कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशभर व्यापक प्रदर्शन

नेकपाकै जनवर्गीय संगठन पनि उत्रिए सडकमा, ठाउँ–ठाउँमा प्रधानमन्त्रीको पुतला दहन
प्रदेश ब्युरो

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ । प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलगायत नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालनिकट कार्यकर्ता नै विरोधमा उत्रिए । 

देशभर व्यापक प्रदर्शन

प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापामा नेकपाका जनवर्गीय संगठनहरूले विरोध प्रदर्शन गरेका छन् । अपराह्न ४ बजे बिर्तामोडमा विद्यार्थी संगठन अनेरास्ववियु, राष्ट्रिय युवा संघ र मजदुर संगठनले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । विरोध र्‍याली बिर्तामोड बजार परिक्रमा गरी मुक्तिचोकमा कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका जिल्ला सहसंयोजक दधिराम रिमालले प्रधानमन्त्री ओलीले मुलुकलाई ठूलो दुर्घटनातर्फ धकेलेको आरोप लगाए । उनले प्रतिनिधिसभा विघटनकै कारण मुलुकबाट राजतन्त्रको अन्त्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओली पनि आफू पतनको बाटोमा अघि बढेको टिप्पणी गरे । अनेरास्ववियु जिल्ला अध्यक्ष अनिल सुवेदीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने माग गरे । प्रधानमन्त्री ओलीले पटक–पटक गल्ती गर्दासमेत पार्टी र कार्यकर्ताले साथ दिएको तर प्रतिनिधिसभा विघटनको निर्णय क्षमा दिन मिल्ने गरी नभएको उनले बताए ।

कांग्रेस जिल्ला कार्यसमिति मोरङले आइतबार विराटनगरमा विरोध प्रदर्शन गरेको छ । तीनपैनी चोकबाट सुरु भएको जुलुस नगर परिक्रमापछि महेन्द्रचोकमा कोणसभामा परिणत भएको थियो । कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बू, प्रदेश १ सभाका लेखा समिति सभापति शिवनारायण गनगाईलगायत नेताहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले प्रतिनिधिसभा पुनःस्थापन गर्नुपर्ने माग गरे ।

प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार दिउँसो प्रदेश २ का ८ वटै जिल्लामा प्रदर्शन गरिएको छ । प्रधानमन्त्रीकै दल नेकपाका नेता–कार्यकर्ताले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै विरोधमा उत्रिएका थिए । प्रादेशिक राजधानी जनकपुरको जनक चोकमा नेकपा कार्यकर्ताले प्रदर्शन गरेका छन् । जनकपुरमा जनता समाजवादी पार्टीले पनि विरोध प्रदर्शन गरेको छ । बाराको कलैया र निजगढमा भने सबै राजनीति दल आबद्ध युवाहरू टायर बालेर प्रदर्शनमा उत्रिए । नेकपा, कांग्रेस र जसपा समर्थित युवाहरूले ओलीको कदमको विरोध गर्दै सडकमा उत्रिए ।

रौतहटमा अनेरास्ववियु र राष्ट्रिय युवा संघले चन्द्रपुरस्थित पूर्वपश्चिम राजमार्ग केहीबेर सडक अवरुद्ध गरेर ओलीको कदमको विरोध गरे । महोत्तरीको बर्दिबासमा पनि नेकपाले विरोध प्रदर्शन गरेको छ । सप्तरीको राजविराजमा नेकपाका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुतला जलाएका छन् । प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरूले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको आरोप लगाए ।

नेकपा मकवानपुरले पनि हेटौंडामा प्रदर्शन गरेको छ । प्रदर्शनमा नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षका नेता–कार्यकर्ता सहभागी थिए । उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका थिए । नेकपा पार्टी कार्यालय हेटौंडा–५ पिप्लेबाट सुरु भएको विरोध र्‍याली स्कुलरोड, मेनरोड हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै ओलीले प्रतिनिधिसभा विघटन गरेर लाखौं जनताको अगाध आस्था र कार्यकर्ताको भावनामा आघात पुर्‍याएको उल्लेख छ । सिग्देल माधवकुमार नेपाल र पुलामी दाहालनिकट हुन् । अध्यक्ष सिग्देलले ओलीले संविधानमाथि ‘कु’ गरेको आरोप लगाइन् ।

