३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दाउरा नपाउँदा दैनिकी कष्टकर

चिसोबाट मुक्तकमैया, बाढीपहिरो पीडित, सुकुम्वासी बस्ती र ज्यालामजदूरी गरी छाक टार्ने वर्ग बढी प्रभावित

धनगढी, कञ्चनपुर — बाक्लो कुहिरोसँगै शीतलहरका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । गत बुधबारदेखि चिसो बढेपछि कैलाली र कञ्चनपुरका मुक्तकमैया, बाढीपहिरो पीडित र सुकुम्बासी बस्तीका विपन्न परिवारको दैनिकी थप कष्टकर बनेको हो । आगो बाल्न दाउरा, मुढासमेत पाउन नसकेको उनीहरूको गुनासो छ ।

दाउरा नपाउँदा दैनिकी कष्टकर

धनगढी पुरानो एयरपोर्टको मुक्तकमैया शिविरका हरिराम चौधरीले न्यानो हुने गतिलो ओढ्ने, ओछ्याउने, लगाउने लुगा तथा आगो ताप्न दाउरासमेत पाउन नसकेको दुखेसो पोखे । ‘दाउरा पनि कहाँबाट ल्याउने ?,’ उनले भने, ‘दाउरा बिक्री वन कार्यालयले बन्द गरेको छ भन्ने सुन्यो ।’

शिविरकै शिव चौधरीले सरकारले आगो ताप्ने दाउरासमेत उपलब्ध गराउन नसकेकोमा आक्रोश पोखे । ‘ज्यालामजदुरी गरेर जीविका चलाउने परिवारलाई दाउरा नपाएर रात काट्न गाह्रो भएको छ,’ उनले भने, ‘सरकारले यस्तो बेलामा पनि दाउरा नदिने ?’ चिसोबाट दिनभर श्रम गरेर छाक टार्ने वर्गसँगै बालबालिका, गर्भवती, वृद्धवृद्धा बढी प्रभावित छन् । ‘जीउमा लगाउन न्यानो लुगा छैन, चिसोले बसिनसक्नु छ,’ धनगढी मनेराका सुरेश विकले भने ।

डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले सरकारले काठदाउरा विक्रीमा प्रतिबन्ध लगाएका कारण उपभोक्तालाई चिसोका बेला पनि दाउरा उपलब्ध गराउन नसकिएको बताए । ‘चिसो बढ्यो, दाउरा चाहियो भनेर स्थानीय आउने गरेका छन्,’ उनले भने । संघीय सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका सामुदायिक वनमा अनियमितता भएको गुनासो आएपछि गत जेठदेखि काठदाउरा विक्री र ढुवानीमा समेत रोक लगाएको छ । उक्त निर्णयले दाउराको समेत आपूर्ति रोकिएको उनले बताए ।

सुरक्षित बासको माग राख्दै चुरे गाउँपालिकाबाट आन्दोलनका लागि तराई झरेका पहिरोपीडितहरूले पनि चिसो छल्न दाउरासमेत नहुँदा समस्या भएको बताएका छन् । गत साउनमा पहिरोबाट विस्थापित झन्डै एक सय परिवार संघर्ष समिति नै बनाएर सरकारलाई दबाब दिन भन्दै गौरीगंगा–१ पशुपति सामुदायिक वन छेउमा आएर बसेका हुन् । स्थानीयले वन क्षेत्र कब्जा गर्न आएको आरोप लगाउँदै पानी र दाउरासमेत दिन नमानेको संघर्ष समिति अध्यक्ष टीकाराम कार्कीले बताए । ‘खोलाको पानी खानुपरेको छ,’ उनले भने, ‘खुला आकाशमुनि बसेका हामीहरूलाई वनबाट दाउरा पनि ल्याउन दिएका छैनन् ।’ उनले आफूहरू वन क्षेत्र कब्जा गर्न नआएको, पहिरोले उठिबास लागेपछि सरकारको ध्यानाकर्षण गराउन तराई झरेको स्पष्ट पारे ।

चिसोका कारण अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा पनि बिरामीको संख्यामा वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार बुधबार यो वर्षको सबैभन्दा कम ५.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । शनिबारको न्यूनतम तापक्रम ७.७ डिग्री थियो । अघिल्लो वर्ष कैलालीको न्यूनतम तापक्रम २.२ डिग्रीसम्म झरेको थियो । अझै केही समय चिसो कायम रहने भएकाले तापक्रम घट्ने चौधरीले बताए ।

कञ्चनपुरमा पनि अवस्था उस्तै छ । ‘चिसो बढेकाले कामै गर्न नसकिने भएको छ,’ महेन्द्रनगरमा ज्यालादारी काम गर्ने बेलौरीका करन चौधरीले भने, ‘काम गर्न नसकेर भोकै बस्नुपर्ने अवस्था छ ।’ शीतलहर र कुहिरोले जनजीवनसँंगै खेतीबालीमा समेत असर गर्ने देखिएको छ । खासगरी आलु र टमाटर खेतीमा डढुवा रोग लाग्ने जोखिम बढी हुन्छ । ‘डढुवाले एकै दिनमा सयौं हेक्टरको आलु सखाप पारिदिन्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले भने, ‘यसका लागि रोग लाग्नु अगावै ढुसीनाशक विषादी छर्किनुपर्छ ।’

प्रकाशित : पुस ५, २०७७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?