कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गंगामाया फेरि आमरण अनसनमा

घनश्याम खड्का

काठमाडौँ — छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर लामो समयदेखि सत्याग्रहमा होमिएकी गंगामाया अधिकारीले पुन: आमरण अनसन सुरु गरेकी छन् । कोभिडको महामारी सुरु भएपछि वीर अस्पतालको ट्रमा सेन्टरको सातौं तलामा आइसोलेसनमा राखिएकी गंगामायाले आइसोलेसन बेडबाटै सोमबार सत्याग्रह सुरु गरेकी हुन् ।

गंगामाया फेरि आमरण अनसनमा

‘अब म कुनै हालतमापनि पछि फर्किन्नँ र अनसन पनि तोड्दिनँ’, उनले भनिन्, ‘पहिले मलाई धेरै नै झुक्याइयो, न्याय पाइन्छ भनेर जबरजस्ती खुवाइयो, तर भएकोचाहिँ केही होइन ।’

गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालिनमा ओवादीहरुले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए ।

त्यसपछि गंगामाया र उनक पति नन्दप्रसाद अधिकारीले राज्यका हरेक निकायमा पुगेर छोराको हत्यामा संलग्नलाई कानुनअनुसार कारबाही गरिपाऊँ भनी निवेदन दिएका थिए । तर, कतैपनि सुनुवाइ नभएपछि उनीहरु काठमाडौं आएर २०७० साउन देखि प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि सडकमै अनसन बस्न सुरु गरे ।

सत्याग्रहमा बस्दाबस्दै अवस्था नाजुक भएपछि सरकारले अधिकारी दम्पतीलाई वीर अस्पतालमा लगेर राखेको थियो । अस्पतालमै पनि दुवैले सत्याग्रह जारी राखेका थिए । सत्याग्रहको २ सय ३४ औं दिन २०७१ असोज ६ गते नन्दप्रसादको अस्पतालमै मृत्यु भएको थियो । त्यसपछि केही समय तोडिएको अनसन विभिन्न समयमा गंगामायाले जारी राख्दै आएकी थिइन् । उनले हत्यामा संलग्नलाई कारबाही नगरेसम्म पतिको सदगद नगर्ने अडान राखेकाले अहिलेसम्म पनि नन्दप्रसादको शव शिक्षण अस्पतालको शवगृहमै छ ।

पतिको मृत्यपछि पनि आमरण अनसन बसेकी गंगामायाको हालत सिकिस्त भएपछि सरकारले प्रमुख प्रतिवादी छविलाल पौडेललगायतलाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, चितवन जिल्ला अदालतले फरार अभियुक्त रुद्र आचार्य बाहेकलाई २०७५ भदौमा सफाइ दियो । त्यसविरुद्ध गंगामायाले उच्च अदालत हेटौंडामा पुनरावेदन दिएकी छन् जसको छिनोफानो हालसम्म भएको छैन ।

उनको स्वास्थ्य बिग्रनबाट रोक्न मानव अधिकारकर्मीहरुको समन्वयमा सरकारले अनेक गरेर पछिल्लो समय गंगामायालाई अनसन नबस्न मनाइरहेको थियो ।

‘म अब आजितै भएँ, सबैले ढाँटेका रहेछन्,’ उनले भनिन्, ‘मेरो छोरा पनि मर्‍यो, बुढा पनि मरे, म पनि मर्छु बरु तर यस्तो अन्याय सहेर बस्दिनँ ।’

प्रकाशित : पुस ६, २०७७ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?