कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै लमजुङमा नेकपा पार्टी कार्यालयमा तालाबन्दी

आश गुरुङ

लमजुङ — नेकपाका अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले लमजुङको बेंसीसहरस्थित पार्टी कार्यालय (मदन–आश्रित स्मृति भवन) को अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएका छन् ।

एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै लमजुङमा नेकपा पार्टी कार्यालयमा तालाबन्दी

नेकपाले एकीकरण गर्दा तत्कालीन माओवादी नेतृ मधुमाया अधिकारीलाई अध्यक्ष र एमाले नेता धनञ्जय दवाडीलाई सचिव बनाएको थियो । ओलीनिकट युवा संघ र विद्यार्थीले एमालेले बनाएको भवनमा बस्न नपाइने भन्दै सोमबार दिउँसो कार्यकक्षमा बसिरहेकी अध्यक्ष अधिकारीलाई बाहिर निस्कन लगाएर ताला लगाएका थिए । ‘घेराबन्दी गरेर आफ्नै प्रधानमन्त्री र आफ्नै अध्यक्षलाई असफल बनाउन खोज्नेहरु कार्यालयमा बस्न आवश्यक छैन । एमालेले बनाएको भवनमा बसेर केपी ओलीको विरोध गर्न पाइँदैन, दिइँदैन,’ ताला लगाउँदै राष्ट्रिय युवा संघका संयोजक ऋषि बस्नेतले भने ।

ओली निकट युवाले अध्यक्षको कार्यकक्षसँगै नजिकै रहेको सचिवको कार्यकक्षमा पनि ताला लगाएका छन् । ओली निकट मानिने सचिव दवाडीको कार्यकक्षमा भने ‘मेसो मिलाएर’ लगाएको उनीहरुले बताएका छन् । अध्यक्ष अधिकारीले आफूलाई २ घण्टा कार्यकक्षमा थुनेको बताइन् । युवा र विद्यार्थीले भने अध्यक्षलाई नथुनेको बरु बाहिर आउन आग्रह गरेर ताला लगाएको बताएका छन् । ओली निकट युवा र विद्यार्थी अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएर नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए ।

त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका युवा, विद्यार्थीलगायतले अर्का अध्यक्ष ओलीको कदमको विरोधमा पार्टी कार्यालय नजिक भीमसेनस्थान चोकबाट नाराबाजी गर्दै बजार परिक्रमा गरी शेराचोक पुगेका थिए । दाहाल निकट मानिने नेकपा बेंसीसहर नगर कमिटी सचिव शोभा थापाले नाराबाजी गर्दै भीमसेनस्थान चोकबाट शेराचोकसम्म र्‍याली निकालिएको र शेराचोकमा कोणसभा गरिएको बताइन् ।

प्रकाशित : पुस ६, २०७७ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?