२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वरिष्ठ अधिवक्ता थापाको प्रश्‍न : प्रधानमन्त्री ओलीले संविधान उल्टो पढ्नुभयो कि के हो ?

‘भोलि मौलिक हक नै खारेज, सर्वोच्च अदालत नै खारेज, मैले लेखेर राष्ट्रपतिकहाँ पठाइदिएँ भने तपाईँ के गर्नुहुन्छ ? ’

काठमाडौँ — वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले केटाकेटीपन देखाएर प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । आइतबार इकान्तिपुरसँगको कुराकानीमा वरिष्ठ अधिवक्ता थापाले नेपालको संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नगरेको बताएका हुन् ।

वरिष्ठ अधिवक्ता थापाको प्रश्‍न : प्रधानमन्त्री ओलीले संविधान उल्टो पढ्नुभयो कि के हो ?

संविधानबमोजिम संसद्को आयु ५ वर्ष हुने भन्ने व्यवस्था गरिएकाले संसद्ले सरकार दिन नसकेको अवस्थामा मात्रै संसद् विघटन हुन सक्ने थापाले बताए । राष्ट्रपति र प्रधानमन्त्रीले संसद् नै नचाहिएजसरी असंवैधानिक कदम चालेको पनि उनले बताए । ‘यो त अति केटाकेटी पनि भयो । राति सुतेको प्रधानमन्त्रीले बिहान उठेर सिफारिस गर्न मन लाग्यो भनेर सिफारिस गर्दिने । अनि राष्ट्रपतिले संसद् विघटन गर्दिने । राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद् नै नचाहिएको जस्तो लाग्यो । संविधान नै हेर्दा पनि यस्तो प्रकारले संसद् विघटन हुन्छ भने अब सर्वोच्च अदालत वा अन्त पनि संविधानका पाना पल्टाउनु बेकार नै हो,’ वरिष्ठ अधिवक्ता थापाले भने ।

यो प्रकरणले नेपालको बेइज्जत नै भएको पनि थापाले प्रतिक्रिया दिए । ‘सदनमा पुगेर प्रधानमन्त्री असफल भएर, बहुमतको प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा असफल भए वा सदनले प्रधानमन्त्रीलाई असफल गराए मात्रै संसद् विघटन हुन सक्छ,’ थापाले भने ।

अधिवक्ता थापाले संसद्को अन्त्य नभएको पनि बताए, ‘म त संसद् नै मरेको छैन भन्छु । यहाँ त राष्ट्रपतिबाट संसद् मारियो । हाम्रो देशमा भएको प्रहरी प्रशासनको जुन बल छ, कानुनी बल होइन, गैरकानुनी बलले साथ दियो भने मात्रै यो विघटन केही समय टिक्छ ।’

यस्तै अवस्थालाई निरन्तरता दिँदै गए भोलि नागरिकका मौलिक हकमाथि हस्तक्षेप हुन सक्ने संकेत पनि देखिएको थापाले बताए । ‘भोलि मौलिक हक नै खारेज, सर्वोच्च अदालत नै खारेज, मैले लेखेर राष्ट्रपतिकहाँ पठाइदिएँ भने तपाईँ के गर्नुहुन्छ ? त्यो नहुने कुरा के भयो र ? यहाँ खारेज भनेर लेखिएको त छैन,’ उनले भने ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी लाजमर्दो कदम चालेको पनि उनले बताए । ‘प्रधानमन्त्री साँच्चैको प्रधानमन्त्री भए त यस्तो कदम चाल्दै चाल्थेनन् । उहाँले संविधान उल्टो पढ्नुभयो कि के हो ? योभन्दा गएगुज्रेको, तुच्छ र लाजमर्दो कदम त केही हुँदैन । संसारमा कसैले तिम्रो कस्तो संविधान छ, प्रधानमन्त्रीले कस्तो अवस्थामा संसद् विघटन गर्न सक्छन् भनेर सोधे के जवाफ दिने ?,’ उनले भने ।

भिडियो कुराकानी हेर्नुहोस्

प्रकाशित : पुस ५, २०७७ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?