हुने छैन । आज पार्टीले नै व्यक्तिको बलिदान दिनुपर्ने हो कि जस्तो भयो ।’

अर्का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीको सरकारले पार्टीको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाए । ‘नीति तथा कार्यक्रम तीनवटा आयो । त्यो पनि पार्टीको सिद्धान्तअनुसार छैन । पार्टीमा गुट मात्रै बनाइयो,’ उनले भने, ‘सपार्ने कोसिस गर्‍यौं, मुखमा ताला लगाएर पनि बस्यौं । बैठकमा सच्याउन र सुधार्न कोसिस गर्‍यौं, सकेनौं ।’ संविधानको मर्म र भावनाविपरीत ओलीले कदम चालेको उनले आरोप लगाए । संसद् विघटन गरेर जनविरोधी र संविधानविरोधी काम भएकाले यसको विरोधमा उत्रन उनले आग्रहसमेत गरे ।

जनताको समस्या होइन कि मेरा मान्छेलाई खोइ ? : ओली

बालुवाटारको भेलामा प्रधानमन्त्री ओलीले बहानामा सरकारलाई झुलाउने काम भएकाले ताजा जनादेश प्राप्त गर्न नयाँ निर्वाचनमा जानुपरेको बताए । पुष्पकमल दाहालले पार्टी एकतामा तत्परता नदेखाएका कारण पनि अहिलेको अवस्थामा जानुपरेको उनको आरोप थियो । ‘तीन महिनामा सक्ने भनिएको पार्टी एकतामा पनि प्रचण्डले सिन्को भाँच्न सकेनन् । सरकारको काममा पनि एकपछि अर्को अड्चन ल्याएर काम गर्नै दिएनन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भेलामा सहभागी सांसद निरुदेवी पालले कान्तिपुरलाई बताइन् । ओलीले पार्टीभित्रैबाट भएको असहयोग र सरकारले गरेका राम्रा कामलाई लिएर जनतामाझ जान भेलामा सहभागी सांसदलाई आग्रह गरेको पालले जानकारी दिइन् ।

उनले सरकार गठन भएको केही समयदेखि नै मुलुकलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हरेक कदममा व्यक्तिगत स्वार्थ तेर्स्याएर पाइला छेक्ने प्रयास भएको बताए । ‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा बैठक भए, कुनैमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरू कहिल्यै राजी हुनुभएन, मेरा मान्छेलाई खोइ, मलाई खोइ, उधारो होइन, हाताहाती चाहिन्छ भन्ने उहाँहरूको स्वार्थ पूर्तिले घेरिनुपर्‍यो,’ प्रधानमन्त्री ओलीले भने, ‘जस्तोसुकै दुष्प्रचारको सहारा लिए पनि जनताले यो कुरा बुझेका छन् ।’

प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन दिए । ‘तपाईंहरू अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरूलाई रोक्न भएका षड्यन्त्रबारे जनतालाई बुझाउनुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘कसले काम गर्‍यो, कसले काम गर्न अवरोध गरेर षड्यन्त्र तिकडम मात्र गर्‍यो, जनतालाई बुझाउनुपर्छ ।’

त्यस्तै भेलालाई सम्बोधन गर्दै उद्योगमन्त्री लेखराज भट्टले ओलीको नेतृत्वमा अब उदाहरणीय विश्व कम्युनिस्ट आन्दोलन अगाडि बढ्ने बताएका थिए । भेलालाई पार्टीका महासचिव विष्णु पौडेलले पनि सम्बोधन गरेका थिए । सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको भेलामा गृहमन्त्री रामबहादुर थापा, सांसदहरू रघुवीर महासेठ, कृष्णप्रसाद दाहाललगायत भने अनुपस्थित थिए । गृहमन्त्री रामबहादुर थापा भेलामा सहभागी भएका छैनन् । त्यस्तै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने शेरबहादुर तामाङ, यज्ञबहादुर बोगटी, बिमला विक र छक्कबहादुर लामा पनि ओलीले बोलाएको बैठकमा सहभागी भएका थिए ।

प्रकाशित : पुस ७, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?