संविधानमै नभएको व्यवस्था अख्तियार गर्न खोज्नु लज्जास्पद विषय भएको उनको भनाइ थियो । हेटौंडामा कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पनि विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस कार्यालयबाट सुरु भएका विरोध र्‍याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री ओली लोकतान्त्रिक गणतन्त्र मास्ने खेलतर्फ अघि बढेको बताए । प्रतिनिधिसभा विघटनप्रति आपत्ति जनाउँदै नेता बानियाँले यो संविधानको भावनाविपरीत भएको र यो कदम चालेर ओली लोकतान्त्रिक गणतन्त्र नै मास्नेतर्फ अघि बढेको बताए ।

यसैगरी, चितवनको भरतपुरमा आइतबार मन्त्रिपरिषद्को प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत नहुँदै दिउँसो सत्तारूढ दलकै युवा विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । ‘नेकपासम्बद्ध जनवर्गीय संगठन’को ब्यानरमा भएको विरोध प्रदर्शनमा सहभागी हुने अधिकांश पूर्वमाओवादी थिए । चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाको गृहजिल्ला पनि हो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै चौबिसकोठी चोक घुमेका थिए । त्यसपछि आयोजित कोणसभामा संक्षिप्त मन्तव्य राख्दै युवा संघ चितवनका संयोजक मधु न्यौपानेले प्रतिनिधिसभा विघटन गर्ने कदम प्रतिगामी भएको बताए ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ । कांग्रेस, जनता समाजवादी र विवेकशील साझा पार्टीका कार्यकर्ता पनि विरोधमा उत्रिए । अनेरास्ववियु र युवा संघले पोखरामा विरोध जुलुस निकाले । महेन्द्रपुल र पृथ्वीनारायण क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको थियो । जनता समाजवादी पार्टीले पनि अमरसिंह चोकमा विरोधसभा गरेको थियो । विवेकशीालले निधारमा कालोपट्टी बाँधेर प्रधानमन्त्रीको कदमको विरोध गरेको थियो । म्याग्दीमा पनि दाहाल–नेपाल पक्षधर कार्यकर्ताले सदरमुकाम बेनीमा प्रदर्शन गरे । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, जिल्ला सदस्यहरू बालकृष्ण सुवेदी, कृष्ण विक, शेरबहादुर केसीसमेतको नेतृत्वमा युवा विद्यार्थी कार्यकर्ताले प्रतिनिधिसभा विघटन गर्ने कदम निरंकुश भएको भन्दै विरोध जनाए । नेविसंघले पनि प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।

पूर्वी नवलपरासीमा प्रधानमन्त्रीको प्रधानमन्त्रीको कदम राष्ट्रघात भन्दै नेकपानिकट युवासंघ र अनेरास्ववियुले कावासोतीमा विरोध प्रदर्शन गरे । उनीहरूले फिल्म हलचोकस्थित महेन्द्र राजमार्गमा चक्काजाम गरेर विरोध गरेका थिए । नेकपा पार्टी कार्यालय अगाडि सरकारविरोधी नारा लगाउँदै उनीहरूले ओली सरकारको विरोध गरेका हुन् । अनेरास्ववियुका जिल्ला संयोजक ठाकुर पराजुलीले प्रदर्शनको नेतृत्व गरेका थिए । त्यसअघि कावासोतीमै नेविसंघ र तरुण दलका कार्यकर्ताले राजमार्ग अवरुद्ध गरेर सरकारविरुद्ध नाराबाजी गरेका थिए । गोरखामा पनि दाहाल–नेपालनिकट राष्ट्रिय युवा संघ तथा विद्यार्थी संगठन र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै प्रदर्शन गरे । प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध विरोधस्वरूप प्रदर्शन गरिएको अनेरास्ववियुका जिल्ला संयोजक सञ्जीव थापाले बताए ।

कर्णालीमा पनि नेकपाकै नेता–कार्यकर्ता सडकमा उत्रिएका छन् । नेकपा जनवर्गीय संगठनको अगुवाइमा प्रदेश राजधानी वीरेन्द्रनगरसहित विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ । कैलालीको धनगढीमा पनि आइतबार साँझ नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । सुदूरपश्चिममा नेकपाका ओली पक्षधर कार्यकर्ता आन्तरिक छलफलमा जुटेका छन् भने दाहाल र नेपाल पक्षधर भने पार्टीको माथिल्लो तहको निर्णयअनुसार आन्दोलनका कार्यक्रम तयारी गर्ने रणनीतिमा जुटेका छन् ।

प्रकाशित : पुस ६, २०७७ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?